आकाशमा जून हेरेर
आजकल ऊ टोलाउने गर्छ
सायद कसैलाई सम्झन्छ उसले
जून जस्तै सुन्दर मान्छे गुमाएकोमा
वा
जून जस्तै ऊसँग टाढा भएकोमा टोलाएको हो
थाहा छैन
एकान्तमा गीत गुनगुनाउँदै बस्छ
एकोहोरो टोलाउँदै बस्छ
यो बाटोमा को ओहोरदोहोर गर्छन् थाहा पाउँदैन
तर यो पक्का थाहा पाउँछ
यो बाटो जो हिँडे पनि
उसलाई उसकै प्रेम हिँडेझैँ लाग्छ
बेलुकी सबेरै पल्टन्छ बेडमा
निदाउन धेरै प्रयास गर्छ
धेरै पटक लामो श्वास फेर्छ
र
फेरि सम्झन्छ
उहीँ पुरानो प्रेम
निद्रा नलागेपछि हातमा फेरि मोबाइल समात्छ
र हेर्छ
पुराना उसका तस्बिरहरू
रानीपोखरी नजिकै आकाशे पुलमा
ऊसँग खिचेको फोटो हेर्छ
घण्टाघरको दायाँतर्फ
ऊसँग कफी खाँदै गरेको फोटो हेर्छ
एक पटक मुसुक्क हाँस्छ
फेरि नारायणहिटीको गेटमा
ऊ मात्र सिङ्गल अडिएको पोट्रेट फोटो हेर्छ
उसलाई खासै मन परेन यो फोटो
जहाँ ऊ एक्लै उभिएकी छ
फेरि स्क्रोल गर्छ
मोबाइल ग्यालरीको फोटो
दरबारमार्गमा बोता म: म खादै गरेको दूबैको सेल्फी हेर्छ
त्रिसरामा नाचेको सानो भिडियो क्लिप हेर्छ
यत्तिकैमा मोबाइलमा नोटिफिकेसन आउँछ
उसलाई कता कता लाग्छ
उसैको म्यासेज आयो कि?
स्क्रिन डाउन स्क्रोल गर्दै हेर्छ
नोटिफिकेसन हाम्रो पात्रोको रहेछ
सम्झन्छ
धन्न एनसेलको लोन
हाम्रो पात्रोको नोटिफिकेसन
नेपाली सेयरको न्युज
यस्तै यस्तै छन्
जो बेलाबेलामा मलाई सम्झन्छन्
झ्यालबाट बाहिर हेर्छ
एउटा चुरोट सल्काउँदै तान्न थाल्छ
कुनै दिन बानेश्वरको क्याफेमा
उसले मलाई छोड या यो चुरोट भनेको सम्झन्छ
उसले चुरोट छोडेको समय गन्न थाल्छ
गन्न थाल्छ उसले उसैलाई छाडेको समय
झन्डै दुई महिनाको समय मिल्दैन
टेबलबाट पानीको बोतल उचाल्छ र मुख नजिक के लगेको हुन्छ
उसका आँखा जान्छन्
नगरकोटमा दुई जनाको सेल्फी खिचिएको
फोटो प्रिन्ट गरेको कप
मुसार्छ उसको अनुहारभरि
र
छाम्छ आफ्नो छाती
दुई दुवैमा उस्तै महसुस गर्छ
छातीमा पनि उस्तै रहिछे मोरी भन्दै मुसुक्क मुस्कुराउँछ
फेरि फेसबुक खोल्छ
उसको नाम टाइप गर्दै उसको प्रोफाइल खोल्छ
स्वयम्भूमा खिचिएको पुरानो दुई जनाको फोटो भेट्छ
फेरि मुस्कुराउँछ
स्क्रिन ब्याक गर्छ
टिकटक खोल्छ
सर्चमा जाँदै उहीँ नाम लेख्छ
र खोल्छ उसैको भिडियो
अब हरेक भिडियोमा लाइक गर्छ
लभ सहितको इमोजी कमेन्ट गर्छ
उसको मनमा कमेन्टको लागि फुरिरहेको हुन्छ लाइन
‘यो भिडियोमा तिमी एक्लै पटक्कै सुहाएको छैन,
कता कता म खोजिरहेको छ’
तर आट आउँदैन कमेन्ट लेख्न
र फेरि पनि लभसहितको स्माइल इमोजी पठाउँछ
यसै गरी उसको रात बित्छ उज्यालो हुन्छ
दिन उज्यालो भए पनि
कता कता मुहारको उज्यालोमा
बादलले छेकोको सूर्यको किरण जस्तै मधुरो हुन्छ
र पनि नुहाई धुवाई गर्छ
एक खिल्ली चुरोट ओठमा च्याप्दै
दाहिने हातले दूध चियाको कप समाउँछ
र भन्छ-
यत्तिका वर्ष तिमी टाढिँदा पनि हराउन नसकेको तिमीलाई दिने प्रेम
तिमीलाई गर्ने याद
जो कोही सुन्दर युवतीलाई तिमीजस्तै देख्ने यी आँखा
सबै एक पटक होहल्ला गरेर बसे हिजोको रात
मलाई निदाउन दिएनन्
तिमी र म एक बोतल वाइन खाएर
हल्ला गर्दै
तिम्रै साथीको कुरा काट्दै बसे जस्तै
हिजो मेरो मन, मेरा याद, मेरो प्रेम र मेरा आँखाहरूले
तिमीलाई निकै कुरे
तिमी नआएपछि तिम्रै कुरा काट्दै बसेँ रातभर
डियर प्रेम
तिमी जहाँ छौ खुब मज्जाले निदाउनु है
निद्रा नलागेपछि फेरि एक पटक
आफैले माया गरेको ऊसँग भेट्न नसकिने रहिछ।