देश मेरो
सम्पन्न भएपछि
आँखामा आँखा जुधाएरै
बात हुनेछ मोदी जी
उपरखुट्टी लगाएरै छलफल
मुलाकात हुनेछ पिङ जी
ट्यारिफ तिमी हैन हामी
तोक्ने छौ ट्रम्प जी
भिटो कसरी लगाउने त्यो
हामी सिकाउने छौ पुटिन जी।
देश मेरो
सम्पन्न भएपछि...
हाम्रा लडाकु विमानहरूका गर्जनले
आकाश आक्रान्त थर्किने छ
हाम्रा ब्रह्मास्त्रहरूका शक्तिले
संसार लगलग काम्नेछ भय ले
तर,
रामका आदर्शले
बुद्धका पञ्चशीलले
कृष्णका गीता ज्ञानले
भो भैगो
जति झोक चलेता पनि
हामी हाम्रो महाशक्ति हैन
दया, माया, करुणा फैलाउने छौँ
नेपाली परोपकारी पुण्य संस्था
युरोप अमेरिका अस्ट्रेलिया
संसारभरि नै चलाउने छौ।
देश मेरो
सम्पन्न भएपछि...
हाम्रो भाषा सिक्न त्यहाँ
यहाँको बागबजार जस्तै
टाइगर मार्केट हुनेछ
हाम्रो विश्वविद्यालय भर्ना हुन
कन्सल्टेन्सी नै कन्सल्टेन्सी भएको
हाम्रो पुतलीसडक जस्तै
त्यहाँ बटरफ्लाई रोड हुनेछ
बिदेसी कामदारहरूको नेपालमा
संरक्षण र हितका खातिर
बजेट करोडौँ करोड हुनेछ।
देश मेरो
सम्पन्न भएपछि...
तिमी आऊ घुम जाऊ
भिसा रिजेक्सन कहिल्यै हुने नै छैन
सबको शरण बलियो नेपालमा
आप्रवासी कोही रुने नै छैन
नेपाल-एड को ऋण र अनुदान
सहयोगमा कुनै कमी हुने नै छैन।
देश मेरो
सम्पन्न भएपछि।