एसएलसी पास गर्नासाथ परिवारले बिहे गरिदिए! निर्णय गर्ने अधिकार म (निकिता नाम परिवर्तन) लाई दिइएन!
चुपचाप स्वीकारेँ मैले! खाइलाग्दो र उज्यालो अनुहार भएको गणेश साँच्चिकै मन पर्यो। बिहेपछि माया बस्यो ऊसँग। बिहेको दोस्रो वर्ष नेपाली सेनामा जागिर पाउनु भो। श्रीमान जागिरे भएपछि दङ्ग भएँ म!
घर व्यवहारमा हाँसीखुसी थियो। परिवारले पनि राम्रो साथ सहयोग गरेका थिए।
पुरानो राज्य सत्ता परिवर्तन गर्नुपर्छ भन्ने आँधिहुरी आयो! ज्यान बाजी नलगाऊ! जागिर छोडिदेऊ भनेर अनुनय विनय गरेँ गणेशलाई। मानेन उसले।
यसैबीच रोल्पाको होलेरीमा दोहोरो भिड भएको समाचार आयो। मुटुले ढ्याङ्ग्रो ठोक्यो! नभन्दै आशाको किरण र जीवनको भरोसा सदाको लागि टुटेछ। एउटा निअपराध व्यक्ति द्वन्द्वको सिकार भयो! कलिलो उमेरमा विधवा भएँ म!
खै के भो कुन्नी! माया गर्ने परिवार ठासठुस गर्न थाले। सासू ससुरा, देवर कोही बोल्दैन्थे। किचकिच बढी सासूआमाले गर्थिन्। बुहारी पनि कसैकी छोरी हुन् भन्ने कुरा बुझ्नुभएन! छोराको नाममा आएको पैसा भाग लगाउनु पर्छ भन्न थाले! नदिई सुख पाइनँ। दिएँ। पैसा दिएपछि शान्ति पाउला कि भन्ने आश थियो। रडाको मथ्थर भएन। झन् बढ्यो। श्रीमानविहीन भएको विधवालाई भरोसा दिनुको सट्टा पीडामाथि पीडा थप्यो परिवारले। हुँदा हुँदा 'अलक्षिनी'! 'श्रीमान टोकुवा' नानाथरीका लान्छना लगाउन थाले! खान दिएनन्! भोकै पर्न थालेँ।
टिक्न दिएनन् घरमा! माइतमा गएर बोझ बन्न मन लागेन। छोरी च्यापेर रूँदै सहर पसेँ! श्रीमान भुल्ने साथी थिई ऊ!
संघर्षका दिन सुरू भए सहरमा। अपरिचित दुनियाँमा कसले सहयोग गर्थ्यो र मलाई! पसल पसल काम पाइन्छ कि भनी सोधेँ! ज्यामी काम पाए नि गर्छु भन्ने सोचेँ! त्यो पनि के भो? भने जस्तो भएन! काम पाइनँ! कम्पनीका सामानहरू कमिसनमा चोक चोकमा बसेर बेच्न सुरू गरेँ। सहज भएन त्यो पनि! किन्नेभन्दा किन्ने बहानामा मसँग जिस्कने बढी भए! नगर प्रहरीको त्यस्तै हैरान! पार लागेन! इलम नगरी हात मुख जोड्न मुस्किल हुन्थ्यो। काम खोज्नै पर्थ्यो मैले। सरकारले दिएको आधा पैसाले सहरमा जीवन घिसार्न थाले जसोतसो। जाबो ५ लाख कोठा भाडा तिर्दा र सरसामान जोड्दा आधा सक्की गो!
उपाय थिएन काम नगरी। जे पनि काम गर्छु भन्ने लाग्दै गर्दा एक जनाले रेष्टुरेन्टमा वेटर काम गर्ने त भनी सोध्यो! 'के खोज्छस् कानु आँखो भनेझैं भो'। नसोची 'हुन्छ' भनिदिएँ। भोलिपल्टबाटै काम सुरू गरेँ! खान पनि पाइने....! थोरै थियो तलब तर टिप्स आउँदा राहत महसुस हुन्थ्यो! छोरीलाई कोठामा सुताएर रेष्टुरेन्टमा वेटर काम गरेँ! रेष्टुरेन्टका साथीहरूलाई नाच्न क्षमता भएको बताएँ! स्कुलमा नृत्य प्रतियोगिता हुँदा सधैं फर्स्ट भई पुरस्कार जित्थेँ! त्यो नाच्ने कला काम लाग्यो। वेटरबाट डान्सरको रूपमा परिणत भएँ म! दोहोरी साँझ मेरो जागिरको गन्तव्य बन्यो!
सानी छोरीलाई जाइफल राखेर दूध र जाउलो खुवाउँथें। लामो समय सुताउनु थियो मलाई। लठ्ठेर सुत्थी ऊ! त्यही समय दोहोरी साँझमा गएर नाच्थेँ! तारिफ गर्थे सबैले मेरो डान्स! छोटो समयमा चर्चित डान्सर भएँ! दोहोरी साँझहरूमा माग बढ्यो! एकाएक हिट भएँ म! जुन दोहोरीमा जान्थेँ, त्यही दोहोरीमा ग्राहकहरूको घुइँचो लाग्थ्यो!
राती ११/ १२ बजे कोठामा पुग्थेँ। काम गर्नैपर्थ्यो। मजबुरीमा थिएँ म! साहु र ग्राहक खुसी नभए जागिर टिक्दैन्थ्यो। त्यसका लागि अरूले जे जे गर्थे मैले पनि त्यही गरेँ! प्रथमतः नाच्ने कला बेचें मैले!
साँझ ८ बजेदेखि सुरू हुन्थ्यो आफ्नो दिनचर्या। ग्राहकहरू नसामा झुम्दै जान्थे! 'वान्स मोर वान्स मोर' भन्थे! पुन: नाच्न अनुरोध गर्थे! नसाको तालमा ५०० र १००० का नोटहरू स्टेजमा फ्याक्थे! नोटमा फोन नम्बर लेखेर फ्याक्थे! रात छिप्पिँदै जाँदा दोहोरी बन्द गर्नु पर्थ्यो। टिप्स भाग लगाएर हतार हतार कोठामा पुग्दा छोरी निदाएकै हुन्थी!
ग्राहकहरू प्राय: अधबैंसे पुरूष हुन्थे। नुसाको तालमा आफूसँगै हिँड्न अनुरोध गर्थे। रिसाउनु भएन! हस, अर्को दिन भन्दै टार्दै जान्थेँ। जो-जो आफ्नो जस्तो लाग्थ्यो। तिनीहरू सबै शरीर भोग गर्ने कुनियत राख्थे! बच्नै मुस्किल!
बिस्तारै छोरी ठूली हुँदै गई। मामुको राति के अफिस हो भनेर सोध्थी! उत्तर दिन सक्दैन्थेँ! टारिदिन्थेँ। छोरीलाई स्कुल भर्ना गरेपछि अलि सहज भयो। छोरी स्कुल पुर्याएर दिउँसो सुत्थेँ म!
साहुहरू ग्राहकले दिएको टिप्समा आँखा लगाउँथे! व्यापारी, ठेकेदार, सरकारी कर्मचारी, युवा र अधबैंसेहरू दोहोरी साँझका नियमित ग्राहक हुन्थे! साहुहरूसँग कुरा नमिल्दा दोहोरी साँझ पटक पटक फेरेँ!
सामान्य लाग्न थाल्यो त्यो अलिपछि! साहुले हुने नहुने सबै खालका प्रस्ताव राख्थे! प्रस्ताव स्वीकार नगर्ने बित्तिकै अप्ठेरो आइलाग्थ्यो! नमानौं जागिरबाट हात धुनुपर्ने! मानौं इज्जत स्वाहा हुने! कुरा त्यही हो; शरीर भोग गर्ने प्रत्यक्ष अप्रत्यक्ष प्रस्ताव हुन्थे!
दोहोरीमा नाच्नेहरूलाई मानिसहरूको गलत दृष्टिकोणले हेर्दा रहेछन्! नाच्ने पनि पेसा हो नि! पेसा बाहेक अरू केही बनाइनँ। पीडा मनभरि थिए तै पनि सबैसँग बोल्नैपर्ने, हाँस्नै पर्ने! खुसी बनाउनै पर्ने! रक्सीको नसामा झुमेर हल्लिन्थे ग्राहकहरू! एक हिसाबले बाहिरी आवरण, रूप, जवानी र नाच्ने कला बेचेँ!
रात छिप्पिँदै जाँदा लुगाहरू छोटिँदै जान्थे! नगरौं रोजीरोटीको सवाल थियो! विकल्प थिएन! शरीर, रूप र नाच मेरा सम्पत्ति थिए! बेचिदिएँ तिनै।
महिनावारी हुँदा गाह्रो हुन्थ्यो! बिदा माग्न खोज्यो कि साहु रिसाइ हाल्ने! सकिनसकी नाच्नु पर्थ्यो। नाचेर मात्र भएन अरूलाई खुसी बनाउनु पर्थ्यो। अरूलाई खुसी बनाउँदा म भने दुखी हुन्थे!
कमाइ राम्रै थियो। डान्सरको जागिरभन्दा टिप्स बढी आउथ्यो। खर्च घटाएर बचत गर्थें। त्यही बचतले ३ आना घडेरी रिङरोड बाहिर किनेँ। अहिले जस्तो महङ्गो थिएन त्यस बेला। घडेरी किनेको झन्डै ३ वर्षपछि एक तले घर बनाएँ। मुख लुकाउने बास भयो। अरूको नजरमा काठमाडौंमा घर भएकी साहुनी भएँ। घर बनाएपछि दोहोरी साँझमा नाच्ने काम चटक्कै छोडिदिएँ। घरको सटरमा चिया पसल चलाएँ। राम्रै चल्यो चिया पसल!पसलको नाम थियो 'सानीको चिया पसल'। टाढा टाढाबाट चिया र खाजा खान आइपुग्थे धेरै मान्छे! मीठो भनेर तारिफ गर्थे! भाडा तिर्नुपर्ने तनाव थिएन। सबै खर्च कटाएर दिनको एक हजारभन्दा बढी नै बचाउँथें।
घर परिवारसँगको सम्बन्ध टुटेको १० वर्ष नाघेको थियो। आउजाउ र फोन सम्पर्क थिएन। कसैलाई पनि घरतिरको बारे सोधपुछ गर्दैनथेँ। पहाड घर कता हो भनेर सोध्ने धेरै थिए। भन्दैनथेँ म! कहिले कता, कहिले कता भनिदिन्थेँ! चिया पसल न परो। एक दिन मेरै घर गाउँका काका कताबाट हो चिया खान आइपुगे! चिन्न त मैले चिनेको थिएँ। तर नचिनेको जस्तो गरी बोलिनँ! चिनिहाले उनले। 'बुहारी तिमी ....!' सामान्य कुराकानी भयो। आफ्नो काममा लागेँ म! काका आफ्नो बाटो लागे।
गाउँका काकासँग पुनः भेट भएन। बुहारीको प्रगतिको कथा सुनाएछन् क्यारे गाउँमा गएर! एकाएक काकालाई भेटेको एक डेढ महिनापछि घरको अगाडि ट्याक्सी रोकियो! हेर्छु त सासूआमा! ओर्लिइन् ट्याक्सीबाट! उनै काकाले बसपार्कबाट ट्याक्सी चढाएर पठाएका रहेछन्! पसल बाहिर बसिन् सासूआमा! हेराहेर भयो! बोलौं नबोलौं भयो! 'माफ गर बुहारी' भनेर आँसु झारिन्। फाट्टफुट्ट चिया खान आएका मानिस हेराहेर गर्न थाले!
रमिता अरूलाई देखाउनु भएन। भित्र कोठामा लगे सासूआमालाई। फेरि पसलमा निस्किएँ! सात बजेतिर पसल बन्द गरेर भित्र पसेँ।
सासूआमा रोएको रोई गरिन्! 'कान्छी बुहारीले घरमा टिक्न दिइन! ससुरा बा बित्नु भयो! टिक्ने आधार केही भएन! मर्न कोसिस गरेँ। सकिनँ। तिम्रो शरणमा आएँ! विगतलाई माफ गर बुहारी! म पापिनी हुँ' एक हिसाबले आत्मसमर्पण गरिन्! मन पग्लियो मेरो। घरबाट निकाल्न सबभन्दा ठूलो भूमिका सासूआमाकै थियो। झल्झली सम्झिएँ! शरण पर्न आएकोलाई मरण गर्नु भएन! खेदो गरेर घरबाट निकाल्ने सासूआमालाई पाल्नु पर्ने भयो मैले!
समयको चर्खा हो घुमेर आउँदो रहेछ! माफ गरिदिएँ! घरबाट निस्कँदाका दिन याद आए! आधा पैसा दिएको दिन सम्झेँ! महिलाको शत्रू महिला हो भन्ने पुष्टि भयो। गाउँ छोड्दादेखिका संघर्ष सम्झिएँ। घर नबनाएको भए....! खुट्टामा नउभिएको भए...! खोज्थे होलान् कसैले? धनको पछाडि लाग्ने दुनियाँ.. मनभरि कुरा खेले!
धेरै कुरा गुमाएर बाँच्न सिकेको एउटा पात्र हुँ। महिलाको लागि श्रीमान गुम्नु सबै कुरा रहेछ! तर पनि एउटा प्रश्न जीवित छ। मान्छे मार्ने र मराउन प्रोत्साहन गर्ने त्यो विद्रोह र राज्यसत्ताप्रति भने अहिले पनि गुनासो छ! त्यसले मेरा सपना टुक्र्यायो। टुक्रिएका सपना जोड्ने एउटा साथी भई छोरी!
अहिले सासूआमा थपिइन्। पीडा हजारौंका थिए होलान्! मेराभन्दा बढी पनि थिए होलान्। अरूले भोगे तर बाँडेनन्। मैले बाँडे त्यति मात्र फरक हो!कुनै कथा र कल्पना होइन! यथार्थ हो। अरूलाई कहिल्यै त्यस्तो नहोस्! सपना कसैका नटुक्रिऊन् त्यसरी!
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)