जीवन यात्रामा केही सम्बन्धहरू यस्ता हुन्छन्, जसलाई केवल सम्झन मात्र सकिन्छ, ती सम्बन्धहरूले जीवनको पानामा कहिल्यै नमेटिने यादहरू छोडेर जान्छन्। समयसँगै जानी नजानी हुन पुगेका केही गल्तीहरू, व्यक्त गर्न नसकेका भावनाहरू, संजोग र भाग्यले लिएको मोडले जीवनको समग्र ढाँचा नै बदल्ने रहेछ।
देव मेरो बाल्यकालदेखिको अत्यन्तै मिल्ने साथी हो। उसले धेरै कुराहरू मसँग साटासाट गर्ने गर्दथ्यो। मध्यम परिवारमा हुर्केको, सामान्य जीवनशैली, सालिन र शान्त व्यवहार भएको देवको दैनिकी बिहान 'द एभरग्रीन कलेज कास्की' मा अध्ययन गर्ने अनि दिउँसो त्यही नजिक रहेको शिवशक्ति प्रा.लि. मा काम गर्थ्यो। कलेजमा हामी सँगसँगै पढ्ने गर्थ्यौं।
सदाझैं कलेज सकिएपश्चात देव अफिस जान्छ। पिञ्जडाबाट चरी निस्केझैँ – एक युवती ढोका खोलेर भित्र छिर्छिन्, गुलाबी रङको कुर्ता, सेतो सुरूवाल लगाएकी, हल्का मेकअपमा चम्किलो अनुहार, गुलावी ओठ, पातलो शरीर भएकी ती महिला अत्यन्तै सुन्दर देखिन्थिन्।
लजालु पारामा मुस्कुराउँदै सबैलाई नमस्कार गरी म्यानेजरको कोठामा गइन्। ती महिलाको सुन्दरता, शालिनता र शिष्टताको प्रभाव देवमा निकै गहिरो परेको रहेछ। केही बेरमा नै म्यानेजरले ती महिलालाई अफिसको नयाँ कर्मचारीको रूपमा परिचय दिनुभयो। देवलाई पछि मात्र थाहा भयो ती महिला पनि उसँगै त्यही अफिसमा काम गर्ने नयाँ कर्मचारीको थिइन्। उनको नाम स्मृति थियो। एउटै अफिस, एउटै कोठा, आ-आफ्नो टेबलमा आ-आफ्नो काम गर्ने उनीहरूबीच सुरूका एक-दुई दिन बोलचाल नै भएन। पछि विस्तारै उनीहरूबीच कुराकानी हुन थाल्यो।
देव र स्मृति दुबै जना बिहान कलेज जाने र दिउँसो अफिस जाने गर्थे। तिनीहरूको सामान्य कुराहरू पनि साटासाट हुन थाल्यो। बिहान कलेजमा के भयो? कसले के भन्यो? सबै कुरा स्मृतिले देवसँग भन्थिन्। देव पनि स्मृतिको कुरा सुनेर निकै रमाइलो मान्ने गर्थ्यो। सधैँ साँझ चार बजे नै अफिसबाट निस्किने देव स्मृति अफिसमा आएदेखि काम नभएपनि साँझ पाँच-छ बजेसम्म अफिसमा गफगाफ गरेर बस्ने गर्थ्यो।
'स्मृति मलाई एउटा सुझाव देऊ न है' –देव हल्का मुस्कुराउँदै भन्छ।
'हुन्छ भन्नु न कस्तो सुझावको लागि हो?' यति सुनेपछि देवले आफूले मन पराउने केटीको बारेमा कुरा गर्यो उसको प्रशंसा गर्न थाल्यो। अनि थप्छ 'मैले अहिलेसम्म उनलाई माया गर्छु भनेको छैन। कता कता डर लाग्छ, यदि यो कुरा गरे भने पहिले साथीको सम्बन्ध पनि टुट्छ कि भनेर, के गर्ने होला? प्रेम प्रस्ताव राख्दा ठिक होला कि नहोला' स्मृतिले ठट्यौली पारामा- 'ओहो! कुरा यस्तो पो हो, केटीको नाम के हो ? अनि घर काँहा हो नि? इत्यादि प्रश्न गर्न थालिन्।
देवले उनको परिचय नभनी तारिफ मात्र गर्ने गर्थ्यो।
स्मृतिले यो कुरा सुनेर मुस्कुराउँदै भनिन्, 'त्यसो भए भन्नु न त मन पराउँछु भनेर, स्वीकार गरिहाल्छे नि, तपाईंले नभनी उसलाई कसरी थाहा हुन्छ त' देवको उत्तर 'अब छिट्टै भन्छु, अनि स्मृति तिम्रो बारेमा भन न कसैलाई माया गर्छौ कि तिमीले पनि' देवको कुरा सुनेर स्मृतिको जबाफ- नाइँ छैन, त्यस्तो मान्छे भेटेकै छैन, हल्का मुस्कुराउँछिन्।
'कहिलेकाहीँ केही संकेतहरूले शब्द बिना पनि धेरै कुरा भन्छन्। त्यो संकेत के थियो ? प्रेम ? आकर्षण ? वा केवल संयोग?'
मैले एक दिन गोरखापत्रमा नेपाल प्रहरी निरीक्षक पदको भर्ना खुलेको बिज्ञापन देखें। त्यो कुरा देवलाई भनेपछि देव र म प्रहरी निरीक्षक लागि तयारी गर्ने निर्णय गर्यौं। प्रहरी निरीक्षक तयारी गर्न समय चाहिने भएको कारण देवले गरिराखेको जागिर छोड्ने निर्णय गर्यो। जागिर छाड्नुभन्दा अघिल्लो दिन देवले मसँग स्मृतिलाई मन पराउने कुरा गर्यो।
'सँगै काम गर्दा गर्दै कति बेला यति धेरै माया बस्यो थाहा नै भएन' देवले भन्यो। म उसको बाल्यकालको साथी भएको कारण मैले ऊ र उसको व्यवहारलाई राम्रोसँग चिनेको थिएँ । त्योभन्दा पहिले मैले देवलाई कहिले पनि त्यस्तो देखेको थिएन। स्मृति प्रतिको माया उसको आँखामा प्रष्ट देख्न सकिन्थ्यो। मैले देवलाई प्रेम प्रस्ताव राख्ने सल्लाह दिएँ। प्रहरी निरीक्षक लिखित परीक्षा नजिकै थियो। देव निकै मेहनेती केटा थियो। उसले परिक्षाको लागि धेरै मेहनत गरेको थियो। यो कुराले देवको परीक्षा बिग्रने त होइन भन्ने मलाई खुबै चिन्ता भयो। मैले नै देवलाई सम्झाउन थाले, 'पहिला परीक्षा दे, यो कुरा पछि पनि गर्न सकिन्छ'। परीक्षाको नतिजा प्रकाशन भयो। देव प्रहरी निरीक्षकमा छनोट भएछ।
जब कसैले मनको गहिराइबाट प्रेम गर्छ, त्यो प्रेमले भविष्यको डर पनि साथमा ल्याउँछ। मैले देवलाई प्रेम प्रस्ताव राख्ने सल्लाह दिएँ।
देवको जबाफ- 'प्रेम प्रस्ताव राख्दा पहिलेको सम्बन्ध पो बिग्रने हो कि! त्यसो भए घरमा कुरा गर अनि बुवालाई भनेर एक चोटि उसको घरमा नै गएर कुरा गरौ न त' – मैले भनेँ।
'अहिले बिहेको उमेर पनि सानै छ, र तत्काल म पनि तालिममा जाँदैछु, तालिम करिब एक वर्षको हुन्छ, सकाएर नै कुरा गर्ने हो कि' देवले भन्यो। त्यसपछि हामी दुबै जना घरतिर लाग्यौं। पछि देव र समृतिको फेसबुकमा कुरा भयो। कुरा गर्ने क्रममा देव (थोरै हिचकिचाउँदै): 'स्मृति… तिमीलाई केही भन्न मन लागेको छ, स्मृति (रोकिएर जबाफ दिन्छिन): 'के कुरा?' अझैपनि देवले मनको कुरा भन्न सक्दैन। यत्तिकैमा कुरा टार्छ र दुबै अफलाइन हुन्छन्।
अर्को दिन देवले फेसबुकमा म्यासेज लेख्छ, 'हामी सँगै काम गर्यौं, कुरा गर्छौं, हाँस्छौ पनि… तर त्योभन्दा गहिरो केही महसुस गर्न थालेको छु, मैले तिमीलाई कुनै दिन एउटा केटी मन पर्छ भनेको थिएँ त्यो अरू कोही नभएर तिमी नै हो, तिम्रो शालिनता, शिष्टता, शान्त स्वभाव मलाई धेरै नै मन पर्छ, म मेरो बाँकी सम्पूर्ण जीवन बिताउन तिम्रो साथ चाहन्छु।'
स्मृति अफलाइन थिइन्, कुनै जबाफ आएन।
देवले जबाफको प्रतीक्षा गरिरह्यो।
म्यासेजको जबाफ केही आएन। भोलिपल्ट मैले देवलाई सोधे 'के भनिन् त स्मृतिले'।
उसको सोझो जबाफ 'फेसबुकमा नै ब्लक गरिन् मलाई। मैले केही बोल्नै सकिनँ। देव निकै निरास देखिन्थ्यो। मलाई उसको यो हालत देखेर निकै नराम्रो लागिरहेको थियो।
देवले स्मृतिलाई धेरै भेट्ने कोसिस पनि गर्यो। हामी स्मृतिको अफिसमा जाँदा उनी बिदा बसेकी रहेछिन्।
स्मृतिको फोन उठिरहेको थिएन। देवले पुन: स्मृतिलाई फेसबुकबाट सम्पर्क गर्न खोज्यो, उनले फेसबुकमा देवलाई अनब्लक गरेकी रहेछिन्। देव निकै खुसी भयो र मलाई भन्यो 'स्मृतिले पनि सायद मलाई माया गर्छिन्'। देवले स्मृतिलाई पुन म्यासेज गर्यो, 'म केही समयको लागि तालिममा जाँदै छु, तालिममा सायद कुरा पनि खासै गर्न मिल्दैन, म तिम्रो सकारात्मक प्रतिकृयाको प्रतीक्षामा छु'।
म्यासेजको कुनै जबाफ आउँदैन।
'उसको मौनता पनि प्रेम जस्तै लाग्ने, तर पनि मनमा डर कतै त्यो मौनता 'होइन’ भन्ने पो संकेत हो कि?' देवले फेरि म्यासेज टाइप गर्छ। 'तिमीले मेरो म्यासेज हेरेर पठाएको जबाफ सायद म तत्काल हेर्न सक्दिनँ होला। यदि मेरो म्यासेज आएन भने तालिममा कुरा गर्न मिलेन भन्ने बुझ है, मलाई पर्ख है स्मृति' शब्दहरू त देवले बोल्यो, तर अब खेल समयको हो, उनले के भन्छिन्? अब कि प्रेम एकतर्फी रहनेछ, कि सुरू हुनेछ जीवनमा नयाँ यात्रा।