उजेली घरमा छैन
उज्याला सपना देख्दै
अँध्यारो मुख लगाउँदै घर छाडेकी ऊ
कतै मुगलान पसेकी छ
ठुलठुला बत्तीमुनि आफ्नै छाया खोज्दा खोज्दै
रुमल्लिएकी ऊ
उसले देखेका उज्याला सपना कहिले भेटाउली?
चिल्ला फराकिला पिच रोडले
उसको पैताला बिझाइरहेको छ
ठुला-ठुला बिजनेस अपोइन्टमेन्टले उसको आँखा खाइरहेको छ
नजर र दृष्टि छोटो बनाएको छ।
त्यहाँ बग्ने खोलाहरूको पानी उसलाई पानी लाग्दैन
पसिना हो भन्छे
उसलाई खै किन हो नयाँ लुगाको रहर छैन
मरेपछि कम्तीमा लासले त नयाँ कात्रो पाउला नि भन्छे
सहरको कोलाहल उसलाई
आफ्ना लागि कसैले आफ्नो आवाज उठाइदिएको हो भन्ने लाग्छ
सहर उसलाई हर कोहीको लागि होइन भन्ने थाहा पाउँदै छे
उता उजेली कहिले आउँछे
र
मेरो मुहार उज्यालो बनाउँछे भनेर
थोत्रो घरले माकुराको जालो ओढेर बसेको छ
उजेलीका बा-आमाका आँखा
उजेलीलाई नदेखे देखिनै हो मधुरा हुन थालेका
उजेली पनि पहिले खुब चिच्याउँथी देश बनाउँछु
युवाहरू जुट्नुपर्छ देश बनाउन भन्दै
तर आजभोलि उजेलीका उज्याला सपनाहरू
मधुरा भइसकेका छन्
न उसलाई अब देश बन्ला भन्ने छ
न सम्पन्नताको लोभ नै
उसलाई त अब मात्र चिन्ता एक गाँस अन्नको छ
सायद उसले आफ्नै घर फिर्ने बाटो बिर्सिसकेकी छ
देश खै कसरी चिन्छे होला?
विश्वसामु देश चिनाउँछु भन्दै हिँड्नेहरू
खै किन हो
देशकै नागरिकबाट
देश भुल्ने जटिल समस्याको समाधान खोज्न सकेका छैनन्।
उजेली घरमा छैन
घर उज्यालो छैन
घरका बा-आमा खुसी छैनन्
बा-आमाका मुहार उज्याला छैनन्
बा-आमा निराश छन्
देशमा भएकाहरूको अनुहार उज्यालो छैन
देश उज्यालो छैन
सरकार
उजेलीलाई घर फर्काइदेऊ
उज्याला सपना यतै देखौँला
उजेलीको पेटमा एक गाँस पुग्ने
माहौल मिलाइदेऊ।