यता परदेशमा
थरी थरी समाजसेवी छन्
घरी घरी समाजसेवा गरिरहन्छन्
समाजसेवीका एक होइन
अनेक संघ-संस्था छन्
ती संस्था धेरै सस्ता छन्
सस्ता संस्थाका महँगा चुनाव छन्।
भन्छन्
संस्था एक होइन
अनेक छन्
अनेक संस्था
एक देशमा होइन
अनेक देशमा छन्
अनेक भेषमा छन्
अनेक भेषका समाजसेवी
बल निकालेर न्वारन देखिको
एनआरएनको आरनमा आगो फुक्छन्
आगोले फलाम पग्लँदैन
बरु उनकै शरीर जल्छ
तर स्विकार्दैनन् समाजसेवी
मानौँ
उनीहरू नभए
हावा चल्दैन
पृथ्वी घुम्दैन
आकाश खस्छ।
ठुलाबडासँगको फोटो
खोटो अनुहार चम्काउन
सानालाई धम्क्याउन
समाज हितको लागि
अचुक ओखती हुन्
सानालाई कज्याउन
त्रासको मन्त्र जप्नु
के अपराध हो?
के समाज सेवा होइन?
समाजसेवीलाई
भ्याई नसक्नु छ समाजसेवामा
उनीलाई
भोकाको भोक मेट्नु छ
बोकाको रोग मेट्न
सेतो पिठोभित्र डल्लो बनाउनु छ
ठुलो सपना बोकेर यता आएका
घरबार विहीन छन् कति
तिनलाई घरजग्गा मिलाइदिनु छ।
उता देशमा सबै छोडे पनि
मृत्युले छोडेन
सँगै मृत्यु यता आयो
त्यो निर्दयी मृत्युमा पनि
पैसा फलाउने
विलक्षण प्रतिभाका समाजसेवी
सके जिउँदामै
नसके मरेपछि फलाउन
अहोरात्र खटेका छन्
जिउँदो हुँदा भोकै हुनेलाई
जिउँदामै पैसा चाहियो
मरेपछि झनै चाहियो
आखिर समाजसेवीले के गरून्?
उता
भूकम्पले घर भत्काउँदा
बाढी पहिरोले बस्ती बगाउँदा
यता अवसरको द्वार खुल्छ
पार्क र गल्लीमा
हल्ली खल्ली गर्दै
भिक्षा मागेर
परोपकारी बन्छन्
दाता बन्छन्
सके जति आफ्नो खाता भर्छन्
फेरि गाँड कोराकोर गर्छन्।
यताको ‘स्वर्ग’ देख्ने रहरले
लामबद्ध आहत आत्माहरू
गल्लावाललाई धनको मुठो बुझाएर
आफै बिक्रीका लागि आतुर छन्
आखिर ती आतुर आत्मालाई
बेचेर समाजसेवीले कसरी सेवा नगरुन्?
गोजेरो बिहान बेलुका
आखिर जसले पनि भर्छ
भैँसीले चरेर भर्छ
चोरले चोरेर भर्छ
जागिरेले जागिरले भर्छ
समाजसेवीले झन् नयाँ आविष्कार गरे
समाजसेवा र व्यापारलाई ‘टु इन वान’ बनाए
आखिर समाजसेवीले के बिगारे?