मान्छे मेटिन्छ त्यसरी नै
जसरी नदीका छालले मेटिन्छन्
बगरका छातीमा बसेका
कुनै प्रेमीका पाइलाका डोब
एक दिन ऊ हराउनेछ यो आकाशबाट
र विलीन हुनेछ यो हावामा
उसलाई देख्न सक्नेछ केवल यो हावाले
यो प्रकृतिले या ऊ स्वयम् आफैले।
सायद ऊ गएको केही दिन
सन्नाटा छाउनेछ घरमा
निराश हुनेछन् ऊसँग घण्टौँ बात मार्ने
ती कोठाका भित्ताहरू
निराश हुनेछन् उसले अङ्गालेका
केही थान डायरीहरू
बिस्तारै बिस्तारै ऊ हराउँदै जानेछ
सम्झिनेहरूका स्मृतिबाट
त्यसपछि सम्झिइनेछ ऊ
यो धर्तीले उसलाई
टीका लगाएर कफन ओढाएको दिनमा मात्र।
जब जान्नेछ यो सब उसले
फेरि लिनेछ जन्म आँसु बनी बारम्बार
आमाको आँखामा
र बिलाउनेछ खुसी भई
आफ्नै जन्मँदाको पहिलो स्थान
आमाकै काखमा।
ऊ पनि पक्कै सोच्ने गर्छ होला
म गएको दिनबाट मलाई सबैभन्दा बढी
कसले याद गरे होलान्?
के म नभएरै पनि भएको महसुस गर्ने
गर्छन् त कसैले?
सायद पक्कै गर्दैनन् कोही
म तबसम्म जिउँदो थिएँ
जबसम्म चितामा आगो लाग्नु बाँकी थियो
जब लाग्यो आगो म उडेँ धुवाँ बनेर यो आकाशमा
हराएँ कसैले नदेख्ने गरी
र मिसिए बादलसँगै बादल बनी
हावासँगै हावा बनी
म नदेखिने भएर हो मलाई कसैले नसम्झिएका
देखिइने बेलासम्म त म सबैको प्रिय थिएँ।
त्यस्तै,
ऊ सम्झिइनेछ तबसम्म जबसम्म ऊ टाँगिनेछ
एक किलाको आड लिई भित्तामा
ऊ सम्झिइनेछ तबसम्म जबसम्म
उड्ने छैन साहुको बहीखातामा कोरिएको उसको नाम
तबसम्म जबसम्म ऊ लेखिइनेछ
फलानोको छोरो भनी कुनै सुक्खा पानामा
ऊ सम्झिइनेछ तिहारमा दिदीले
फूलका गुच्छा बुनेको दिन
ऊ सम्झिइनेछ हरेक रात तबसम्म
जबसम्म आमाका आँखाले
भित्ताको टाँगिएको तस्बिर देख्न सक्नेछन्
यस्तै यस्तै सम्झिइनेछ ऊ कहीँ कतै
धुन्धलिँदै जानेछ बिस्तारै बिस्तारै र
मेटिइनेछ एक दिन सबैका स्मृतिहरूबाट
जसरी मेटिइनुपर्छ एक खुट्टाको डोबले बगरबाट।