म मधेसको एउटा सामान्य परिवारमा जन्मिएको मान्छे, जहाँ जीवन धर्तीको जत्तिकै फराकिलो लाग्थ्यो तर सम्भावनाको आकाश साँघुरो थियो। हाम्रो घरको आँगनमा बाल्यकाल खेल्थ्यो तर सपना कहिल्यै जमिन छुन पाउँदैनथ्यो।
गरिबी, सीमित सोच र कमजोर शिक्षा प्रणालीले मलाई अब्बल बन्न कहिल्यै दिएन। म पढ्न सकिनँ र अरूले चाहेजस्तो बन्न सकिनँ; न अफिसर, न डाक्टर, न शिक्षक नै।
समयको सुईले जब जवानीको पाना पल्टाउन थाल्यो, तब जिम्मेवारीका बोझहरू पनि थुप्रिन थाले। परिवारको अपेक्षा, समाजको चासो र मेरो आफ्नो अन्योल, यी सबैले मनको सास थिचिदिन्थ्यो। कहिले भारत जाने सोचेँ, कहिले भुइँमै भासिएर कुनै काम थाल्ने सपना बुन्दै रातहरू बिताएँ। सुत्न नसकेर आँखा टोलाउँदै बितेका थुप्रै रातहरूमध्ये एउटा रात अझै पनि मेरो स्मृतिको सिँगार बनेर बाँचेको छ— जुन रातले मलाई ‘कुनै नयाँ बाटो’ देखाएको थियो।
रातको करिब १:३० बजेको थियो, म झ्यालबाट बाहिर हेर्दै थिएँ, भोलिका सम्भावनाहरू खोज्दै। त्यही बेला कसैले विगतमा भनेका ती शब्दहरू मानसपटलमा चम्किए, ‘फलफूल बेच्न काठमाडौँ जानू, राम्रै हुन्छ। सुरुमा मधेसी, भैया भनेर जिस्क्याउलान् तर मिजासिलो भएर बोल, सबै तिम्रा बन्छन्।’
त्यसपछि लाग्यो अब घरमा बस्ने हैन, आफ्नै बाटो खोज्ने हो। अर्को दिन बिहानको झुल्के घामसँगै हिँडेँ म काठमाडौँतिर; सपनाको झोला, आँसुको बोतल र साहसको टुक्रा सँगै लिएर।
काठमाडौँ झर्नु भनेको मेरा लागि एकदमै अपरिचित सहरमा एक्लो यात्रु हुनु थियो। कोही चिने जानेको थिएन, भाषा टुक्क टुक्क मात्र बुझिन्थ्यो र सबै गल्लीहरू उस्तै लाग्थे। दिन बित्दै गए, बिस्तारै सहरका गल्ली, बाटा, मान्छे अनि मौसमसँग बानी परेँ र पुरानो, सेकेन्ड हेन्ड साइकल लिएर सुरु गरेँ सपना बोकेको व्यापार।
सुरुका दिनहरूमा लाजले बोल्न सक्दिनथेँ। फलफूल बेच्दा कोही हेप्थे, कोही जिस्क्याउँथे— ‘ए भैया! मधेसबाट आएको?’ तर मैले ती शब्दहरूलाई गाली होइन, परीक्षा ठानेँ। ‘हजुर’ भन्दै नम्र भएर बोलेँ, नम्र भएर बेचेँ। त्यो व्यवहार नै मेरो परिचय बन्न थाल्यो। गल्लीहरूले मलाई चिन्न थाले, केटाकेटीले ‘फलफूल दाइ’ भनेर बोलाउन थाले, कुकुरहरू पनि देख्नासाथ लज्जित भएर टाउको फर्काउँथे।
समय फेरिँदै गयो र साइकलको ह्यान्डल समात्ने हातले अब व्यापार सम्हाल्न थालेँ। बिस्तारै आम्दानी बढ्यो, मोटरसाइकल किनेँ। त्यसपछि आफ्नै सानो फलफूलको पसल खोलेँ। ग्राहकहरूको माया, इमानदारी र निरन्तर परिश्रमले व्यापार फस्टाउन थाल्यो।
कालीमाटीबाट माल ल्याउने म, अब सिधै किसानसँग सम्पर्कमा पुगेँ। गाउँ–सहर जोड्ने पुल बन्न थालेँ म आफैँ। त्यसपछि त व्यापारले अर्कै मोड लियो। गाडी पनि आयो, विश्वास पनि।
आज, म बल्खुको आफ्नै दुई तले घरको छतमा बसेर हेर्दै छु सहरको उज्यालो, जीवनको गोरेटो र मेरो त्यो सेकेन्ड हेन्ड साइकल। त्यो साइकल जसमा पसिना मिसिएको थियो, आँसु मिसिएको थियो र मिसिएको थियो एउटा ‘भोलि’।
आज पनि त्यो साइकल मेरो घरको कुनामा राखिएको छ र यसले मलाई सधैँ सम्झाइरहन्छ ‘सपना चिल्ला सडकमा मात्र होइन, गल्लीहरूको दुर्गन्धमा पनि जन्मिन सक्छ।’
म अब ‘भैया’ होइन, काठमाडौँको इमानदार व्यवसायी हुँ; एक मधेसी छोरा जसले लाज होइन, मेहनत बोकेर सहर हिँडेको थियो। आज इमान र विश्वासका साथ एउटा कुरा भन्न सक्छु कि साँच्चै! भविष्य साइकलको ह्यान्डलमै लुकेको हुन्छ, तिमी हिम्मत गर्छौ भने त्यो तिमीलाई उसै गरी हाँकिदिन सक्छ जसरी तिमी चाहन्छौ।