मेरो सहकर्मी छ एक जना
उसको अलिक फरक छ बानी
प्रसङ्ग या बेप्रसङ्ग
होमा हो मिलाउने— जानी नजानी
तालमा ताली पिटिहाल्ने
चेसका अरू प्यादा, आफूलाई ठान्छ रानी।
तासमा एक्काको पत्ता
ऊ बाघचालको बाघ झैँ
गाईको बथानमा अजङको साढे
अरू सबै गँड्यौला- ऊ शेषनाग झैँ।
सेनाहरूको सेना नायक ऊ
गुरुहरूको महागुरु
सबै विधामा उतिकै पारङ्गत
खुट्टा जीउको उसलाई छैन रे मतलब
सुनाउँछ टाउकैसँग गहिरो संगत।
श्रेय सबै उसको
दोष सधैँ अरूको
अरू सबै उदास
ऊ सधैँ दङ्ग
अफिसमा आज फेरि हङ्गामा भो
उसको सिधा सम्पर्क छ रे—
बडाहाकिमसँग!
खुट्टी हेर्दा लाग्छ लट्ठीझैँ उसका
त्यही खुट्टीलाई फलाम मानेको छ उसले
हुटिट्याउँले आकाश थामे जस्तै गरी
पृथ्वी नै थामेको ठानेको छ उसले।
अरूलाई देख्छ कलुषित, ऊ मात्रै साफ
बाह्र सत्तरी गर्छ समवर्तीकै खिलाफ
वडाको चरणमा सधैँ साष्टाङ्ग दण्डवत्
उसको वाणी सधैँ हुन्छ— सत्य शाश्वत।
जस जति उसैको, अपजस अरूको
अरू सबै फिक्का— ऊ गाढा रङ
अफिसमा आज फेरि हङ्गामा भो
उसको सिधा सम्पर्क छ रे—
बडाहाकिमसँग!
ऊ भन्छ—
गर्ने गराउने उसैको छ जिम्मा
भर्ने भराउने उसैको छ जिम्मा
तारै झार्दिन्छ उसले चाहे
पृथ्वीको गति रोकिन्छ उसले नचाहे
पर्दैन रात उसलाई नसोधी
खुल्दैन बिहानी उसलाई नखोजी
यसरी भर्दिन्छ कि उनीहरूको कान
उही हो सर्वेसर्वा पार्दिन्छ भान।
ऊ मात्रै कामयाबी
अरू सबै निकम्मा
अफिसमा आज फेरि हङ्गामा भो
उसको सिधा सम्पर्क छ रे—
बडाहाकिमसँग!