सोच उस्तै, बानी उस्तै, चाह उस्तै, भाव उस्तै
उस्तै तिनका दिनहरू अनि उस्तै घडीका सुइँहरू..
समय बदलियो, समाज बदलियो
उसले लगाउने लुगा बदलियो
उसका ससाना हातहरू हलक्क बढे
तर उसले सोच्ने तौरतरिका उस्तै छ
जीवनशैली उस्तै छ
फरक भयो त केवल उसलाई हेर्ने नजर।
अरुणको मन भक्कानिन्छ, जब कसैले उसलाई सुस्त भन्छन्। चुस्त शरीर, बलिष्ठ पाखुरा अनि चुलबुले बाल किशोरीको मुहारमा निर्दोष जादु छ। तर अरुणलाई उसमाथि लगाइएका उपमाहरूमा विश्वासै लाग्दैन।
उसका साथीहरू ऊसँग खेल्न मान्दैनन्। उसले खेल्ने ढङ्ग अलगै छ, खेलाइको रङ अलगै छ। उसको खेल्ने तौरतरिका अरूले बुझ्दैन अनि अरूले खेल्ने तरिका उसले बुझ्दैन।
ऊ घुमिरहन्छे, डुलिरहन्छे, आफ्नै सुरमा।
कहिले ऊ हाँस्छे, त कहिले ऊ रुन्छे, आफ्नै धुनमा।
बोल्छे केही शब्द, आफ्नै मुडमा।
उसको त्यो विशेष क्षमता न विद्यालयले चिन्छ, न समाजले। विद्यालयका गुरुहरू उसलाई सजिलै सिकाउने आँट गर्दैनन्। आफन्त र घर परिवारमा उसलाई हेर्ने सोच अलग छ। ऊसँग तिनीहरूले गर्ने व्यवहार अलग छ।
‘म आफैँ पनि उसलाई भिन्न व्यवहार गर्छु। कारण मैले उसलाई चिन्न सकेकै छैन। म आफैँले त चिन्न सकेको छैन भने मैले अरूबाट चिनोस् भनेर अपेक्षा गर्नु कति जायज हुन्छ?’ अरुण बरबराउँछन्।
चौरमा अन्य बच्चाहरू दौडिरहेको देख्दा अरुणको आँखामा जुनु नै दौडिरहे जस्तो लाग्छ। स-साना भाइ-बहिनीहरूले जानी नजानी कखरा पढिरहँदा उनलाई जुनुकै याद आउँछ।
उनी भन्न सक्दैनन्, किन जुनु अरूभन्दा अलग छे? ऊ अलग छे या विशेष भन्न सकिरहेको छैन।
उसलाई दुनियाँको कुटिल चाल थाहा छैन। अरूसँग कसरी बोल्ने, कसरी व्यवहार गर्ने थाहै छैन। अरूको मनोभावना बुझ्ने कला किन-किन विकास भएकै छैन। उसलाई को नजिक र को पराई भन्ने पनि थाहा छैन।
हरेक बिहान मानिसहरू नयाँ सपना बुन्छन्। जुनु चाहिँ बिछ्यौनाको सपनामै भुलेकी हुन्छे। उसकी बहिनीहरू ए बि सि डि लेख्दै गर्दा ऊ आफैँभित्र हराएकी हुन्छे। अरूले नबुझ्ने शब्दहरूमा आफैँभित्र कराएकी हुन्छे।
जब ऊ ब्युँझिन्छ, उसलाई हरेक बिहान नौलो लाग्छ। आफ्नै भाइ-बहिनी, आम- बुबा, हजुरआमा र हजुरबुबा नौला लाग्छन्। आफ्नै घर-आँगन नौला लाग्छन्। सुस्तरी बिस्तराबाट तल झर्न नपाई अरुण उसको मुखमा औषधीको गोली कोचिदिन्छन्। जुनुलाई औषधीका गोलीहरू पनि चकलेट जस्तै लाग्छ र सजिलै निलिहाल्छे।
उसकी आमालाई गृहकार्य सकाउनुपर्ने पिरलो लाग्छ। तर जुनुलाई गृहकार्य के हो र किन गर्नुपर्छ भन्ने पनि थाहा छैन। खाना खाइसकेपछि विद्यालय पुर्याउने तरखर सुरु हुन्छ, तर उसलाई किन विद्यालय पोसाक लगाउँदै छु पनि थाहा छैन। हप्तामा कहिलेकाहीँ उसकी आमा थेरापीको लागि पनि तत्पर रहन्छिन्। तर खोइ किन हो किन जुनुलाई नुनु गर्न मात्र मन लाग्छ।
चिकित्सकहरूलाई जुनुको नाम कण्ठ छ तर तिनका औषधीले जुनुलाई छुँदैन। मुन्धुमकी सुम्निमाजस्ती जुनु जूनजस्तै हँसिली र रसिली छिन्। तर त्यो हँसिलो मुहारमा लागेको ग्रहण न उसले बुझ्छ, न म नै बुझ्छु। म जुनुलाई बुझ्न असफल भइसकेको छु।
त्यो दिन जुनु नयाँ लुगामा सजिएकी थिई। विद्यालयमा अक्षराम्हको लागि भर्ना भएकी थिई। चुलबुले जुनुलाई विद्यालयमा जान मन पर्थ्यो। घरबाट सय मिटरको दूरीमा पैदल गर्दै आमासँग विद्यालय पुग्थी। अरुण पनि आफ्नै काममा व्यस्त थिए। साँझको समय अरुण घर पुग्दै गर्दा जुनुको मुहार मलिन थियो। ऊ बिस्तरामा पल्टिएकी थिई। हजुरआमा कपडाको टालो भिजाएर निधारमा राख्दै हुनुहुन्थ्यो।
पछि थाहा भयो, जुनुलाई ज्वरो आएको रहेछ। सिटामोल खुवाउँदै गर्दा अलि सन्चो भएको भान भयो। केही बेरमा जुनुले बान्ता पनि गर्न थालिन्। बिस्तरा पनि भिजेको रहेछ। पखाला पनि लागेको रहेछ। उसका आँखाहरू माथि फर्किएका थिए। मुख बाङ्गो थियो। बाउँडिएका उसका हातहरू लट्ठी झैँ कडा थिए। अरुण झसङ्ग भए। यस्तो त कहिल्यै भएको थिएन।
जीवनजल खुवाइयो। पखाला पनि कम भयो। सिटामोलको सहाराले ज्वरो पनि कम भयो। खोइ के भएको हो बुझ्नै सकिएन। अक्षता पनि पन्छाइयो, देवी देवता पनि भाकियो। अहिले सम्झिँदा पछुतो लाग्छ, बेलैमा उपचार पाएको भए जुनु सायद निको हुन्थी। तर जुनुले त बोल्नै सकिनन्। कमजोरीले हो कि भनी अस्पताल त लगियो। तर बोली फर्कँदै फर्केन।
आत्तिएको मनले राम्रो अस्पताल पनि लगियो। बल्ल थाहा भयो, छारे रोग पो लागेको रहेछ। औषधी त थालियो तर औषधीले कामै गरेन। खोइ किन हो किन, औषधी खाइरहेकी त छिन् तर किन खाइरहेकी छिन्, आफैँलाई थाहा छैन। अरुण आफैँभित्र हराउँछन्।
एक दिन परबाटै जुनुले अरुणलाई देखी र हात हल्लाउँदै चिच्याइन्, ‘बाबा म पनि जाने।’
अरुणको मोटरसाइकल देख्ने बित्तिकै हर्षले जुनु दगुर्दै आइन्। अरुण हेरेको हेर्यै भए। किनकि जुनु हिजो पनि उस्तै, आज पनि उस्तै। अटिजम त होइन तर अटिस्टिक चाहिँ पक्कै छिन्। अरुण भाव विह्वल भए।
आज उनले पहिलो पटक महसुस गरे,
जुनु अलग होइन, ऊ केवल उस्तै हो।
त्यस्तै अपरिभाषित, विशिष्ट, मौन गीत जस्ती,
सुनिन्न तर गहिरो।
उनी सोच्छन्, अटिजम होइन होला तर अटिस्टिक पक्कै छे। तर त्यो अभाव होइन, मात्र संसारको अर्कै द्वार हो। जुन मैले ढिलै भए पनि टेक्न थालेको छु।
अरुण भावनामा बगिरहँदा जुनु मोटरसाइकलको पछाडि चढ्छे र बाबाको कम्मर समाउँदै बिस्तारै आफ्नो दुनियाँमा तान्छे। जुनुको न्यानो स्पर्शले अरुणको मुहारमा मुस्कान फिँजिन्छ। उनी फिस्स हाँस्छन्।
पहिलो पटक डर नभई आत्मीयताको आँसुमा।
किनकि उनले जुनुलाई बुझ्ने सुरुवात गरेका छन्। बुझ्न त अरू धेरै बाँकी नै छ तर सुरुवात भइसकेको छ— उज्यालोको एक झिल्को।