एउटा थर हराएको प्राणी
जोसँग अब बाँकी छ केबल
मौनतामाथि आत्माको शून्य चीत्कार
पछि जोडिएको नाम मात्र बाँकी छ अब
जुन कर्तव्य बोधका चाङसित मात्र
साइनो जोड्न चाहन्छ
जुन भौतिक अस्तित्वको सुरुवात
पछि मात्र कोरियो।
अब नाम बाँकी रह्यो
जरा हराएको रुख जस्तो
आत्मा हराएको शरीर जस्तो
आमा हराएको सन्तान जस्तो
घर हराएको परदेशी जस्तो
शीतलता हराएको सुक्खा याम जस्तो
अक्षर हराएको
पुरानो पाना जस्तो
नाम मात्र रहेर थर हराएको जीवन
चेतना हराएको स्नायु जस्तो।
वास्तविक जीवन त थरमै थियो
तर जीवनले आफूलाई चिन्न आँटेको
फेरो नाघ्नै आँट्दा
जोडिदियो अर्को थरसँग
लेख्न त परिचय पुस्तिकामा
पुरानो थर नै अंकित छ
तर कैद भुक्तानी गरिरहेको थुनुवा जस्तो
भएको छ त्यो आफ्नो थर
निभ्न आँटेको दियोले हावालाई
साथी मानेर झिलमिलाए जस्तो
झुटो खुसीमा रमाएको छ नाम
सबै नव पृष्ठभूमिका पराया
कुण्ठित, विभेदीलाई आफ्ना सम्झेर।
नाम अब स्वतन्त्र भएको छ
सबैको प्रेमबाट
जबदेखि आफ्नो असली थर गुमाएको छ
थर प्रदायक भूमिले आफ्नो मानेको छैन
लगभग भुल्ने तरखरमा छ
नयाँ परिवेशले हर बखत छुट्टै
अस्तित्वको जीव सम्झेको छ
ममताको आँचलमा बाँध्न चाहँदैन
तैपनि आफ्नो जीवित अवयवका प्रत्येक तन्तुमा
बहिरहेछ ममताको आँचलबाट प्रसारित
आत्माको भावसँग चलायमान
एउटा प्राण पखेरु
मातृत्वको प्रसाद
हिमचुलीको आशीर्वादबाट
प्रदान पुरानो परिचयभित्र लुकेको
एउटा अनौठो पहिचान र नै
थर हराएको, सच्चा प्रेमबाट
वियोगान्त पथ उपहार पाएको जीवन
रुपी एउटा स्त्री देह
घनघोर र संघर्षको मरुभूमिमा
अनवरत रूपमा
ममताको सबै द्वारबाट वञ्चित
आलिसान महलमा
हजारौँ संख्याका प्राणी तर एउटा
स्नेह नभएको सुक्खा
मृत्युको प्रतीक्षालयमा
नाम खोजिरहेका छन्
युगौँ युगदेखिको चलायमान
कठोर इतिहासमा
स्व- अस्तित्वको बीज छर्न
त्याग, तपस्या, बलिदानमार्फत
रचिएका कुटिल चालद्वारा
केबल वंश निर्माण या
कर्मशीलताको उदाहरण
मार्फत स्वार्थ सिञ्चित गर्न
त्यसैले थर हराएको प्राणी
अब आध्यात्मिक जगतको
दर्शनको निमित्त तयारीमा छन्
त्यसैले त योग र ध्यानका
विद्यालयहरू भरिँदै छन्
स्व-अस्तित्वको खोजीमा।