मेरा बालाई छोरो घर बस्दिए हुन्थ्यो भन्ने पनि छ, अनि बालाई छोरोले आफ्नै आँखा अगाडि प्रगति गर्दियोस् भन्ने पनि छ।
मेरा बालाई छोरोले यही देशमै बसेर केही गरोस् भन्ने पनि छ, तर बालाई देशको स्थिति नै थाहा छैन।
बाले देशमा के बितिराको छ त्यो बुढो भइसकेको दिमागले बुझ्न सकेका छैनन्, देशको हालत के भाको छ र जागिर पाउनलाई कति ठाउँमा शिर झुकाउँदै हिँड्न पर्या छ यो कुरामा उनी अन्जान नै छन्।
पैसामा सबै बिक्छ र सोर्स फोर्समा जागिर मिल्न थाल्या छ, कति ठाउँमा भन्ने कुरा मेरा बालाई थाहा छैन्।
बस..छोरोको एक पानो मार्कसिटमा भाको परिणाम हेरे, परिणाम राम्रो देखे मख्ख परे र छोरोले अब देश नै कमाउन सक्छ भन्ने भ्रममा बसे।
ए मेरा बा त्यसै विदेशिन खोजेको हो र? मलाई पनि त तिमीलाई बुढेसकालमा घरमा एक्लै छोडेर लौरोको सहारामा विदेश जाने रहर थिएन नि! आमाले फुलेका कपाल निधारबाट पछाडि सार्दै 'बाबु जे जस्तो भएनि, बाँचिरहँदा नै मुख देखाउन आएस् है' भन्दा, मैले सुटकेस घिसार्दै अगाडि सरेका पाइला एकैछिन टक्क रोकिएका थिए।
एक मन त भैगो नजाम् कि भन्ने पनि लाग्यो, अनि लोन लिएर यत्तिका दुख खेपेर अब त बाआमाका काँधका भारी हलुका गरम्ला नि भनेर परदेशिन खोजेको म, कसरी रोकिन सक्छु म?
भो मनभन्दा अगाडि अहिले धन आएको छ म जानू नै छ भनेर हिँडे। सानामा मेरा औंला समाएर ताते-ताते गर्दै बुढेसकालको मेरो लौरो भन्दै आश र सपना बोकेर मलाई हुर्काएका हरेक दिनहरूले पोल्दो होला है बा तिमीलाई आजभोलि?
दिनरात केही गर्न सकेनस् तैंले बजिया, बरू दुनियाँका छोराले यो गरे, त्यो गरे भन्दै बाले झपार्दा, बाका गालीबाट बचाउन मेरा अगाडि मूर्ति जसरी उभिएकी मेरी आमा, तिम्रा शरीरका कति हड्डी भाचिए बराबर भएका थिए होलान् है मलाई जन्माउँदा?
तिमीलाई सहारा चाहिने उमेरमा, म तिम्रो अघि उभिन सकिनँ, मलाई माफ गरिदेऊ।
कहिलेकाहीँ त धिक्कार लाग्छ ती बैंकका लोन सम्झिँदा, तिम्रा आँसु सम्झिँदा तर अझ बढी धिक्कार लाग्छ आफ्नो अवस्था सम्झिँदा। दिनरात घोटिएर पढेका अक्षरहरू र कमाएका मार्कसिटहरूलाई मैले मेरै देशमा बिकाउन लाख कोसिस गरेकै हो आमा।
कसको सिफारिस छ भनेर खोज्ने देशमा मैले तिम्रो पटुकी भित्रको मजदुरीका सिक्काहरू पोको पारेको पटुकीलाई सिफारिस हो भनेर देखाउन सकिनँ।
बाको पसिना र मेरो मार्कसिटका नतिजा नै सिफारिस हुन् भनेर मैले देखाउन सकिनँ। मसँगैका साथीमा ठूला काका त हाकिम रहेछन्, उसले २ तारा लागेका मार्कसिटमै सानो हाकिम हुने अवसर पाउँदा ब्याचलरमा राम्रो परिणाम ल्याएर पास भएको मलाई कार्यालय सहयोगीसम्म नदिने नतिजा दिएको दिन बिर्सिन्नँ।
कति दिन सहनु यो सब त्यसैले सकिनँ यहाँ बस्न र यो देश छोड्नलाई परदेश जाने कन्सल्टेन्सीका ढोका ढक्ढकाउन गएको थिएँ।
राम्रा देशले नि सजिलै किनिदियो बा मेरो मार्कसिट! 'जेसुकै गर्नु तर १२ सकेसी नेपाल बस्ने भूल नगर्नू' भन्थे रामे दाइले।
मैले सुनिनँ त्यो कुरा आखिरमा मेरो ४ वर्षको ब्याचलरलाई ५ वर्ष लगाइदियो र मेरो योग्यता अनुसार केही दिन सकेन देशले।
बेकारमा बाआमाका छोरा प्रतिका आश गरेका वर्षहरू मात्र लम्बिए।
होइन भने अहिलेसम्म त मेरो कमाइ खान पाउथेउ नि है? छन् तिम्रा मान्छे पहुँचमा भने चाहिँ यो देशलाई कदमकदाचित नछोड्नू, यहाँ धेरै अवसर छ होइन भने चाहिँ विदेशिनु, यहाँ जस्तो राजनीति र लाजनीतिसँग लड्न गाह्रो छ।
तिमीसँग पैसा छ भने पनि बस्नु यहाँ किनकि बिक्नेहरू धेरै भेटिन्छन्, तिमी मान्छे किनेर नै प्रगति गर्न सक्छौ। होइन भने बरू सर्टिफिकेट बेच्नू र खाडी पस्नु, न देशले केही दिन सक्छ न देशलाई केही दिन सक्छौ। गर्न खोजिहाल्यौ भने पनि तिम्रो नाम बजारमा बिक्न थालेपछि यति षड्यन्त्र अनि यति जाल बुनिन्छन् र फसाइदिन्छन् नि, कि त जेलमा हुन्छौ कि त मर्न बाध्य हुन्छौ।
त्यसैले नआत्तिनू है बाआमा, तिमीहरूलाई कमिज फेर्न सक्ने बन्नलाई परदेशिएको हो, आमालाई मनपर्ने त्यो रातो गुनियो, फाटिसकेको देखेको छु, तर पनि फेर्न नसकेर बहाना बनाउँदै हाम्रा अगाडि चाहिँ यही मन परेर अर्को नकिनेकी हुम् भन्दै मन मारेकी मेरी आमाका गुनियो फेरूँला नि भनेर नै परदेशिएको हो।
घरमै बसेर एकछाक खान त जसोतसो सकिन्थ्यो होला नि? तर मलाई २ छाक आनन्दले खान सक्ने भएर आउनु छ।
तिमीले उमेरमा सकिनसकी गरेका दुखहरूले गलेका ती ज्यानका भारी बिसाउन सक्ने भएर आउनु छ। आमाले ४ सन्तान जन्माउँदा भाँचेका ती हड्डीहरूलाई बलियो बनाउन सक्ने गरी आउन छ।
गाउँमा यसको छोरो त लफङ्गो भयो केही गर्न सकेन भनेर आमाका मुखमा लाजै नमानी भन्दिने २/४ आफन्त किन्न सक्ने भएर आउन छ। बुढेसकालमा जन्मेको छोरो त घरको भार, दाइको अंश खान जन्मेको भनेर दुनियाँले सुनाउँदा पनि तिमीलाई चित्त दुख्थ्यो होला है आंमा?
दाइका अंशका एक भाग पनि नलिने जति सक्षम भएर आउन छ बा। अंश लगाउनलाई जमिनको नाममा घर मात्र भएको घरको के अंश लैजाम्ला र बा मैले।
मेरा अंश र सम्पत्ति भनेकै बाआमा त हौ नि यसमा भागबण्डा लगाउँदिनँ ढुक्क हुनू है बा।
तिमीहरू बाचिरहँदा नै जिन्दगी, जिन्दगी जस्तो बनाउन सक्ने भएर आउनु छ। तिम्रा माइतीमा बिहे हुँदा, तिमी गरिब घरमा बिहे भएकी हौ भनेर आफ्नैले नबोलाउँदा, तिमी भक्कानिएर रोएको कहाँ बिर्सेको छु र, माइतीका मुखिन्जेल तिमीलाई शिर उठाएर बोल्न सक्ने भएर आउन छ आमा।
ममाथि २ दिदीहरू जन्मिँदा छोरा जन्मिएन भनेर बालाई दोस्रो बिहे गर कि गर भनेर दिनदिनै तिम्रा पेटमा बच्चा हुँदा पनि टोकसो दिएर त्यही बच्चा खेर गएको भनेको सुन्दा आमा तिम्रा आँसु पैंचो लिएर खुसी किन्न जाने मन छ!
बाको गरिबीले बाको जवानी लुट्यो, आमाको जिन्दगी लुट्यो, मेरो बयस्क लुट्यो, अब बाआमाको बुढेसकालमा मैले फिर्ता गर्नुछ ती हरेक दु:खहरू र ल्याउनु छ सानो संसार र धेरै खुसी।
छोरीहरू खुसी होलान्, सुखी होलान् भनेर आफ्नो हैसियतभन्दा बाहिर गएर बिहे गरिदियौ। बिहे गरेर गएपछि उनीहरू पनि पराइ जस्तै भइदिए, सामाजिक सञ्जालमा छोरीहरूले आमाबालाई सुख दिएका भिडिओ हेर्दै रूँदै आँसु पुसेको देख्दा मन कुँडिएर आउथ्यो, पैसा त आएन यो घरमा ठिकै छ आफन्त खुसी सुख पनि नआउने कस्तो अन्याय हो।
ती दिदीहरूको मुख हेर्न मन लाग्दो होलानि है? सकेसम्म पैसाभन्दा नि मायाले माइती फर्किदिऊन् दिदीहरू त्यत्तिको बनेर आउने छु।
म नआइन्जेल ती सासहरू तिम्रा शरीरबाट जान लागे भने पनि कसेर आफैसँग राख्नु है बाआमा।
जन्मेदेखि आज ३०/३२ वर्षको हुँदासम्म छोरोले केही गर्न सकेन, यसमा धेरै नै दु:ख छ तर अब २/४ वर्षमा मेरो शरीर जेसुकै होस् तिमीहरूका ज्यान बलियो बनाउने भएर आउने छु।
मैले काकाका वचन बिर्सेको छैन बा।
म बल्ल १० कक्षा पढ्दै मात्र थिएँ, काका त आफ्नै मान्छे हुन् भनेर मान्छेका हरेक भेलामा उनीसँगै जाने गर्थें। एकदिन उनीसँगै जाँदा, एउटा राम्रो घर देखाएर काका यस्तै घर बनाउँछु म भोलिपर्सी भन्दा, गाउँका मान्छे सबै भएका बेला नै 'तेरो हजुर बा नि गरिब नै हुन्, बा नि गरिब नै हुन् र तेरो नि औकात त्यही हो' भनेर भन्दा सबै हाँसेका थिए।
मलाई त्यो कुराले हरेक रात पोल्थ्यो। वंशाणुगत जान्छ र गरिबी नि म जसरी नि धनी हुन्छु भन्ने लाग्थ्यो। मेरा उमेरका सबै केटाहरूका साथ मा बाइक र फोन हुन्थे, मसँग हुन्थेन।
सबैले एक्लो बनाइदिएका दिन बिर्सिदिन मैले। मन परेकी केटीले 'तेरो घरमा माया भनेर आउने? रूँदा आँसु भन्दा पहिला छानोबाट पानी चुहिन्छ होला' भनेर खिस्याउँदै, पैसा कमा पैला, बिदेश जा अनि बल्ल मलाई पाउँछस् भनेको दिन, धेरै हीनताबोध भएको थियो।
पैसा कति बलियो रहेछ, सबै बिक्ने, सबै पाइने, २० वर्षको उमेरबाटै सबैले पाठ सिकाइदिए।
त्यो कलेजको पैसा तिर्न नपाउँदा आमाले आफ्नो तिलहरि लिएर कलेज जाँदा मास्टरहरूले एक अर्कालाई हेरेर, 'राख्नुस् उसको पढाइ राम्रो छ हामी हेरौंला' भनेको दिन पढ्छु केही गर्छु भन्ने हिम्मत आएर यति राम्रो विद्यार्थी भएर निस्केँ, सबै कलेजकाले गौरव गर्थे मेरो पढाइमा, तर पढाइले मात्र केही नहुँदो रहेछ।
पढाइसँगै पैसा नभए त आफ्नै मार्कसिट बेच्न पनि गाह्रो हुने रहेछ।
अहिले विदेशिन लाग्दा ती सानिमालाई झलक्क सम्झन्छु, 'छोरो विदेश जा केही गर्नुपर्छ' भनेर मलाई साथ सहयोग गरेर, ममाथि यति धेरै धन लगानी गरेकी छिन्। भोलि मैले उनलाई केही गर्न सकिनँ भने? बिहेपछि छोराछोरी पाउन सकिनँ भनेर बिहे गरेको २ वर्षमै सम्पत्ति थमाइदिएर छेउ लगाइदिएका ती सानिमाका साथमा त श्रीमान पनि छैनन् आमा, भोलि कमाएर तिन्को ख्याल राख्नुपर्छ, लिएको पैसा ऋण भनेर नदिए पनि फर्काउनुपर्छ, उनको पनि छोरा भएर कर्तव्य निभाउन छ। कुनै दिन चुकिहालेँ म, केही गर्न सकिनँ भने घच्घच्याउनु है बाआमा, म आफ्नो कर्तव्यबाट उम्किनु हुँदैन।
तिम्रा बुढेसकालका भत्ताहरूले जिस्क्याउछन् मलाई, सानिमाका एकल महिलाका भत्ताले गिज्याउनेछ मलाई, तपाईंहरूका, लुला गोडा, कमजोर हड्डीहरूले मेरो सहारा खोज्दा म हुदिनँ त्यहाँ, त्यतिबेला छिमेकी र आफन्तका तानाहरूले पोल्नेछन् मलाई।
तर अब केही महिना पर्खनुस् है, मिठोमसिनो खानलाई चार्डपर्व पर्खिन पर्दैन। आमा तिमीले सारी फेर्नलाई औंसी पर्खन पर्दैन। बा तिमीले कमिज दौरा फेर्नलाई भत्ता कुर्नु पर्दैन। शरीर अशक्त हुँदा अरूकोमा मजदुरी गरेर अस्पताल जाने दिन अब आउँदैनन् आमा।
आमा तिम्री आमाले मर्ने बेला चिनो दिएको तिलहरि बोकेर मेरो कलेजमा भर्ना गर्न पुगेको दिन बिर्सेको छैन।
तिमीलाई सुनैसुनले भरिदिने छु। अब पैसा भएनन् ऋण देऊ न भन्दै दुनियाँका ढोका ढक्ढक्याउन पुग्न पर्दैन आमा।
बुढेसकालमै जन्मेको छोरो भएनि छोरोले कुनै कुराको कमी राखेन भन्ने सान बोकेर आउने छु आमा।
म छिट्टै आउने छु, तिम्रा काधका वर्षौंदेखिका भारी बिसाउन आउने छु आमा।
माइतीले गरिब घरमा परी भनेर पूजाआजा बिहे वर्तनमा बोलाएनन् भनेर सधैं रून्थ्यौ आमा, अब तिम्रो छोराको बिहे वर्तनदेखि सफलताका पार्टी र बिहे भोज खान बोलाएर मेख मारौली है आमा।
चिन्ता नगरी त्यो शरीरमा रहेको एक मुठ्ठी सास मेरो घर आउने दिन गनेर भएनि जोगाइराख्नू है बाआमा। म छिट्टै घर आउने छु आमा।
तिम्रो छोरोले तिम्रा चाउरी परेका गालामा खुसी फर्काउने गरी आउने छ आमा, बाका ती पोलेका तालुमा आराम दिने गरी आउने छु आमा।
समाप्त