कविता
सानैदेखि खुब बोकियो झोला
किताबकापी बोकी
घण्टौँ दुरीको स्कुल हिँडियो
त्यै झोला खन्याएर
खेतमा काम गर्दै गरेका
बाआमालाई
खाजा बोकियो
त्यै झोलामा
सदरमुकामदेखि घण्टौँ लगाएर
सातुसामल बोकियो
यसै गरीगरी
झोला बोकेरै जीवन चल्दै थियो
जुँगाको रेखी बस्दा नबस्दै
देशको मुहार फेर्छौं भन्नेहरूले
जनयुद्धको बिगुल फुके
झोलाका किताब मिल्काइदिए
बम र बारूद बोक्न लगाए।
तिनताका के बोकिनँ मैले झोलामा
मानव खप्पर बोकेँ
थानका थान करङ बोकेँ
बलात्कृत छोरीचेलीका लास बोकेँ
मृत्युका खबर बोकेँ
हत्या र अपहरणको आदेश बोकेँ
बुट बोकेँ
राइफल बोकेँ।
दसवर्षे युद्ध सकियो
ज्यान जोगियो
देशमा गणतन्त्र आयो
अनि
सपना फुलाउने रहर झोलाभरि बोकेर
सहर भासिएँ म
सहरमा त झोला बोक्नेहरू
कति हुन् कति
सोधेँ, कहाँ जाने ?
झोला बोक्नेहरू
यिनै दुई ठाउँ त जाँदा रैछन्
कि त्रिभुवन विश्वविद्यालय
कि त
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल।
कमरेड सुन्छौ?
हामी भुइँमान्छेले झोलामा
परिवारको तस्बिर
नाना, खाना र छानाको सपना
त्यै सपना पूरा गर्न
घरखेत बन्धकी राखेको कागज
ऋणको तमसुक
एकथान हरियो पासपोर्ट बोकेर
खाडी पुग्छौं
मजदुरीको झोला बोक्छौँ
बोकिरहन्छौँ
अनि
हामी मजदुरले पठाएको रेमिट्यान्सले
पालिएका तिमीहरू
सामाजिक सञ्जालका भित्तैभरि
‘म झोले हुँ’ भन्दै गर्व गर्छौं।
तिमी के झोला बोक्छौ कमरेड
तिम्रा झोलाले भुइँमान्छेका लागि
सिटामोल बोक्दैन
जीवनजल बोक्दैन
नुन बोक्दैन
चामल बोक्दैन
कहिल्यै जनताका सरोकार बोक्दैन।
तिम्रा झोलाले त गिरीबन्धु बोक्छ
ललिता निवास बोक्छ
यती, ओम्नी बोक्छ
भ्युटावर बोक्छ
काण्डैकाण्ड बोक्छ
अझ तिम्रा झोलाले त अरिङ्गाल र
साइबर स्याल बोक्छ
हेर
देशले त विचार र उद्देश्य बोकेर हिँड्ने
झोले खोजेको थियो
तिमी त
भ्रष्टाचार, बेथिति र अहङ्कारको
झोला बोकेर हिँडिरहेछौ।
हेक्का राख प्रधान झोलेज्यू
हात हातमा रित्ता झोलाहरू बोकेर
निस्किएको मजदुरको भिडले
चिन्ने छैनन् तिमीलाई
तिम्रा झोलेहरूलाई
सत्तालाई, शासकलाई
अब त्यो दिन टाढा छैन कमरेड
रित्ता झोलाहरूले पक्कै विद्रोह ल्याउने छ
देशले जित्ने छ
झोलेहरू हार्नेछन्।
अनि
त्यही विद्रोहको ज्वालामा तिम्रो अहङ्कार
जलिरहने छ
जलिरहने छ।