अपराह्नको समय थियो। मनोज आफ्नो कामले लाजिम्पाटतर्फ जाँदै थियो। लैनचौर चौकमा अकस्मात् मान्यतासँग भेट भयो। वर्षौंपछिको भेट। त्यो पनि बिल्कुल अनपेक्षित। उसले आश्चर्य मान्दै भन्यो- ओहो! मान्यता, कस्तो अकल्पनीय भेट!
मान्यताले पनि अचम्मका साथ हेरिन्।
उसले अझ् उत्साहित हुँदै भन्यो- फुर्सद भए हिँड न, कुनै क्याफेमा बसेर एकछिन कुरा गरौं।
मान्यता किंकर्त्तव्य-विमूढ भइन्। अलि सहज भएपछि सहमति जनाइन्। नजिकै हिमालयन जाभाको क्याफे थियो। दुबै जना त्यहीँ गए। कुराकानी हुँदै गयो। उनले आफ्नो बारेमा बताउँदै गइन्।
‘बि.एस्सी नर्सिङ गर्दैछु। अब दुई वर्ष बाँकी छ। पार्टटाइम पनि गर्छु। नयाँ बजारमा कोठा लिएर बसेकी छु।’
दुबै जना एउटै भेगका थिए। बाह्र कक्षासम्म नेपालगञ्जमा सँगै पढेका। खासै घनिष्ठता त थिएन तर बोलचाल भने राम्रोसँग हुन्थ्यो। कुनै कुनै संयोगहरू गजबका हुँदा रहेछन्। त्यत्तिकै पनि आत्मीय बनाइदिँदा रहेछन्। त्यो पनि त्यस्तै भयो। सायद घर परिवारदेखि सयौं माइल टाढाको संघर्षपूर्ण दैनिकी, काठमाडौंको आत्मीयताहीन व्यस्तता र अत्यासलाग्दो एक्लोपनको पनि असर थियो त्यो। कफी पिउँदै मनोजले पनि आफ्नो दुखेसो पोख्यो।
‘सानैदेखि डाक्टर बन्ने सपना थियो। बाह्र क्लास सकेँ। फौजमा भर्ना खुलेको रहेछ। त्यतिकै फाराम भरेको थिएँ। पास भएँ। मेरो डाक्टर बन्ने सपना सिपाहीमा पुगेर टुङ्गियो। गरिबका सपना त सपना मात्रै हुँदा रहेछन् मान्यता!’
मान्यता एकछिन भावुक भइन्। लगत्तै कुरा अर्कोतिर मोडियो। कुरैकुरामा कलेज जीवनका कैयौँ कुराहरू सम्झे। कतिले भावुक पनि बनाए। समय बितेको पत्तो भएन। छुट्टिने बेलामा फोन नम्बर आदानप्रदान गरेर बिदा भए।
क्याफेबाट मान्यता सिधै कोठातिर लगिन्। मनमा कुरा खेल्दै गए। सम्झिँदै गइन् ‘दुर्गम गाउँको सोझो केटो मनोज, कलेजमा सबैले ‘बुलिङ्ग’ गर्थे। कस्तो स्मार्ट भएछ!’ उसको कुरा गर्ने शैली, आत्मविश्वास र परिपक्वता देखेर छक्क परिन्। सोच्दै सोच्दै डेरामा पुगिन्। बगैँचामा सिउँडी फूलेका थिए, अघिपछि वास्तै नलाग्ने ती फूलहरू, त्यसदिन भने मनमोहक लागे र उनले मनमनै भनिन्, ‘सुन्दरता त मान्छेको मनमा पो हुँदो रहेछ त!’
भेटघाटको क्रम बढ्दै गयो। भौतिक रूपमा र सामाजिक सञ्जालहरूमा। दिन बिते। महिना बिते। विस्तारै विस्तारै उनी मोहित हुँदै गइन्। ऊ विवाहित थियो। तै पनि उनलाई फरक परेन। कहिलेकाहीँ निकै भावुक हुन्थिन्। बा आमाका सपनाहरू सम्झिन्थिन्। मनमनै सोच्थिन्, ‘किन म यसरी बरालिँदै छु? एउटा अवैध सम्बन्धको लागि किन यति लालायित हुँदैछु? के यो पाप होइन? उसका परिवार प्रतिको अन्याय होइन? उसले स्वीकार गरेन भने...?? सोच्दा सोच्दै मुटु काम्थ्यो। तर, पागलपन घट्दैनथ्यो।
एक दिन उनीहरू नगरकोट घुम्न गएका थिए। अपराह्नको समय थियो। क्षितिजभरि बादल थिए। तर, मौसम सफा थियो। माथि हाइटबाट उपत्यकाको मनोरम दृश्य देखिन्थ्यो। वातावरण सुरम्य थियो। मौसम बहकिएको थियो। तर, उनको मनमा भने बेचैनी थियो। निकै बेरपछि उनले आँट गरेर आफ्नो मनको कुरा भनिन्, ‘कोही किन आफ्नै ज्यानभन्दा पनि प्यारो लाग्छ? किन ऊ बिनाको जिन्दगी कल्पना गर्नै गाह्रो हुन्छ? किन उसकै कल्पनामा उज्यालो हुन्छ, उसकै सपनामा रात बित्छ ... यो कस्तो अनुभूति हो मनोज?’
मनोजले कुनै प्रतिक्रिया जनाएन। उनी व्यग्र भएर उसैलाई हेर्दै बसिन्। संयोग! अघि निकै पर देखिएका बादल सर्दैसर्दै आइसकेका थिए। मुसुक्क हाँसेको सूर्यलाई ढाकिसकेका थिए। ऊ बसेको ठाउँबाट उठ्यो। अलि पर गयो। एउटा भरभराउँदो गुराँसको थुङ्गो निमोठ्यो र, लामो सुस्केरा लिँदै भन्यो- ‘तिम्रो कुरा मैले बुझेँ मान्यता! एउटा कन्चन अनुभूति, जुन पाउनु र गुमाउनु भन्दा धेरै माथि हुन्छ, जुन कसैको लागि मृत्युपर्यन्त सुख मात्रै कामना गर्छ। त्यो निश्वार्थ भावलाई यहाँ प्रेम होइन, पागलपन भनिन्छ। भावनालाई पनि नैतिक ,सामाजिक आँखाले मात्र हेर्ने समाजमा तिम्रो र मेरो अनुभूतिको के अर्थ हुन्छ र?’
उसले आफ्नो दार्शनिक तर्कले उनको भावना नकारिदियो। मान्यता स्तब्ध भइन्। आँखा जलमग्न भए। मुस्किलले जुरेको त्यो स्वप्निल पल पीडामा लपेटियो। तैपनि एकछिन त्यहीँ बसे। यताउताका कुराहरू गरे। तर, त्यो स्वाभाविक हुन सकेन। आधा घण्टा जति पछि मनोजले मोटरसाइकल स्टार्ट गर्यो। उनी चुपचाप पछाडि बसिन्। बाटामा पनि कुराकानी भएन। उसले सिधै डेरामा लगेर छोडिदियो।
कोठा पुगेपछि डङ्ग्रङ्ङ बिछ्यौनामा पल्टिन्। एउटा आहतपूर्ण हाँसो हाँसिन्। व्यथित भएर आफैलाई सोधिन्, ‘अब के म उसलाई भुलेर अगाडि बढ्न सक्छु?’ मनमा कुनै उत्तर थिएन। गहिरो पीडा मात्र थियो। आँखाका आँसु पुछिन्। निकैबेर पछि फोनको घण्टी बज्यो। उसैको होला लागेको थियो। आमाको रहेछ।
आमाले भनिन्- ‘नानी पढाइ कस्तो छ? हामी त गाउँमा तिम्रै फुटानी लाएर बस्छौं ....राम्रो गरे है छोरी, तिमी बाहेक हाम्रो अर्को कुनै सपना छैन नि!’
आमाको सपना पनि त्यो दिन निकै भारी लाग्यो। कुरा टुङ्गियो। सोचाई फेरि मनोजतिरै गयो। उसको बुझ्नै नसकिने व्यवहार र आफ्नो भ्रमित विश्वास सम्झेर मनको पीडा झन् बल्झियो। हिउँदको चिसो रात निकै छिप्पिसकेको थियो। केही भुस्याहा कुकुरहरू सडकबत्तीमुनि न्यानोपनको विभ्रम अँगालेर गुँडुल्किएका थिए। झ्यालबाट ती कुकुरहरूलाई हेरिन् र मनमनै भनिन्, ‘आखिर भ्रम नै त रहेछ नि सबै! यिनीहरू न्यानोपनको भ्रममा छन्, म मनोजको मायाको।’ त्यो रात यस्तै छटपटीमा बित्यो।
त्यस दिनपछि उनले आफूलाई बदल्ने निकै प्रयास गरिन्। तर, सक्दै सकिनन्। दिनहरू छटपटीमा बितिरहेका थिए। एकदिन बिहानै फोनको घण्टी बज्यो।
घण्टीसँगै मनोजको नाम पनि ‘डिस्प्ले’ भयो। त्यो देखेर मनमा एउटा अमुक भावना जुर्मुरायो। उत्साहित भएर फोन रिसिभ गरिन्।
उसले मृदुल आवाजमा भन्यो ‘ह्यापि बर्थ डे मान्यता!’
उनले केही पनि बोलिनन्। उसले आत्मीय भावमा भन्दै गयो- ‘हाम्रो यहाँ आफ्नो भन्नु हामी मात्रै हौं बुझिस्, म साँझ केक लिएर आउँछु, तेरो जन्मोत्सव राम्रोसँग मनाउनुपर्छ!’
नभन्दै ऊ साँझमा आयो। उसको बोलीचाली केही पनि फरक थिएन। त्यो देखेर आफू मात्रै ‘ओभर सन्सेटिभ’ भएछु कि जस्तो मान्यतालाई लाग्यो। उसले झोलाबाट केक, खानेकुराका प्याकेटहरू निकाल्यो। भोड्का र वाइनका बोतलहरू पनि झोला मै रहेछन्। केक काटेपछि उसले बोतलहरू पनि झिक्यो। उनलाई पनि पिउन कर गर्यो। दुबै जनाले पिउँदै गए। नशा चढ्दै गएपछि ऊ बहकिँदै गयो र आफ्ना कथाहरू सुनाउन थाल्यो -
‘फौजमा छनोट भएपछि तालिममा गएँ। माधुरी पनि सँगै तालिम गर्थिन्। तालिम गर्दा गर्दै माया बस्यो। पास आउट भएकै दिन मन्दिरमा गएर विवाह गर्यौं। पन्ध्र दिनको बिदा पाएका थियौं। भारतको नैनी तालतिर घुम्न गयौं। नविन दाम्पत्यका स्वप्निल पलहरू बिताएर फर्कियौं। काम गर्ने युनिट पनि एउटै थियो। जीवन सुखद लयमा बित्दै गयो। यसै बीच एउटा छोरो पनि जन्मियो। जीवनमा कुनै खुसी पाउन बाँकी छ जस्तै लागेन।’
व्यथित भावमा उसले भन्दै गयो-
‘तर, दुई वर्षपछि मेरो काठमाडौंतिर सरूवा भयो। उनी त्यतै भइन्। टेलिफोन र भिडिओमा कुरा हुन्थ्यो। ठिकै चल्दै थियो। ठाउँ टाढा भएपछि मन पनि टाढिँदो रहेछ! विस्तारै हाम्रा कुरा मिल्न छाड्यो। उनी घर, परिवार र मेरो चरित्रको कुरा उठाउँथिन्। टेलिफोनमै झगडा पर्न थाल्यो। औडाहा हुन्थ्यो। छुट्टि मिलाएर जान्थेँ। फर्किने बेलासम्म बोलचालै बन्द भइसक्थ्यो। जे हुँदै थियो, त्यो मेरो कल्पना भन्दा बाहिर थियो। मैले त्यो वैरभावको कारणै बुझिनँ। मनमा अनेक कुरा खेल्थे। अरूले पनि कुरा सुनाउँथे। पछि मलाई उनको जीवनमा अरू नै कोही भए जस्तो लाग्न थाल्यो। त्यसपछि मैले पनि वास्ता गर्न छोडिदिएँ । यसरी हाम्रो सम्बन्धको डोरी छिन्यो। एउटा सुन्दर संसार उजाडियो!’
उसले गिलासको रक्सी स्वाट्ट पार्यो र पीडा भावले भन्दै गयो-
‘छोरो हुर्किँदै छ, बाबु हुँदाहुँदै टुहुराको बालापन बाँचिरहेछ। त्यो सम्झेर निकै पीडा हुन्छ। तर के गर्नु? जीवन आफूले सोचेको जस्तो हुँदो रहेनछ!’
मान्यता स्तब्ध भइन्। एकछिन पछि उसले अचम्मसँग कुरा मोड्दै भन्यो-
‘हैट! किन रुन्चे कुरा गरेको होला मैले? आजको दिन त खुसीको पो हो त ..’
ल्यापटप नजिकै थियो। युट्युब खोल्यो। गीत बजायो। सँगै नाचौं भनेर तान्यो। रात छिप्पिसकेको थियो। नशा चढिसकेको थियो। नाच्दै गए। श्वासको गर्मीले उमाल्दै लग्यो। शरीरको स्पर्शले पगाल्दै लग्यो। विवेक हरायो। मर्यादाका सिमाना मेटियो। त्यो रात दुबै जना उनकै बेडमा सुते।
भोलिपल्ट बिहान ऊ गइसकेको थियो। उनी अबेर उठिन्। वरिपरि हेरिन्। कोठा अस्तव्यस्त थियो। टाउको चड्किएको थियो। राति भएका कुरा सम्झिँदै गइन्। मनमा चिसो पस्दै गयो। उसले भनेका कुराहरूको बारेमा सोचिन्। ती सत्य थिए कि बनावटी थिए, अनुमान नै गर्न सकिनन्। त्यस्तो दार्शनिक तर्क दिएर लत्याइसकेको थियो, फेरि किन त्यसरी अन्तरङ्ग रूपमा प्रस्तुत भयो? बुझ्न सकिनन्। बरू अर्को गम्भीर प्रश्न मनमा उब्जियो
‘त्यो माया थियो कि फगत वासना थियो?’ धेरै सोचिन्। तर उत्तर फेला पारिनन्। बेचैन भएर दिन बिताइन्।
साँझ ऊ फेरि आयो र आश्वस्त पार्ने प्रयास गर्दै भन्यो-
‘मलाई गलत नसोच् मान्यता! सायद हिजो राति जे भयो, त्यो हुनै लेखिएकै थियो! हामीले एउटा नविन अध्यायको सुरूआत गरेका छौं।’
उसको कुरा निकै अमूर्त थियो। तर, उनले त्यसलाई आत्म स्वीकृति सम्झिइन् र, सम्बन्ध त्यही रूपमा चल्दै गयो। कहिले त्यो माया जस्तो लाग्यो, कहिले लिभ- इन रिलेसनसीप जस्तो त कहिले फगत वासना जस्तो! मान्यताको पहिलो प्रेम। उनी मनैदेखि माया गर्थिन्। तर, उसले गरे जस्तो लाग्दैनथ्यो। मन त दुख्थ्यो। तर, गुनासो गर्दैन थिइन्। सहनै नसकेपछि भने एकदिन उनले भनेकी थिइन्-
‘मलाई अलपत्र पारेर त छोड्दैनौ नि मनोज?’
त्यसदिन ऊ निकै भावुक भएको थियो। अँगालोमा बाँधेर भरको किरिया खाएको थियो। दिनहरू यसरी नै बित्दै गए। उनले बाआमालाई ढाँट्दै गइन्। साथी संगीहरूसँग भाग्दै गइन् र एउटा अवैध सम्बन्धमा अल्झिँदै गइन्।
एकदिन। केही दिनदेखि महिनावारी रोकिएको थियो। शरीर पनि गलेको थियो। पुनः गर्भवती त भइनँ भन्ने लाग्यो। टेस्टिङ किट किनेर ल्याइन्। चेक गरिन्। पहिलो पटकको गर्भपातको ग्लानी छँदै थियो। अर्को चोट थपियो। हतास भएर मनोजलाई फोन गरिन्। ऊ साँझ मात्र आयो। उनले अवरूद्ध कण्ठले उसलाई भनिन्-
‘एउटा डोरी किनेर ल्याइदेऊ मनोज, अब म झुन्डिएर मर्छु!’
मनोज अक्क बक्क भयो। उनले रूँदै भन्दै गइन्-
‘उता बाबु आमा कस्ता सपना सजाएर छोरीलाई पढ्न पठाउँछन्, यता छोरी जवानीको मात चढ्छ, बिहे नै नगरी भुँडी बोक्छे, एबोर्सन गर्छे। म बाआमालाई कति पटक घात गरौं? नजरमा यो चरित्रहीन चेहरा लिएर कसरी उनीहरूको सामना गरौं?’
ऊ स्तब्ध भयो। लामो सुस्केरा हालेर भन्यो-
‘धैर्य गर मान्यता! अहिले बहुविवाहको मुद्दा लाग्छ। कुरा मिलाउँदै छु म।’
मनोजले फेरि पनि गर्भपतन गर्ने दबाब दियो। तर, उनी तयार भइनन्। त्यही गलफत्तीमा एउटा पीडादायी रात बित्यो। त्यसपछि मनोज सधैं तनावमा हुन्थ्यो। उनी पनि भित्रैदेखि गल्दै गएकी थिइन्। डाहा छटपटी हुन्थ्यो। सोच्थिन् ‘सारा विपदको जड म नै त हुँ! मै मरें गए भने खेलै खत्तम हुन्छ!’ मरी हालौं जस्तो लाग्थ्यो, फेरि अर्कै कुरा मनमा आउथ्यो ‘के म अब आफ्नो खुसीले मर्न पाउँछु? पेटको भ्रूणलाई जन्म दिन पर्दैन?’ ....रनभुल्ल पर्थिन्। पीडाको सागरमा डुबे जस्तो लाग्थ्यो। कुनै किनारा देखिँदैनथ्यो।
एक दिन साँझ मनोजले फोन गरेर भन्यो, ‘माधुरीले हाम्रोविरूद्ध उजुरी हालिछिन्, म छलफलको लागि नेपालगंज जान लागेँ। नआत्तिइकन बस्नू। छिट्टै फर्किन्छु।’
फेरि अर्को पटक जीवनका विडम्बनाहरू देखेर मर्माहत भइन्। रात निकै छिप्पिसकेको थियो। त्यही बेला आमाको फोन आयो। उताबाट आमाले भनिन्-
‘बिहेको लागि एउटा अफिसर कुरा आएको छ। के विचार छ नानी तेरो?’
आमाको कुरा सुनेर मुटुमा भक्कानो पर्यो। मनमनै सोचिन्-
‘मेरो जीवनमा बिहे गर्ने लेखेकै रहिनछ आमा! अर्को जीवन पाइने रहेछ भने ...’
आमासँग कुरा टुङ्गिना साथ झ्याल ढोका थुनिन्। खुब रोइन्। आफ्नै आँसुले निथ्रुक्क भिजिन्।
***
सात दिनपछि ऊ फर्केर आयो।
उसका ओठमा कलेटी परेका थिए। अनुहारमा उदासी थियो। त्यो देखेर सारै मन कुँडियो। उजुरीको कुरा के भयो होला भन्ने डर पनि थियो। रनभुल्ल परेर हेर्दै थिइन्, उसले चरम निराशाका साथ भन्यो-
‘जिन्दगीलाई बुझ्नै सकिएन छ मान्यता! जाबो एउटा जुनी काट्न कति पटक मर्नुपर्ने? मैले अब सुध्रिन्छु भने कागज गरेर आएको छु! एकातिर तिमी, अर्कोतिर कर्तव्य र कानुन। अब मेरो अगाडि जाने बाटो कता छ मान्यता?’
कुरा सुनेपछि उसले अकाल मृत्युवरण गर्ने खोजे जस्तो अनुभूति भयो। डरले सिताङ्ग भइन्। सोचिन् ‘यो स्थितिको जिम्मेवार ऊ मात्रै हो र? म पनि त हुँ नि!
अन्तरात्माले भन्यो, ‘अब उसलाई मैले नै बचाउनु पर्छ ’आफ्ना पीडा थन्क्याएर उसलाई सम्झाइन्-
‘बाटो छ नि मनोज! समस्या पर्दा नदेखिने मात्रै हो, तर जीवन रहेसम्म बाटो मेटिँदैन। बाँच्नु पर्छ, हरेक समस्याको समाधान निस्किन्छ। म तिमीलाई अप्ठेरो पार्दिनँ, तिमी हिम्मत नहार न।’
उसको अनुहार हल्का उज्यालो भयो। नशाले चुर थियो। त्यतिकै निदायो। उनी उठेर झ्यालमा गइन्। दूर दूरसम्म उज्यालो थिएन। मोबाइलको टर्च बालिन्। त्यसकै मधुरो प्रकाशमा बगैँचामा झारिन्। पारिजात फूलहरू बरबरी झर्दै थिए। झरेका ती फूलहरू हातमा उठाइन्। उनका आँसु पनि फूलमै झरे। दुःखी मनले फूललाई भनिन् ‘म पनि त झरिसकेँ नि!’ बोटबाट फूलहरू झरिरहे। उनी आफ्नै आँखाबाट।
ऊ बिहान उठ्यो। ड्युटी जान्छु भनेर गयो। त्यसपछि भने सम्पर्कमै आएन। धुइँपत्ताल खोजिन्। तर, अत्तोपत्तो मिलेन। मनमा अनेक अनिष्ट कल्पनाहरू आए। तर , नियतिको बाटो कुरी बस्नुको विकल्प भएन।
***
चौथो दिनको बिहान।
प्रहरीको गाडी आयो। उनको कोठा अगाडि रोकियो। गाडीबाट एक जना महिला प्रहरी झरिन्। उनलाई बोलाएर भनिन् ‘चार दिन अघि मनोजको मृत देह रानीवनमा फेला परेको छ। नजिकै ‘प्वाइजनको’ बोतल पनि छ। मोबाइलमा केही तथ्यहरू छन्। त्यसैले तपाईंलाई लैजान आएको हौं!’
मान्यता स्तब्ध भइन्। हातगोडा फतक्कै गले। भावशून्य भइन्। विस्तारै चेतना फर्कियो। आफूलाई प्रहरीको गाडीमा पाइन्। गाडी गुडिरहेको थियो। पेट मनोजको भ्रूण सलबलाउँदै थियो। तर, मनोज यो संसारमै थिएन। उसको मायालु चेहरा आँखामा आयो। फेरि मूर्छा परे जस्ती भइन्।
उनलाई हिरासतभित्र हुलियो। भित्र हेर्न सकिनन्। आँखा चिम्लिइन्। मनमा कुरा खेल्दै गयो। यहाँसम्म ल्याइपुर्याउने आफ्नो अन्धो र भ्रमित प्रेमको बारेमा सोचिन्। विवेकहीन पदचापहरूलाई मनमनै स्पर्श गरिन्। अभिशप्त मातृत्व र दुरूह आगतको पनि कल्पना गरिन्। बाटो कुरिबसेका बा आमाका मायालु अनुहारहरू आँखामा आए। नर्सिङ्ग गरेर अष्ट्रेलिया जाने आफ्नै उजाडिएका सपनाहरूले गिज्याए। आँखा खोलिन्। तर, अगाडि मनोज थिएन। केवल ग्लानि थियो। पीडा थियो। आँसु थियो। अन्धकार थियो।
र, आफ्नो उही प्रश्न फलामे सुइँरो बनेर मुटुमा गाडिएको थियो ‘मलाई अलपत्र त पारेर त छोड्दैनौं नि मनोज??’
समाप्त