नौ महिना भयो, बेखबर भएको। कुनै खबरै नगरी ऊ एक्कासि सम्पर्कविहीन भयो।
पहिलो महिना त पढाइमै व्यस्त भएर होला भनेर चित्त बुझाएकी थिई मीराले।
दिन, हप्ता महिना हुँदै आज नौ महिना बित्यो, तर केही खबर आएन। पछिल्ला आठ महिनाका कयौँ रातहरू बिना निद बिते मीराका।
रमेश सरकारी इन्जिनियर थियो| एउटा छात्रवृत्ति अन्तर्गत दुई वर्षको लागि मीरा र एघार वर्षको छोरो छाडेर नेदरल्यान्ड गएको थियो।
फर्कने दिन नजिकिँदै थियो, तर हरायो।
गाउँबाट ससुराले फोन गर्दा पनि 'अचेल छोरा पढाइले गर्दा अलिक ब्यस्त हुनुहुन्छ, फर्कने बेलामा सक्नु पर्ने काम थुप्रै छन् होला, त्यसैले मेरो पनि धेरै कुरा हुँदैन बुबा' भनेर ढाँटेकी थिएँ।
आफूलाई ढाँट्न त्यति सजिलो थिएन। आशा अचम्मको हुने, बिहान काग कराउँदा पनि खबरको आश लाग्थ्यो, कोही नयाँ मान्छे घरको बाटो हिँड्दा पनि आश लाग्थ्यो, कसैले ढोका ढक्ढकाए भने कतै सर्प्राइज दिन रमेश आइपुग्यो कि भन्ने लाग्थ्यो मीरालाई।
काठमाडौंको चिसो पुसको एक झिसमिसे कठ्याङ्ग्रिँदो बिहान, बल्ल बल्ल यस्सो आँखा झकाएका मात्र थिएँ, मीराको ढोका कसैले ढक्ढकायो। हतारिएर ढोका खोली मीराले, आफूले आफ्नै आँखालाई विश्वास गर्न सकिन। ढोकामा मिर्जा ठिङ उभिएको थियो। एकपटक आफूले आफैलाई चिमोटेर हेरी। उसका मुखबाट कुनै शब्द निस्किएन। दुबै आमनेसामने उभिएर हेरिरहे।
१२ वर्ष अघिको भेट उनीहरूको अन्तिम भेट थियो। आज एक्कासि दैलो ठेलोमै मिर्जालाई यसरी देख्दा मीराले विश्वास गर्न सकेकी थिइन। मीराले आफूलाई बल्लतल्ल सम्हालेर सोधी।
'यसबेला कताबाट आयौ?'
'खै कताबाट भनुँ, भाग्यले डोर्यायो।'
'किन आयौ?'
'जिम्मेवारीले'
'उसो भने किन गयौ?'
'तिम्रो मायाले'
मिर्जाको अनुहार अलिक नियालेर हेरी मीराले। फुस्रुङ परेको अनुहार, आँखा वरिपरिको छाला चाउरी देखिने, बाक्लो कालो कपाल पनि पातलो भएको।
'अलिक बुढो भएछौ।'
'होला, ऐना हेरेको छैन।'
'कपाल पनि झरेछ।'
'हो नुहाउँदा थाहा पाउँथेँ।'
'बिहे गर्यौ?'
'फेरि अर्को गरिनँ।'
मिर्जाका मुखबाट निस्केका प्रत्येक शब्द मीराको मुटुमा सिधै तीर बनेर छिरेका थिए। सम्जुरको डाँडामा सँगै हुर्किए, बढे। एउटै स्कुल, एउटै गाउँ, एउटै चौतारो, एउटै गल्ली, एउटै गोरेटो थियो मिर्जा र मीराको। प्रेम के हो, माया के हो भन्ने थाहा नपाउँदै मिर्जा र मीरा एक आपसमा नजिक हुँदै गए। चौतारीमा धुलो खेल्दा सुरू भएको उनीहरूको प्रेम १२ वर्षअघि टुंगिएको थियो।
दुबै पृथ्वीनारायण क्याम्पसमा पढ्थे। उपाध्याय र जैशी बीचमा बिहेवारी चलाउन त विद्रोह गर्नुपर्ने समाजमा एउटा उपाध्याय बाहुनकी छोरी र मुसलमानको छोरा बीचको बिहे सम्भव थिएन, जत्रो सुकै विद्रोह किन नहोस्। धर्मका कारण छुट्टिनु परेको थियो उनीहरू। प्रेम टुटाउने धर्ममाथि उनीहरूको विश्वास रहेन। आ-आफ्नो धर्ममाथि घृणा जागेर आयो। हुने भए, मिल्ने भए, दुबैले आफ्नो शरीरभित्र रहेको आफ्नो धर्मको नामको रगत रित्याएर अर्को एउटै 'प्रेम धर्म' नामको रगतले शरीर भर्थे होलान्। समाज र परिवारको अगाडि उनीहरूको प्रेम निरीह भयो।
धर्म, समाज र परिवारको इज्जतसँग आफ्नो प्रेम साट्न बाध्य भए।
छुट्टिनु अघिल्लो दिन मिर्जा र मीरा पृथ्वीनारायण क्याम्पस भित्रको भिम ढुंगाको छेउमा एक अर्कालाई अंगालो हालेर घन्टौं रोए। छुट्टिने बेला मिर्जाले मीराको हात समाउँदै सोध्यो- 'तिम्रो केही अन्तिम इच्छा छ मीरा जुन मैले पूरा गर्न सकूँ?'
मीराले आँसु पुच्छदै भनी- 'म हाम्रो प्रेम सार्थक बनाउन चाहन्छु मिर्जा। एकै दिनको लागि भए पनि म तिम्रो लागि जन्मिन चाहन्छु, तिम्रो बन्न चाहन्छु। मलाई एकैछिनको लागि भए पनि तिम्रो श्रीमती बनाऊ मिर्जा। यो हाम्रो प्रेमकथा पूर्ण बनाऊ। हामी दुई जनाका लागि मात्र भए पनि।'
मिर्जा चुपचाप बस्यो, मीरालाई क्याम्पसको गेटमा कुराएर गयो, आधा घन्टामा एउटा ट्याक्सी लिएर आयो।
लेकसाइडको एउटा होटलको माथिल्लो तल्लाको कोठा, दुबै जना फेवातालतिर फर्किएर झ्यालमा उभिएका थिए। एक अर्कालाई हेरेर बोल्न सकेका थिएनन्। एकछिनमा मीराले साहस जुटाएर कपडा खोली र भनी 'मिर्जा म तिम्रो लागि निर्वस्त्र पुनर्जन्म लिएकी छु, मलाई अब आफ्नो बनाऊ'।
मिर्जाले आफ्नो प्यान्टको गोजीबाट अघि बगरमा किनेको सिन्दुरको बट्टा निकालेर टेबलमा राख्यो, निर्वस्त्र भयो| सिन्दुरको बट्टा लिएर मीराको नजिकै गयो।
'तिमी तयार छौ मीरा? यो निर्णयसँग खुसी त छौ नि?' मीराले सहमति जनाई र शिर थोरै झुकाई। एक चिम्टी सिन्दुर दाहिने हातको माझी औँला र बुढी औँलाले च्यापेर मीराको सिउँदो भरिदियो। बाँकी रहेको सिन्दुर र बट्टा मीराको हातमा राखिदियो। भोलिपल्ट बिहानै सिन्दुरको बट्टा चिनो र सम्झना अनि मीरालाई एक्लै छाडेर मिर्जा होटलबाट निस्कियो। त्यस दिनदेखि मिर्जाकोबारे कहीँ कसैलाई केही थाहा भएन। कतिले मिर्जा विद्रोहमा लागेर मर्यो भने, कतिले मिर्जाले आत्महत्या गर्यो भने, कतिले के भने, तर मिर्जा हरायो।
त्यसको एक हप्तामा मीरा र रमेशको धार्मिक परम्परा अनुसार बिहे भयो। मीरा सधैं मिर्जालाई अनुभूति गर्न चाहन्थी। बिहेको दिनमा पनि सिन्दुर हाल्ने बित्तिकै ट्वाइलेट जाने निउँमा भित्र गएर मिर्जाले दिएको सिन्दुर लगाएकी थिई। त्यसपछिका प्रत्येक सिन्दुरका बट्टामा उसले अलि कति त्यो सिन्दुर मिसाउने गर्थी।
सुरू सुरूका दिन र रातहरू मिर्जाको यादमा साह्रै कष्टकर भए। जब मिर्जा बेपत्ता भयो भन्ने पक्का भयो, मनभित्र नचाहँदा नचाहँदै पनि कैद भएर बसेको झिनो आशाको दियो निभ्न पुग्यो। अरू विकल्प रहेन, रमेशमा नै मिर्जा अनुभूति गर्ने प्रयत्नमा लागि मीरा, मृगतृष्णा भए पनि। रमेशले छुँदा होस्, नजिक हुँदा होस् वा सँगै हुँदा होस्, मीरा आँखा बन्द गर्थी र मिर्जाको कल्पना गर्थी। उसलाई महसुस गर्न खोज्थी। भावना, चाहना, विश्वास र अनुभूतिको साङ्लो गज्जबको हुने रहेछ। एउटाको चरम उत्कर्षमा अर्को भेट्ने। मानिसहरू किन ढुंगामा देवता देखेको कुरा गर्छन् भन्ने कुरो बल्ल बुझी मीराले।
उसले पनि बिस्तारै रमेशमा मिर्जा देख्न थाली। दिनहरू क्रमश: अलिक सहज भन्न थाले। बिहे भएको नौ महिनामै छोरा रन्जित जन्मियो। यी सब घटना, भोगाइ, अनुभव र भावनाहरू मीराको मस्तिष्कमा चलचित्रको पर्दामा झै सलल बगिरहे।
धेरैबेरको मौनतलाई तोड्दै मिर्जाले सोध्यो।
'तिमीलाई कस्तो छ?'
मीरा झस्की।
'छोरा खै?'
'सुतिरहेको छ।'
'नाम के हो?'
'रन्जित'
'राम्रो नाम रहेछ।'
यति भन्दै मिर्जाले आफ्नो झोलाबाट एउटा खाम निकालेर दियो, खोलेर हेरी, चिठी रहेछ।
'प्रिय मीरा,
म एकदम ठिक छु, पीर नगर। तिमीले यो चिठी पढ्दा मिर्जा तिम्रो छेउ हुनेछन्। यो चिठी तिमीले पढिसकेपछि मिर्जालाई देऊ। बिन्ती छ मैले मिर्जालाई कसरी, कहाँ, र कहिले भेटेँ भनेर कृपया कहिल्यै उसलाई नसोध। मैले कुनै गल्ती गरेको भए सुरूमै माफी देऊ ल।
म नेदरल्यान्ड आएपछि एकदम एक्लो महसुस गरेँ, तिम्रो र छोराको यादमा। पढाइ नसकि फर्कन पनि धेरै पटक कोसिस गरेँ सुरू सुरूमा। बिस्तारै एउटा 'आना' भन्ने केटी मेरो साथी बनी। आना मलाई अत्ति माया गर्थी र अझै गर्छे। मैले उसलाई सधैं साथीको रूपमा मात्र हेरेको थिएँ। किन हो मेरो व्यक्तित्व र व्यवहारबाट साह्रै प्रभावित थिई आना। उसले एउटा सपना र चाहना सुनाई मलाई; म उसको बच्चाको बाबु बनूँ। मैले तिमीलाई सम्झेँ, छोरालाई सम्झेँ। ऊसँग शारीरिक सम्पर्क गर्नलाई सहजै इन्कार गरेँ। मैले गल्ती गरिनँ मीरा। तर उसले 'साथीकै रूपमा भए पनि वीर्य दान गर, म एक सन्तानको सपना देखेकी छु, जुन तिमी जस्तै होस्' भन्न थाली।
म उसको अनुनयको अगाडि कठोर बन्न सकिनँ। वीर्यदान गरेँ। तर, ममाथि एउटा ठूलो बज्रपात पर्यो, जब हस्पिटलले मबाट सन्तान हुँदैन भन्ने रिपोर्ट दियो। त्यसपछि म सम्पर्कविहीन भएँ, म भ्रममा बाँच्न सक्दिनँ मीरा। तिमीलाई दोष पनि दिन्नँ म | नियति नै यस्तो थियो। आफ्नो आफ्नो भोगको चलन गर्यौं हामीले। तिमी जति मेरी थियौ, त्यत्ति पाएँ, रन्जीत जति मेरो थियो, त्यत्ति पाएँ। त्यसको लागि धन्यवाद। विगतका आठ नौ महिना मैले मिर्जालाई खोज्न बिताएँ। तिमी र रन्जीत मिर्जाका नासो थियौ। आज यही चिठीमार्फत् उसको नासो उसैलाई फर्काउदै छु। मिर्जा एकदम असल छ। तिम्रो निम्ति उसको बलिदान, त्याग र तपस्या कुनै पनि प्रेमकथाको उदाहरण बन्दछ मीरा। अन्तिम बिन्ती मेरो- मबारे अब चिन्ता नगर्नू, खोजी नगर्नू, म जे छु, जहाँ छु, जसरी छु म ठिक छु, शान्तिमा छु। तिमी खुसु रहनू, सुखी रहनू।
भलो चिताउने-
उही रमेश।'
चिसो सिरोटे झन् जोडले चल्दै थियो। चिट्चिट पसिना आयो, पैताला मुनिको जमिन भासिएझैं भयो। मीराले आफूलाई धान्न सकिन, हात खुट्टा लगलग काँप्न थाले, हातले चिठी समाल्न सकिनँ। सिरेटोको एक झोकासँगै उडेर बाक्लो हुस्सुमा बिलायो।