भर्खर फर्कियो
एउटा मान्छे भिरेर रहरका झोला
जसले रित्याएको थियो
महिना दिनको पसिना
फर्किनु अघि
सिमानाको सैनिक झैँ
घण्टौँ घुर्दै हल्लायो गोडा
तन्कायो साहसको हात
च्यात्न खोज्यो
टाउकोले पुँजीवादको दुनियाँ
तर
जब उघार्न खोज्यो
चाम्रिएका गोजीका आँखा
चस्कियो मुटु
झस्कियो पेट
सुक्यो ओठ/तालु
नभएको भए त्यहाँ चिसो एसी
नपाएको भए त्यहाँ न्यानो आतिथ्य
नझुक्काएको भए दिएर व्यापक छुट
ऊ ढल्ने थियो
एक धोक्रो आफ्नै आवश्यकताले
यसरी
भिर्नुअघि खुसीका झोला
चिप्लायो उसले बाध्यताको गोडा
पछारियो बेस्सरी राहतको मूल्य सूचीभित्र
जो बन्यो
भर्खरै आकांक्षाको दास
जसलाई कुल्चेर
भर्खरै दगुर्यो पुँजीवादको बाटो।