समय कसैको बसमा नहुने रहेछ। मलाई आजभन्दा करिब १४ वर्ष पछाडि फर्किन मन लागेको छ। यो समय फर्केर हेर्ने समय त हैन जस्तो लाग्छ तर पनि मेरो मन त्यहीँ कतै अल्झिरहेको छ। बडो रमाइला थिए ती दिनहरू।
भर्खर एसएलसी सकिएको थियो। बिदाको समय भएकाले म सधैँ जसो घरको काममा व्यस्त थिएँ। बिहान घरको काम, दिउँसो गाई-बाख्रा गोठालो। घरको काम गर्न अल्छी लागेता पनि गोठालो जान बढो आनन्द आउँथ्यो। जसको कारण थियो अनिल!
हामी एउटै गाउँका एउटै विद्यालयको कक्षामा पढेका हौँ। विद्यालयमा हामीलाई सबैले जिस्काउँथे; ढुङ्गामा, केतुकीको पातमा, विद्यालयको कालो पाटीमा हाम्रो नाम रमा+अनिल भनेर साथीहरूले लेखिदिन्थे। कहिलेकाहीँ त विद्यालयबाट घर आउँदा बाटो नै छेकेर जिस्काउँदा म धेरै पटक रोएकी छु।
एउटा कुरा बारम्बारभन्दा सत्य हुन जान्छ भने जस्तै मैले अनिललाई भित्र भित्रै मन पराइसकेकी थिएँ। विद्यालय बिदा भएको कारण हामी सधैँ जसो गाई गोठालो जान्थ्यौँ। यसै सिलसिलामा एक दिन सालको पातमा ‘आई लभ यु रमा’ लेखेर अनिलले दियो। मलाई त ढुङ्गा खोज्दा देवता मिले जस्तै भयो। मैले पनि सालको पात समाएँ तर केही बोलिनँ। मैले मौन स्वीकृति दिए जस्तै भयो।
हाम्रो माया बिस्तारै गाढा हुँदै थियो। यसै सिलसिलामा एसएलसीको रिजल्ट पनि आयो। दुवै जना प्रथम श्रेणीमा उत्तीर्ण भयौँ। खुसीको सीमा नै रहेन। एसएलसी रिजल्टपछि ऊ काठमाडौँ पढ्न जाने भयो। यो कुराले एक मन खुसी थिएँ भने अर्को मन ऊ र म भौतिक रूपमा टाढा हुने कुराले दुखी थिएँ।
उसले सम्झाउँदै भन्यो, ‘म फोन गरिरहन्छु, तिमी पनि फोन गर्नू। म दसैँमा गाउँ आउँछु, तिमी पनि राम्रोसँग पढ्नू। हामी छिटै भेट्ने छौँ!’
ऊ काठमाडौँ गएपछि म पनि उच्च शिक्षाको लागि बुटवल गएँ।
हाम्रो दिनहुँ फोन हुन्थ्यो। तर पनि ३ महिना ३ वर्ष जस्तै भएको थियो। अब हाम्रो भेट दसैँमा मात्र हुने वाला थियो। हाम्रो ध्यान पढाइमा भन्दा पनि मायामा बढी थियो। हाम्रो माया यति छिटै यति गाढा भएको थियो कि दसैँमा भाग्ने अनि दुवै जना काठमाडौँमा गएर पढ्ने योजनामा थियौँ। म पनि काठमाडौँमा जान तयार भएकी थिएँ!
दसैँ पनि आयो, म घर गएँ। दसैँको समयमा गाउँघरको रमाइलो छुट्टै किसिमको हुन्छ। घर आँगन चिटिक्क पारिन्छ। एक दिनको कुरा हो, हाम्रोमा घर पोत्ने कार्यक्रम थियो। आमा र म मिलेर घर पोत्दै थियौँ। मेरो मनमा अनेक कुरा खेल्दै थिए। अनिल पनि छिट्टै घर आउने कुराले खुसी थिएँ।
अनि हामी भाग्ने छौँ जहाँ हामी दुई मात्र हुनेछौँ, यस्तै अनेक कुरा सोच्दै घर पोत्दै थिएँ एक्कासि भर्याङमा चिप्लिएर लडेँ। गाउँको चिकित्सकलाई देखाउँदा ‘स्पाइनल कर्ड इन्जुरी’ को शङ्का गर्नुभयो र काठमाडौँमा रिफर गर्नु भयो।
म खासै होसमा थिइनँ। घरमा भित्रिन लागेको दसैँ मेरो लागि दशा बनेर आयो। मेरो उपचार काठमाडौँमा चलिरहेको थियो। अनिल दसैँ मनाउन घर आयो होला। हाम्रो त्यसपछि कुरा भएन। हाम्रो दसैँ तिहार अस्पतालमै बित्यो।
तिहारपछि एक दिन अनिल मलाई भेट्न अस्पताल गएको थियो तर ऊसँग साथमा एउटी केटी थिई। मलाई ऊसँग धेरै कुरा गर्न भन्न मन थियो, बेस्सरी रुन मन थियो तर पाइनँ। आधा घण्टाको बसाइपछि उनीहरू फर्किए। म भने बाथरुममा ह्विलचियरसँग बेस्सरी टाउको र हात ठोकेर रोएँ। मेरो साथी कोही पनि छैन जस्तै लाग्यो। भुइँचालो आएजस्तो भयो। अब ह्विलचियर नै मेरो नै मेरो साथी हो भन्ने लाग्यो।
त्यसपछिको दिनहरूमा हाम्रो खासै कुरा भएन। एक दिन यत्तिकै समय बिताउन फेसबुक खोलेर उसकै प्रोफाइल हेर्दै थिएँ, स्टोरीमा ऊसँगै अस्पतालमा आएकी केटी उसको अङ्गालोमा थिई। त्यो देखेर फेरि एक पटक नराम्रोसँग रोए। त्यसपछि कहिले फोन गर्ने बोल्ने हिम्मत आएन। उसले पनि के छ कस्तो भनेर कहिले सोधेन।
मेरो अब खुट्टा ह्विलचियर भएको थियो। बिस्तारै ह्विलचियरमा हिँडडुल गर्न थालेँ। मेरो जीवनले नयाँ जीवनको सुरुवात गर्यो। अब गाउँ फर्कने मेरो अवस्था नभएकोले मैले घर सल्लाहअनुसार काठमाडौँ बसेर पढ्ने निर्णय गरेँ।
बिस्तारै ह्विलचियर हिँडडुल गर्दै आफ्नो अध्ययनलाई फेरि सुरु गरेँ, केही वर्षपछि अनिलको बिहे भएको कुरा सुनेँ। त्यस बेला चाहिँ मलाई खासै अनौठो लागेन, मौन उत्तर दिएँ। मैले घर-परिवार, माया, मोह सब सुखका साथी हुन भन्ने पत्तो पाइसकेकी थिएँ। मलाई कुनै पनि दुखले छुन छोडेको थियो।
मैले ब्याचलर पास गरेर कामसँगै स्नातकोत्तर जोइन गरेकी थिए। मेरो छुट्टै संसार जस्तो बनेको थियो। बिहान क्याम्पस, दिउँसो अफिस, बेलुका कोठा; यत्तिमै सीमित थियो। हामी सम्बन्धमा नरहे पनि सामाजिक संजालमा साथी थियौँ तर बोलचाल भने हुँदैन थियो।
शनिवारको दिन थियो, फेसबुक स्क्रोल गर्दै बसिरहेकी थिएँ। एक्कासि अनिलको बाइक दुर्घटना भएको फोटो सहितको समाचार थाहा पाएँ तर पनि फोन गर्ने हिम्मत आएन। मलाई जस्तो गरे पनि उसको राम्रो होस भन्दै स्वास्थ्य लाभको कामना गरेँ।
जीवन कहिले घिस्रिँदै, कहिले लड्दै, कहिले उठ्दै, कहिले रुँदै, कहिले हाँस्दै आफ्नै गतिमा चल्दै थियो। हामी बेखबर जस्तै थियौँ। अचानक १३ वर्षपछि अपाङ्गता दिवसको दिन (डिसेम्बर ३) भृकुटीमण्डपमा अनिललाई ह्विलचियरमा देखेँ। म त उसलाई पूर्ण रूपमा सन्चो भएको होला भन्ने सोचेको थिएँ। तर अचानक ह्विलचियरमा देख्दा अकमक्क परेँ।
ऊसँग कहिले बोलेर नथाक्ने म त्यस बेला बोलाउनै सकिनँ। निकै पिरमा देखिन्थ्यो, पहिलाभन्दा दुब्लो पनि भएको थियो। उसलाई हेर्दा नै लाग्थ्यो, एउटा पुस्तकमा नअट्ने कुरा उसको मनमा छ भनेर। अनि मलाई त्यही दिनको याद आयो जुन दिन मलाई ऊसँग धेरै कुरा गर्न मन हुँदाहुँदै पनि केही भन्न पाएकी थिइनँ।
त्यस दिन उसले नै बोलायो, ‘रमा, सन्चै छौँ?’
म अकमक्किँदै ‘अँ म सन्चै छु’ भनेँ र उसलाई पनि मैले हालखबर सोधेँ।
उसले बेलिबिस्तार लगाउँदै सुनाउन थाल्यो उसका कुरा।
‘तिमीलाई धोका दिएकोमा मलाई सबैभन्दा ठुलो पछुतो छ।’
मैले ‘छोड ती बितेका कुरा’ भन्दै थिएँ ऊ थप्दै थियो, ‘जीवन भने जस्तो नहुँदो रहेछ, समय सधैँ एकनासले नचल्ने रहेछ।’
अनि सुनाउन थाल्यो आफ्नो पारिवारिक कुरा।
एउटा छोरा जन्मिएको रहेछ। बाइक दुर्घटना भएको दुई वर्षपछि छोरा आफूसँग राख्ने सर्तमा श्रीमतीले डिभोर्स गरेकी रहिछन्।
‘तिमीलाई धोका दिएको पाप लागेको छ, एक्लो जीवन बिताउन सारै नै गाह्रो हुँदो रहेछ। म त एक्लै भएँ नि। अरू त त्यस्तै हो, मेरो कुरा सुनिदिने मान्छेसम्म छैन। सबै कुरा सबैलाई भन्न पनि नसकिने रहेछ’ भन्दै आँखाभरि आँसु पारेको थियो।
मलाई पनि नराम्रो लाग्यो। आफूले माया गरेको मान्छे आफ्नै अगाडि रुँदा कसलाई नरमाइलो लाग्दैन होला र? ऊसँग त झन् मैले बिहेको सपना नै देखेकी थिएँ।
उसले फेरि पनि हामी सँगै हौँ न भन्दै थियो तर मैले नाइँ भनिदिएँ।
‘तर तिम्रो राम्रो साथी बन्न सक्छु, तिम्रो दुख सुखमा साथ दिन सकूँ, अब म पारिवारिक बन्धनमा र कसैको माया मोहमा पर्न चाहन्नँ। बिना धागोको चङ्गा जस्तै उड्न चाहन्छु। कमल जस्तै फुल्न चाहन्छु एक्लै यसरी नै’ भनेँ।
कुरा गर्दा गर्दै साँझ परेको पत्तै भएन। अनि हामी खाजा खाएर आआफ्नो कोठा तिर लाग्यौँ। अहिले हामी राम्रो दुःख सुखको साथी बनेका छौँ।