निःशब्द! महिना दिन बितेको पत्तै भएन। घरमा मान्छेहरूको चहलपहल, भेला हुने अनि सम्झाउने क्रम अब शून्यमा परिणत भएको छ। सबै आ-आफ्नो बाटो लागे पनि मेरो बाटो त्यहीँ रोकिएको छ, जहाँ आमाले अन्तिम सास फेर्नुभएको थियो।
आज मैले उहाँको सिरानी अँगालेर हेरेँ। त्यो सिरानीमा अझै आमाको बास्ना बाँकी थियो र त्यसको मुनि केही थिएन। तर अन्तिम श्वास लिनुअघि आमाको मनको भाव थियो। मेरो हात थरथर काम्यो। मैले आमाको त्यो मनको भाव पढ्न थालेँ। आमाका अन्तिम भावहरू यसरी लिपिबद्ध रहेछन्-
प्रिय छोरा!
जब तिमी मेरा भावहरू पढिरहेका छौ, म यहाँ छैन। तर मलाई थाहा छ, तिम्रो हेराइ अझै मेरै सिरानीतिर हुन्छ। तिमी अझै ढोका खोल्दा मलाई खोज्छौ होला। तिमी अझै हातमा बिस्कुट, दूध, स्याउ, मेवा, अनार लिएर मेरो अगाडि राख्छौ होला। आमा भन्छौ होला। तर अब म ती सबै ठाउँमा छैन।
मलाई थाहा थियो छोरा, मेरा अंगप्रत्यङ्ग गलिसकेका छन्। त्यो पनि अन्तिम चरणमा पुगेको। तिमीले मुखले केही नभने पनि तिम्रा आँखाले मुढो सही तर आमा भनेर बोलाइरहन पाए भन्ने तिम्रो चाहनाले मलाई सबै भन्थ्यो। तिमीले मेरो लागि जोडेका सबै भौतिक चिजहरू छोडेर हिँडेकी छु। तर म त यहाँबाट एउटा चिज छोडेर हिँड्न सकिनँ नि, तिम्रो माया। त्यसलाई भने च्यापेर लिएर आएकी छु।
जीवनका ९२ वर्ष तिमीहरू कसैको नराम्रो सुन्न र देख्न परेन। जीवनका ती दिनहरूमा तिमीहरूको आशा र भरोसामा अनि लौरोको सहारामा बाँचेँ। अन्तिममा निस्केर हिँड्दा पनि तिमीहरूलाई दुःख नदिऊँ कि भनेको हिँड्न सकिनँ नि। अनि तिम्रा काँधमा चढेर निस्केँ। तिम्रो काँधमा अन्तिम चोटि बोकिएर बिदा लिन मन थियो, त्यसै गरेँ। अब म यतै बस्छु तिमीहरूभन्दा टाढा।
तिमी मलाई सानो सानो कुरामा पनि रुन्छे भन्थ्यौ नि! तर म सास रोकिन लाग्दा पनि रोइनँ नि छोरा! मेरो कारणले तिम्रो आँसु खसेको देखेर म कमजोर हुन चाहन्नँ भनेर मन बलियो बनाएकी थिएँ, त्यसैले नरोएकी। तिमी बलियो बन्नू है। नातिनातिना साना छन्, उनीहरूलाई जिजु-मुमा स्वर्ग गइन् भनेर भन्नु र कहिलेकाहीँ तारा भएर हामीहरूलाई माथिबाट हेर्नुहुन्छ भनेर सम्झाउनु है।
तिमीले मलाई बिर्सन गाह्रो हुनेछ। थाहा छ, तिमी बिहान मेरो 'छोरा' भन्ने आवाज खोज्छौ। तर अब त्यो आवाज तिमीले सुन्न पाउने छैनौ, त्यो त अब तिम्रो हृदयभित्र मात्रै गुन्जिनेछ।
म यता बस्न थालेको पनि एक महिना भइसक्यो। तिम्रो हात समातेर निदाउँछु बेला बेलामा। अब तिमीले दुःख मनाउ नगर्नू है कुनै कुरामा पनि किनकि चित्त नदुखाउनु भनेर तिम्री आमा सम्झाउन अब आउने छैन। घण्टौँ जाममा पर्दै अब हतार गरेर आउनु पर्दैन है। कुनै पनि कुरामा छिटो गर्नुपर्दैन मेरो लागि। अब आँसु थाम्न सक्नुपर्छ किनभने तिमीलाई समाउने हात अब छैनन्।
धेरै माया दियौ, धेरै स्नेह बाँड्यौ। माया कहिल्यै सकिँदैन छोरा। म त आकाशको तारा बनेँ, तिम्रो झ्यालबाट हेरिरहनेछु। तिमी रोएर होइन, मुस्कुराएर बाँचेको देख्न।
जबसम्म तिमी सास फेरिरहन्छौ, म तिमीभित्र बाँचिरहनेछु। जब कहिल्यै एक्लो महसुस गर्छौ, आमालाई सम्झनु- म यहीँ छु भनेर प्रकट हुनेछु।
तिम्री आमा!
आमाका लिपिबद्ध भावहरू सकियो। मेरो मनमस्तिष्कबाट आमाका भावहरू बिस्तारै भुइँमा खसे। तर मुटुको भारी झनै भारी भयो। मैले मेरा हातहरू छातीमा टाँसेर रोएँ। आमा निदाएको ओछ्यानमा टुलुटुलु हेर्दै भनेँ- किन यस्तो चुपचाप जानुभयो? एक पटक भनेको भए पुग्थ्यो- 'छोरा! म जान लागेँ' भनेर...।
२०८२ जेठ १ गतेपछि हरेक महिना १ गते आउँछ। तर टाढा गएकी आमा गते फर्केर आउँदा झैँ आउनु भएन। त्यो रात म निदाउन सकिनँ। आँखा चिम्म गरेँ। मलाई आज फेरि आमाको छातीमा टाँसिएर रोएजस्तो लागिरहेको छ।
म हाँस्न सिकिरहेछु आमा; तपाईंको मायामा, तपाईंको सम्झनामा।