नीलो आकाश हेरेर
ब्रह्माण्डको
अनन्त गहिराइ नाप्न सक्ने
तिम्रा आँखाले
सौर्यमण्डलभन्दा पर परका
ताराहरूको आकार प्रकार जोखेझैँ
किन जोख्न सक्दैन आफैलाई?
सेतो बादलभित्र पनि
वर्षाको घनघोर आतङ्क देख्ने
तिम्रा सुन्दर आँखाले
किन देख्न सक्दैन
आफ्नै मनमा
उठ्दै गरेको अहंको महल।
कत्रो शक्ति छ तिमीमा
प्रलयको स्पन्दन
सजिलै सुन्न सक्छौ
तीलमा तेल पनि
स्पष्ट देख्न सक्छौ
चकमकमा आगो
झिलिक्क भेट्न सक्छौ
बीउमा विशाल वृक्ष
झ्याम्म देख्न सक्छौ
हिमालको गहिराइ पनि
सजिलै नाप्न सक्छौ
सागरको उचाइ पनि
आनन्दले भेट्न सक्छौ
कत्रो क्षमता छ तिमीमा
ज्वालामुखीको
चट्टानमा उभिएर
दिक्कालसम्मको
भविष्य वाणी गर्न सक्छौ
हावालाई केलाएर
छुट्याउन सक्छौ
पानीको तातो चौतारो
बनाएर ताप्न सक्छौ
पानीमै आगो उमारेर
तमसमा आलोक छर्न सक्छौ
प्रकाशको किरणलाई पनि
चाल्नोमा चालेर
बेग्लाबेग्लै पार्न सक्छौ
आकाशमा उत्तम खेती लगाएर
समुद्रको पानी पटाउन सक्छौ
तर कस्तो विडम्बना
जब अहङ्कारको बाढीले
तिमीलाई छोप्छ
तिमी केही गर्न सक्दैनौ
तिमी आफ्ना लागि
दृष्टिविहीन बन्न पुग्छौ
वाक्यविहीन भइदिन्छौ
श्रवणशून्य हुनपुग्छौ
अनि
नाप्नै सक्दैनौ
आफै भित्रको अहङ्कारको दूषित मात्रा
थाहै पाउने छैनौ तिमीले
निकृष्टताको गर्तमा भासिएको तिम्रो
घिनलाग्दो यात्रा !
यत्ति बुझ,
तिमीले यी सबै थाहा पाएको दिन
रङ्गमञ्चको पर्दा खसिसकेको हुनेछ ।