मान्छे भित्रको अर्को मान्छे छ
जुन शुद्धताको आभासद्वारा
निर्माण गर्छ पर्खाल
तब तयार हुन्छ सुरक्षित छानो
आत्मसम्मान अनि स्वधर्मको!
तर केही खालको मान्छे
अर्कोलाई उचाइमा
पुग्न नदिन लगाउँछ ठुलो मेहनत गरेर
स्वतन्त्र आकाश चियाउन नदिन
स्व-अस्तित्वमा जिउन नदिन
बनाइदिन्छ अरूमै केन्द्रित रहेर
अदृश्य तर कुकर्म र हिंसा अनि
विभेदको विकराल पर्खाल
र कलिलो एवम् निरीह मस्तिष्कमा
रोपिदिन्छ डर, त्रासका अनगिन्ती
प्रहारका दागहरू!
कुकृत्यलाई छोप्न
अर्कोको सपना तोड्न
कुसंस्कार र विभेदका घाउहरू
सहन लगाइन्छन्
मृत्यु शय्यामै पुगेर भए पनि
कर्तव्य नामका जटिल मोडहरूमा
एक्लै लरबराएर लडेको हेर्न लालायित हुन्छन्
एक थान नजिकको बनेर
आएका काला डरलाग्दा
सम्बन्ध नामका पर्खालहरू
उभिन्छन् कालो छाया बनेर
जहाँबाट हेर्न सकिन्न
चम्किलो सूर्य,
सप्तरंगी इन्द्रेणी,
बतासको सुस्तता,
धर्तीको सुरम्यता,
हिम शिखरका उचाइ
र सपनाका मिठा आभाहरू
लुकाउन लगाइन्छन् हरदम
हरबखत
दासत्वले भरिएको कालो पर्खालभित्र।।
तर एक दिन पर्खालको एउटा इट्टा
पुरानो भएर झर्न आँटेको हुन्छ
अर्को तिर पुरानो तर निर्मम भित्ता चिरिन्छ
दम्भको आवृत्तिबाट
चुँडिन्छ
अहंकारको लट्टाइबाट
तब बल्ल चियाउन थाल्छ
सूर्यको किरण चम्किलो रंग लिएर
दासत्वले जकडिएको अँध्यारो पर्खालभित्र
जहाँ जुन र घामको लहर
केही पनि पुग्न सक्दैनथ्यो
पसिना, श्रम र सुस्तता अर्पणद्वारा
निर्मित वेदनाको घना जलाशयमा
नाइकेहरू नाच्दथे, गाउँदथे
र बेला बेला बेढंगको
बाजा बजाउँदथे
त्यहाँ नाइकेहरू जे भन्दथे र
बुझ्दथे
त्यही मात्र ठिक हुन्थ्यो
त्यहाँ दुष्कर्मको बाजाले
सत्य भएर पनि निर्बलताको
धज्जी उडाउँथ्यो।
एक दिन दम्भको पर्खालको
विशाल छातीबाट एउटा मात्र
टुक्राले भुइँ छुन पुग्यो
र जून तारा सौर्य एवम्
प्रकृतिको स्वच्छ बहाव पर्खालभित्र
प्रवेश गरेपश्चात्
निरीह धर्तीको अँध्यारोमा हराएको
बीजले आफू जगतमा उदाउने
तरखर गर्दै गरेको हुन्छ
हो त्यही दिन
लाग्न थाल्छ
मान्छे र पर्खाल दुवै
मान्छेको मनभित्र छन्
सत्कर्मले निर्मित पर्खालले
अरूको हृदय, भावना र अस्तित्वको पूजा गर्छ
कलुषित चेतनाद्वारा
निर्मित पर्खालले
अन्यको स्वतन्त्रताको चीरहरण
गर्छ
निर्ममताको बलियो पर्खालले
भत्किएर सत्यको ज्योति
चियाउन पनि
धेरै वसन्त पार गर्नुपर्छ,
निर्बल भनिएको कै पदचाप
ग्रहण गर्नुपर्ने हुन सक्छ।