ऊ न एकदम धनी हुन सक्यो न एकदम गरिब हुन सक्यो। धनी भएको भए आफन्तको र गरिब भएको भए सरकारको नजरमा पर्थ्यो होला ऊ तर बिडम्बना सधैं दोधारमा पर्यो।
उसलाई सधैं मध्यमवर्गीय हुनुको तिक्तताले सताइह्यो, नपत्याउने अभावले मोहनी लगाइरह्यो अनि आत्मसम्मानमा लागेका ठेसहरूले लखेटिरह्यो।
उसले जागिर नखाएको पनि होइन, उसको घर नभएको पनि होइन। तर पनि जिन्दगीमा त्यति धेरै फलिफाप हुन सकेन। आएको दिन नै सिद्दिने तलब र गाउँमा रहेको झुप्रोलाई ऊ सम्पत्ति भन्न सक्दैन।
काठमाडौंको डेरामा बसेको वर्षौं भइसक्यो। त्यही डेरामा बिहे भयो त्यही जन्मिए छोराछोरी अनि अब मृत्यु पनि त्यही डेरामा नै हुन्छ कि भन्नेमा डर लाग्छ उसलाई। किनकि घर बनाउन वा किन्न सक्ने पुँजी उसले न बटुल्न सक्छ, न कमाउन। गाउँको जग्गा बेचौं भने उसलाई थाहा छ कौडीको भाउ पनि आउँदैन त्यसमाथि बाआमाको पेवा।
उसलाई थाहा छ ऊ मध्यमवर्गीय हो तर थाहा हुँदाहुँदै पनि उसको मन नहुने भन्ने होइन। सकभर ठूलो मन लिएर सानो इच्छा देखाउन उसले जानेको छ। किनमेल गर्न जाँदा परिवारसँग उसलाई पनि पिज्जा खान मन लाग्छ। बच्चाहरू फिल्म हेर्न जाँदा पपकर्न खाने भनेर कराउँछन्।
तर उसको रित्तो गोजीले घरमै गएर खाजा खाने प्रस्तावलाई जबरजस्ती पेस गर्छ। ऊ आफैले आफैलाई प्रश्न सोध्छ-, ‘चाहे जस्तो जीवन मैले कहिले बाँच्ने? पैसा भएपछि? अनि त्यो पैसा चाँहि पुगुन्जेल कहिले आउँछ हातमा?’
सरकारी कार्यालयमा काम गर्ने उसले कहिल्यै दायाँ बायाँ गर्न जानेन। सेवाग्राहीलाई छक्काउन खोजेन, मिथ्या बोल्न जानेन। त्यसरी कमाएको पैसाले मान्छेलाई कतिन्जेल पुग्ला र? भनी सोचिबस्यो। हेर्दाहेर्दै उसकै अघि गरिब कर्मचारीहरू भ्रष्टाचारको आडमा धनी भए अनि काठमाडौंमा घर ठडाए। तर इमानदारिताको सती गएको ऊ सधैं मध्यमवर्गीय बाँचिरह्यो।
बिहानै उठ्छ तर मर्निंङ वाक जाने मुड चलाउँदैन। गएँ भने किनेर ल्याएको पानीले नुहाउन पर्छ भनेर सोच्छ अनि भन्छ -पैसा भएपछि जाउँला। कालो चियामा चुस्की मार्छ। दूध चिया खान अलि पैसाले पुग्दैन सोच्छ। खानामा भात र झोलिलो तरकारी भए पुग्छ दाल अचार र भेराइटी चाहिँदैन।चामल पनि ठिक्कको खान मिल्ने भए हुन्छ। पोलिस्ड चाहिँदैन। खसीको मासु नखाएको त जुगौं भइसक्यो उसले। छोराछोरीले खान मन गर्छन् कि भनेर कहिलेकाहीँ ल्याउँछ अनि आफू झोल मात्र खान्छ।
अफिस जाँदा दुइटा गाडी चढ्ने ठाउँमा एउटा गाडी चढेर पुगिन्छ भने ऊ अलिकति हिँड्न तयार हुन्छ। दिउँसो खाजा घरबाट लान्छ। अलिकति भएनि पैसाको बचत हुन्छ भनेर सोच्छ। पैसा बचाउन ऊ जे पनि गर्छ। साग किन्दा फुटपाथमा बार्गेनिङ गर्छ। सस्तो आलु प्याज पाइन्छ भने एक किलोमिटर टाढा जान तयार हुन्छ।
घर आएपछि अफिसबाट ऊ थकाइ पनि मार्दैन। पत्नीले सम्हालेको पुस्तक पसलमा पालो दिन जान्छ। थकाइ कहिले मार्ने? जस्ता प्रश्नमा ऊ उत्तर दिन्छ- पैसा भएपछि। बेलुकी छोराछोरीसँगै राखेर वरपरका बच्चाहरूलाई ट्युसन पढाउँछ। सादा खाना खान्छ अनि ऊ अब सुत्न चाहन्छ।मध्यमवर्गीय हुनुको अनन्त पीडा र वेदनाले थिचिन्छ। सपना पनि ऊ रंगीन देख्दैन। पूरा नहुने त्यो सहानुभूतिको सपनाले मात्र के गर्नु जस्तो लाग्छ उसलाई।
स-साना छन् छोराछोरी त्यसैले कथाका किताबहरू किन्न भन्छन्। खेलाउने भाँडाकुटी अनि डलहरू किन्दिन भन्छन्। तर सबैलाई ऊ भाका राख्छ- पैसा भएपछि। उनीहरू ठूलो भएपछि पैसा भयो भने के गर्ने? बच्चामा खेल्ने कुराहरू ठूलो भएपछि खेल्ने? मनमनै खिन्नता पस्किन्छ।
अनि ऊ झुटो बोलिदिन्छ यस्तो पनि के खेल्नु? भनेर। पत्नीका अनेक चाहनाहरूलाई अन्तै मोडिदिन्छ। राम्री हुन मेकअप किन्ने पत्नीलाई उल्झनमा नफस्न आग्रह गर्छ। अनि भन्छ- पैसा भएसी सुनैले पुरिदिउँला। आखिर सोख र भोक मेटिसकेपछिको श्रृंगार केका लागि? चाखहरूले मेटो काटिसकेपछिको पूर्ति कोके काम?
कल्पना समेत ऊ तीव्र गर्न पाउँदैन। किनकि ती कल्पनाहरू पनि आफूले समाउने हैसियत नराख्दासम्म मुर्दा जस्ता हुन्छन् र भगवानले पनि सबभन्दा बढी परीक्षा लिन्छ भने उसैलाई लिन्छ। किनकि ऊ त्यो मध्यम वर्गीय हुन्छ जो गरिब हुनबाट बच्न र थोरै धनी हुन अनेक अवसरको खोजी गरिरहेको हुन्छ।
ऊ एउटा फूललाई फूलभन्दा बढ्ता देख्न पाउँदैन वा देख्ने फुर्सतै हुँदैन। धनी मान्छे जस्तो ऊ फूललाई न आफ्नो बेड रूममा ल्याएर सजाउन सक्छ न त गरिब जस्तो माली भएर फूलकै रेखदेखमा वरिपरि झुम्मिन सक्छ।
एक टुक्रा सूर्य उदाए पनि त्यो अरू कसैका लागि होला भनेर माया मारिदिन्छ। कतै मिठै चिज खान पायो भने पनि थोरै खान्छ लत लागि नहालोस् भन्नका लागि। जागिर खान्छ तर विद्यार्थी छुट पाइन्छ भनेर कार्ड बनाउन बारम्बार डिग्री भर्ना हुन्छ।
हरेक साल बजेट आउँछ। कि गरिबलाई भत्ता लिएर आउँछ कि धनीको व्यापारमा कर छुट लिएर आउँछ। तर उसको तनखा बढेर आउँदैन।आउन त आउँछ, ऊ जस्तै मध्यम वर्गलाई उपहार महँगी लिएर आउँछ।
ऊ आफ्नो हविगतप्रति नै मौन सहानुभूति प्रदान गर्छ। हरेक प्रश्नहरूमा पैसा आएर जोडिएपछि ऊ आफूलाई पहाड, रूख र आकाश जस्तै मान्छ।जो टुलुटुलु हेरिबस्छ। ऊ त्यति चमत्कारी पनि हुन सक्दैन कि ढुंगा फक्रेर फूलझैं बनोस्।
उसलाई थाहा छ मध्यम वर्गीय जिन्दगीमा बिहान बिहान दाँत मात्र होइन कान पनि माझ्नुपर्छ। हिजो सुनेका सबै गुनासाहरूलाई पखाल्न। उसलाई थाहा छ घाउमा मात्र होइन आँखामा पनि पट्टी लगाउनुपर्छ, सहरको रंगीविरंगी नदेख्नलाई।
उसलाई साँच्चै जीवनमा पनि मुटुमाथि ढुंगा राखेर हाँस्नुपर्दछ। किनकि ऊ रून पनि पाउँदैन र दिल खोलेर हाँस्ने त उसको अवस्थै छैन। राज्यले उसलाई मध्यम वर्गीयको ट्याग भिराएको छ। ऊ भिरेर हिँडेको छ। जबसम्म उसको शरीर पग्लेर धुँवा बन्दैन।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)