यो सहरको कोलाहलबाट
ईर्ष्या र अहंकारको आहालबाट
मलाई कतै टाढा जानु छ 
मानवतासँग मितेरी लगाउँदै
मन्द पवनसँग सुसेली लगाउँदै
जुध्नु छैन मलाई तिमीसँग 
भिड्नु छैन मलाई तिमीसँग
कथित समृद्धिको चङ्गुलभित्र 
अत्यास लाग्दो जिन्दगी 
जिउनु छैन कल्पनामा।
पाखामा फुल्ने सुनगाभासँग
पहरामा टुसाउने जीवन बुटीसँग
अमर साइनो गाँसिएको छ 
हिमाली गोठका चौँरीहरू
वसन्त बोलाउने गुराँसहरू
सुभाष मिश्रित पवनसँग
अटुट नाता छ 
निस्फिक्री जीवन जिउनु छ
खुला आकाशको छानामुनि 
अमिट मायाको अङ्गालोमा कसिएर।
जहाँ कुनै स्पर्धा छैन
जहाँ कुनै छलछाम छैन
बाटोमा जाल बिछ्याउने शकुनि छैन
लुछाचुँडी र षड्यन्त्र छैन
हो मलाई, त्यहीँ जीवन जिउनु छ
भौतिक समृद्धिको लालसामा
कथित उन्नतिको अतृप्त प्यासमा
जहाँ जिन्दगी बिर्सिएको नहोस् 
कृतिमताको कठघरामा 
जहाँ जिन्दगी कैद नहोस्।
मुस्कान भित्रका कुटिलताले
विश्वास पछिका धोकाहरूले
आहत छ जिन्दगी 
सुमसुम्याउँदै घाउहरू
मलम लगाउनु छ 
शान्त बिहानीको प्रतीक्षामा 
एउटा कठोर रात कटाउनु छ
सुरु गर्नु छ यात्रा अनवरत
जिन्दगी कहाँ फर्कन्छ र
आऊ रमाऊँ है एक चोटि।