बाँस झाँगिन थालेपछि 
सुप्लाहरू झर्न थाले 
हरियो देखियो यसको डाँठ 
चराहरूले गुँड बनाउन थाले 
रातमा बतासले बजाउन थाल्यो 
बाँसको पातका सुमधुर संगीतहरू
बा बच्चा बेला हुँदा।
बाँसलाई
मुरली बनाउन
मुढा बनाउन 
घरमा बार लगाउन
सेल झिक्ने झिर बनाउन
डोको बुन्न
कुचो बुन्न
नाम्लो बुन्न 
नर्कटको फिरफिरे बनाउन
चौपायालाई घाँस बनाउन थालेपछि 
बा बाँसमा चढ्न थाल्नु भो।
बाँस झाँगिँदै गर्दा
बा’ले जीवनमा बाँसबाट 
सिक्नु भो दिन शीतलता 
सिक्नु भो उभिन वेगवान् हावाहुरीमा
सिक्नु भो उम्रिन नयाँ नयाँ ठाउँमा 
सिक्नु भो उठ्न बेस्सरी लड्दा पनि 
सिक्नु भो नर्कटको फिरफिरे झैँ गतिशील हुन 
सिक्नु भो बाँच्न सामूहिक संघर्षमा
सिक्नु भो सन्तान फैलाउन
सिक्नु भो समाज बनाउन
सिक्नु भो बन्न जीवन उपयोगी 
सिक्नु भो निहुरिन उमेर बढ्दै जाँदा 
ठुलो महत्त्व देखेपछि 
बा’ले सुरु गर्नु भो 
बनाउन बाँसबारी 
बनाउन दसैँमा आफ्नै हातले लिङ्गे पिङ 
अनि बाँस घारी नजिकै घर। 
यता घर बन्यो 
उता बाँसबारी बन्यो 
जसले जे भन्यो 
उही मान्यो 
यसरी नै बा’ले आफ्नो जीवन गुजार्दै जानु भो। 
बाँसका टुसाहरू जसरी 
टुसाउन थाले परिवारमा सन्तानहरू
हावाले बाँसको झ्याङमा बजाउने सुस्केरा झैँ 
बज्न थाले परिवारमा 
लोक, मेटल, पप र आधुनिक संगीतहरू
सन्तानका आ- आफ्नै शब्दहरूमा। 
 
बा’को कृति फैलिँदै गयो 
घरमा धमिराहरू पस्न थाले
कथाहरू बलिया हुँदै गए 
काठ कमजोर हुँदै गए। 
आशाको दियो बाल्न
बा’ले बेलाबेलामा बनाएका
बाँसका ढुङ्ग्राहरूले
जीवनको तापमा बाल्न थाले ओठमा चुरोटहरू
शीतलताको नाउँमा। 
चिसो मौसममा
सपनाहरू उचाल्दै 
बा बासको झप्रो खसाल्दै थिए 
छोरी सिमल्दै थिइन्
झाँप्रोसँगै बुवाका सपनाहरू। 
आज जसो बा
सन्तान सुखको झन्डा राख्ने
अनि थाक्रो पनि बनाउने भन्दै
बाँस बोकेर घर पुगेथे। 
पर्सीपल्ट
बाँसबारी तिर बतास लाग्यो 
पसलेले झन्डा बनाउने कपडा च्याते 
बाँसको डाली बाहिर निस्कियो
बाँसको घाँस लिएर फालेपछि 
सुइय गरेको सुनियो
घरका बाजाहरूको कर्कश आवाज सुनियो 
आफैले थाक्रो बनाउन बोकेको बाँस हेर्दै
बा बित्नु भो! 
बा’का आँखा निभेपछि
कात्रो बनाउन
त्यहीँ बाँसका आँखा फालियो 
र
छचल्कियो बाँस भित्रको पानी 
मट्टीको बिस्तराको विस्तारमा! 
थाहा भो- 
बिस्तराले बालाई घोचेको विवरण।