बाहिर निस्किनेले नै हो
थाहा पाउने
घाम कति चर्किएछ भनी
बारिस कति गहन ओइरिएछ भनी
अब आमाको काखबाट उठेर हिँड
बाउको ताँते हात छोडेर हिँड
संघर्षले तिमीलाई खुला हात कुरिरहेको छ
असली जिन्दगीले तिम्रै पर्खाइ गरिरहेको छ
हिँड्दा थोरै ठेसिएनौ भने
ढुंगाको अस्तित्व कहिले देख्ने छैनौ
हिँड्दा अलिकति लडखडाएनौ भने
यात्राको अस्तित्व कहिले बुझ्ने छैनौ
केही दिन रुँदा पनि फरक पर्दैन
नत्र आँसुको अस्तित्व कहिल्यै बुझ्नै छैनौ
हावा हुरी र जिन्दगीको सामना गर्न
थोरै कठोर नि हुनै पर्छ
थोरै पत्थर नि चपाउनै पर्छ
जिन्दगीको डरले घरभित्रै तिमी हरायौ भने
चार भित्तामै तिमी थुनियौ भने
फेरि कहिल्यै सिक्ने छैनौ
संघर्षको पाठ
कहिल्यै पाउने छैनौ
संघर्षपछि सफलताको स्वाद
सिद्धार्थले घर छोडे तब न बुद्धत्व प्राप्त हुन्छ
फोटोनले सूर्यलाई छोडी हिँड्छ
र त पृथ्वी उज्यालो बनाइदिन्छ
बिरुवाले जब स्वतन्त्र छोड्छ आफ्नो जरा
तब गएर ऊ रुख बन्छ
नदीले घर छोडेर बगिरहन्छ
प्रकृतिको चक्र मिलाइरहन्छ
इलेक्ट्रोनले आफ्नो यात्रा गरिरहन्छ
विद्युत चक्र मिलाइरहन्छ
माकुराको बच्चाले माकुराकै पेट फुटाउँछ
फैलिएर बाँच्न
झुसिलकिराले आफ्नै छाला उप्काइ हिँड्छ
पुतली भएर उड्न
बिउको भित्ता फुटाएरै
अंकुराउँछ बिरुवा भोलि रुख बनेर ठडिन
त्यसैले भत्काऊ
तिमी पनि त्यो घरको चार भित्ता
फैलिएर बाँच्न चाहन्छौ भने
एक चोटि गुँड छोडेर हिँड
एक चोटि घर छोडेर हिँड
पङ्ख भर सपनाको
सुवास छर आफ्नो क्षमताको
तिमी त ऊर्जै ऊर्जाको धनी छौ
कन्भर्ट गरेर हेर
आफ्नो पोटेन्सियल इनर्जीलाई
काइनेटिक इनर्जीमा।