ढल्न लागेको दिन र सूर्य, मन्द चलिरहेको त्यो शीतल हावा। मानौँ म कुनै एसी भएको शयन कक्षामा बसिरहेको छु। मनै शीतल, आनन्दित, अझ त्यो चराचुरुङ्गीको चिरबिर आवाजले त झनै मनै लोभाइरहेको थियो। वरिपरि विभिन्न प्रजातिका फूलहरू थिए; पहेँलो, सेतो, रातो, निलो गुलाबी रङका गुलाफहरू।
हरियो चौरको बिचमा बसेर शीतल वातावरणमा कान्छी दिदीको पसलमा बनेको मेरो फेब्रेट समोसा र लोकल गोलभेँडाबाट बनाइको अचारसँगै हातमा तातो-तातो दूधको चियाको चुस्की लिँदै म उदाउँदै गरेको जून नियालिरहेको थिएँ। एकाएक मेरो मानसपटलमा पहिलो प्रेम ईश्वरको सम्झना आयो।
हाम्रो भेट बज्रयोगिनी उच्च माध्यमिक विद्यालयमा भएको थियो। ऊ र म एउटै कक्षामा अध्ययन गर्दथ्यौँ। हामी दुवै जनाको पढाइ राम्रो थियो। ऊ यसै पालि कक्षा ७ मा भर्ना हुन आएको नयाँ विद्यार्थी थियो र म पनि नयाँ विद्यार्थी नै भएकोले हाम्रो अरू साथी थिएनन्। हामी दुवै जना एक अर्काको साथी बन्यौँ। हामीबिच प्रायः सधैँ पढाइकै विषयमा कुराकानी हुन्थ्यो। ऊ सधैँ ठुलो भएर देशको लागि केही गर्नु पर्दछ भन्ने सोच राख्दथ्यो।
ईश्वर र म प्रायः जता जाँदा पनि सँगै नै हुन्थ्यौँ। चाहे खाजा खान होस् वा विद्यालय बाहिर हुने विभिन्न प्रतियोगिताहरू नै किन नहोस्, हामी दुवै सधैँ सँगै भाग लिन जान्थ्यौँ र धेरै चोटि हामी दुवैले प्रथम दोस्रो भएर पुरस्कार पनि जितेका थियौँ। पछि पछि हाम्रा अरू पनि साथीहरू बनिसकेका थिए; शोभा, रमेश, कमल, माया, उमेश। उनीहरू हामीलाई सधैँ जोडी भनेर जिस्काउँथे। हामी पनि त्यसलाई केही प्रतिकार नगरी मौनतामा नै रमाउने गर्दथ्यौँ।
ईश्वर र मबिच एउटा प्रेमको अनौठो आभास थियो जुन प्रेमलाई हामी दुवैले व्यक्त नगरीकन पनि एक अर्काको आँखाबाट नै नियालिरहेको हुन्थ्यौँ। ईश्वरको र मेरो प्रेम वसन्त ऋतुमा फैलिँदै गरेको फूलहरू झैँ रङ्गीबिरङ्गी भएर फुल्दै थियो। उता बिस्तारै कक्षा ७ पास भएर कक्षा ८, कक्षा ९ हुँदै सोही विद्यालयबाट हामी दुवैले एसएलसी दियौँ। सबै साथीहरू राम्रै अंक ल्याएर पास भएका थियौँ।
एसएलसीपछि प्लस टु कहाँ र के पढ्ने भन्ने विषयले मन अलमलिइरहेको थियो। ईश्वर र म हामी दुवै जनाले स्कुल जहाँ पढेको सोही विद्यालयमा नै पढ्ने निधो गर्यौँ। मैले कानुन विषयमा र ईश्वरले विज्ञान विषय लिएर पढ्न थाल्यौँ।
ईश्वरको घरमा बाबा बिरामी हुनुहुन्थ्यो, दिदीहरू दुई जना विवाह गर्ने उमेरको भइसक्नु भएको थियो। एक जना दिदी घर नजिकैको विद्यालयमा पढाउनु हुन्थ्यो। दिदीको तलब मासिक पन्ध्र हजार थियो। अर्को दिदी कमर्स लिएर ब्याचलर गदै पार्ट टाइम जागिर गर्नु हुन्थ्यो। पुतलीसडक नेरको एउटा कन्सल्टेन्सीमा उहाँको तलब मासिक १३ हजार थियो। आमा गृहिणी हुनुहुन्थ्यो। आमाले मिठो पकाउनु हुन्थ्यो। धेरै चोटि म ईश्वरको घर पनि गएको थिएँ।
आमाले सधैँ भन्नुहुन्थ्यो, ‘यो ईश्वरलाई त म प्लस टु सकाउने बित्तिकै विदेश पठाउँछु, यहाँ बसेर केही हुने वाला छैन। साह्रै गाह्रो छ नानी नेपालमा। अंकल पनि बिरामी हुनुहुन्छ, आम्दानीको नाममा त्यही छोरीहरूको कमाइ मात्र हो।’
त्यही बेला अंकलले भित्रबाट ‘पठाइस् खुब, विदेश जान कति धेरै पैसा लाग्छ तँलाई के थाहा छ? भनेको जस्तो सजिलो छ र, छोराछोरी पठाउनै कति गाह्रो छ! मैले अलिअलि सकेको गरेको थिएँ र पो सजिलो भएको थियो। त्यो कामबाट घर फर्किँदा आन्दोलनमा गोली नलागेको भए मेरो दुवै खुट्टा जाने थिएन’ भन्दै भक्कानिँदै हुनुहुन्थ्यो।
त्यतिकैमा ईश्वरको आमाले भित्रबाटै भन्नुभयो, ‘पारिको खैरे बनको सानो खेत बेचेर भए नि पठाउँछु, यहाँ बसेर केही हुने वाला छैन, यत्रो गरेर पढायो भनेको जस्तो न रोजगार पाइन्छ न केही!’
यतिकैमा नभन्दै ईश्वरले प्लस टु सकेर मलाई छोडेर विदेश जाने निर्णय गर्यो। नेपालमै केही गर्नु पर्छ भन्ने ईश्वरको जोस जाँगर पनि घर र देशको अवस्थाले गर्दा मरिसकेको थियो। जाने बेलमा म आउँछु पर्खी बसे है भन्दै ईश्वर अमेरिका गयो। त्यसपछि बिस्तारै शोभा, रमेश, कमल, माया, उमेश कोही कतार, कोही अमेरिका, कोही जापान गए।
मेरो घरको पनि आर्थिक अवस्था त्यति धेरै मजबुत त होइन तर खान लाउन सजिलै पुगेकै थियो। फेरि म बाबा-ममीको एक्ली छोरी, मलाई विदेश जाने रहर पनि आएन। साथीहरूले जाऊँ नभनेका त मलाई पनि होइनन् तर म बाबाआमाको एक्ली छोरी, म गएपछि बाबा-ममीको के हालत होला भन्ने लागेर कहिले विदेश जाने कल्पना पनि गर्न सकेको थिइनँ।
बिस्तारै विदेश गएका साथीहरूले घरमा पैसा पठाउन थालिसकेका थिए। म भने यता ब्याचलर गदै थिएँ। जागिर त परै जाओस्, इन्टर्नको लागि पनि चिनेको मानिसको सिफारिस बिना नहुँदो रहेछ। मैले २/४ ठाउँमा बुझ्दा पनि कसैले खाली छ भन्नु भएन। पछि बाबाको एक जनाको साथीको ल फर्म रहेछ, त्यहाँ भनेर मलाई इन्टर्नको लागि काम दिनु भयो।
सुरुकै दिन मलाई ‘यहाँ तिमीले खाजा खान पाउँछ्यौ, अरू खर्च आफै म्यानेज गर्नु पर्छ’ भन्नु भएको थियो। उता साथीहरू महिनाको लाखौँ लाख पठाउँथे, म भने यता बुवा-ममीसँग गाडी भाडा माग्दै हिँड्नु पर्दथ्यो। एक वर्षपछि मेरो ब्याचलर पनि सकियो र लयर्सको लाइसेन्स पनि आयो तर भनेको जस्तो काम आएन।
महँगी बढेर आकाश छोइसकेको छ। बाबा आमा पनि बिस्तारै उमेर ढल्दै छ। मैले केही राम्रो काम त पक्कै गर्नुपर्दछ। ईश्वर पनि अचेल टाढा हुँदै गएको छ, फोनमा कुरा नगरेको पनि वर्षौँ भइसकेको छ। परार मेरो जन्मदिनमा फोन गरेपछि आजसम्म कुरा भएको छैन। उसले पटक पटक विदेश आउन आग्रह गर्दथ्यो, मैले मानिनँ। सायद त्यही भएर होला।
कहिलेकाहीँ उसको घरको बाटो हिँड्दा आमालाई बोलाएर हिँड्छु। उसले अहिले ठुलो बिल्डिङ घर बनाएको छ। दिदीहरूको पनि राम्रो कुल घरानमा विवाह भइसकेको छ रे भन्ने सुनेको थिएँ। बाबालाई पनि कृत्रिम खुट्टा राखिदिएको रहेछ, त्यसकै सहारामा बाहिर भित्र हिँडडुल गर्नु हुँदो रहेछ।
घरी घरी म पनि कल्पना गर्दछु, के मैले विदेश नगएर गलत गरेकै हो त?
न त राम्रो कमाउन सकेँ न आफ्नो माया नै पाउन सकेँ। यतिकैमा मेरो फोनको घण्टी बज्यो अनि म झल्याँस्स भएँ।
‘हेल्लो म्याम!’ आत्तिँदै उताबाट आवाज आयो।
‘के भयो? के भयो?’
‘म्याम! हाम्रो मुद्दा थियो नि त्यो लेनदेनको, त्यसमा त सेटिङ गरेको भएर होला हाम्रो तर्फबाट धेरै प्रमाण हुँदा हुँदै, हामीले राम्रो बहस गर्दा गर्दै पनि उसले नै जितेछ, बिचरा त्यो पीडित’ भन्दै फोनमा के-के बोल्दै थियो, त्यसपछिको वाक्य मैले सुनिनँ।
यो देशको प्रणाली, अवस्था देखेर थकित अनुहार लिई हरेक दिन म आफ्नो दैनिकीतिर लाग्न बाध्य छु।