द्वन्द्वकालको समय। एउटा प्रतिष्ठित विकास बैंकका अध्यक्ष बालगोपाल आफ्नो क्याबिनमा बसेर एउटा चिठी पढिरहेका थिए।
चिठीको हरफहरू पढ्दै गर्दा उनको अनुहारमा पनि तनाव बढ्दै गएको स्पष्ट झल्किन्थ्यो।
चिठी पढिसकेपछि छेउमा राखिएको इन्टरकमको बटन थिचेर पिएलाई भने, 'सुजाता, हाम्रो धादिङ शाखामा कोही संजय शर्मा भन्ने छन्। रेकर्ड जाँच गरेर उसको बारेमा मलाई छिटो जानकारी दिनू।'
केही बेरपछि सुजाताले हातमा एउटा फाइल लिएर आइन र फाइल हेर्दै भन्न थालिन्, 'सर, संजय शर्मा त्यो शाखामा क्यासियर हुनुहुन्छ, तर अहिले उनी एक्टिङ म्यानेजरको हैसियतले काम हेरिरहेका छन्। वास्तवमा, पूर्वप्रबन्धक दिलिपको मृत्युपछि, त्यहाँ कसैलाई पनि पोस्टिङ गरिएको छैन। त्यसैले उनलाई अस्थायी रूपमा म्यानेजरको काम सुम्पिएको हो। त्यसै पनि, त्यहाँ धेरै कामको बोझ छैन।'
टेबुलमा राखिएको चिठी सुजातातर्फ बढाउँदै अध्यक्ष बालगोपालले भने, 'यो पढ्नुस्, बेनामी छ तर धादिङबाट कसैले पठाएको हो। हामी यो पत्रलाई बेवास्ता पनि गर्न सक्दैनौं।'
सुजाताले फाइल टेबलमा राखिन् र चिठी पढ्न थालिन्। पत्र अध्यक्षलाई मात्र सम्बोधन गरिएको थियो। त्यसमा लेखिएको थियो, 'सर, हामीले खेतीपाती गरेर कमाएको पैसा तपाईंको बैंकमा जम्मा गर्छौं। बैंक डुब्न लागेको कुरा सुनिन्छ। त्यसै पनि, यहाँ जे भइरहेको छ, त्यसले यो अवस्था अवश्य हुनेवाला थियो। यहाँको क्यासियर संजय शर्माले केही महिनायता लाखौं हिनामिना गरिरहेको र उक्त रकम याहाँबाट अन्यत्र लैजान लागेको कुरा थाहा भएको छ। यसतर्फ तपाईंको ध्यान पुग्दासम्म बैंक डुबिसकेको हुनेछ।'
पत्र पढिसकेपछि सुजाताले भनिन्, 'सर, म पत्याउन सक्दिनँ। तर...'
'तर त्यो केही होइन, म आदेश जारी गर्छु, एउटा चिठी तयार गरेर ल्याऊ। भोलि नै धादिङमा लेखा परीक्षक पठाउनुपर्छ। छानबिनपछि उसले सिधै मलाई रिपोर्ट गर्नेछ।'
सुजाता अध्यक्षको क्याबिनबाट बाहिर आइन्। उनले अध्यक्षको आदेश पालन गरिन्। पत्र तयार भएलगत्तै आदेश जारी गरिएको थियो। भोलिपल्ट धादिङ शाखामा लेखा परीक्षक पठाइयो। किनकि यहाँ कुरा रकम हिनामिनाको थियो।
एक्कासि बैंकमा अडिटर आएको देखेर संजय शर्मा पनि छक्क पर्यो। अलिकति रिस पनि उठेको थियो। उसले कडा स्वरमा भन्यो, 'तपाई मेरो अभिलेख र खाता जाँच गर्न चाहनुहुन्छ? आखिर किन? के यो महिनाको बीचमा हुन्छ? बैंकमा कस्तो विपत्ति आइलाग्यो? कुनै सूचना छैन, कुनै जानकारी छैन। यो कानून विपरीत हो। अधिकारीहरूलाई शंका लाग्छ भने मलाई हटाए हुन्छ, मलाई सरूवा गरे हुन्छ।'
लेखा परीक्षकले माफी मागेर भने 'संजय सर, कुनै समस्या छैन। हामी शाखाहरूको समय समयमा यस्तो गरिरहन्छौं। विगतमा पनि धेरै शाखामा यस्तो भएको छ। यदि तपाईं चाहनुहुन्छ भने, अध्यक्षको आदेश हेर्न सक्नुहुन्छ। यो नियमित कार्य हो। यसमा मलाई बढीमा दुइ घण्टा लाग्नेछ।'
संजय शर्माले भने, 'तर यदि ग्राहकहरूले थाहा पाए भने म त बदनाम हुनेछु। यो सानो सहरको बैंक हो, सबैले मलाई चिन्छन्। यो फैलिन धेरै समय लाग्दैन। मानिसहरूले सोच्नेछन् कि मैले केही गल्ती गरेको हुनुपर्छ।'
'होइन, कसैले थाहा पाउनेछैन।' लेखा परीक्षकले शान्त हुँदै भने, 'तपाईंले कसैलाई नभन्नुहोस्।' म चुपचाप आफ्नो काम सक्छु।'
लेखा परीक्षकको नम्रता देखेर संजय शर्माले मौन स्वीकृति दिए।
लेखा परीक्षक एक घण्टाभित्र काम सकेर फर्किए। भोलिपल्ट उनले अध्यक्षलाई आफ्नो प्रतिवेदन बुझाए। रिपोर्ट अनुसार सबै ठिक थियो। कतै एक पैसा पनि हिनामिना भएको पाइएन। प्रतिवेदन हेरेपछि बालगोपालले भने, 'हामीले बेनामी पत्रलाई त्यति महत्त्व दिनु हुँदैनथ्यो।'
यो कुरा त्यहीँ टुंगियो। सबै राम्रै चलिरहेको थियो। एक महिना सहजै बित्यो। एक महिनापछि बैंकका अध्यक्ष बालगोपालले फेरि अर्को पत्र पाए। यसपटक पत्र अर्कै व्यक्तिले र अर्कै ठाउँबाट लेखेको थियो। यस उजुरी पत्रमा पनि संजय शर्मालाई निशाना बनाएर रकम हिनामिना गरेको कुरा दोहोर्याइएको थियो। पत्र पठाउनेले बैंकको खाताहरू राम्रोसँग जाँच नगरिएको दाबी गरेको थियो। संजय शर्माले लेखा परीक्षकलाई मूर्ख बनाएको हो वा उसलाई केही लोभ दिएर सन्तुष्ट पारिएको थियो। जब तीरले धनुष छोड्छ तब मात्र परिणाम थाहा हुन्छ। यो अपरिचित व्यक्तिको पत्रमा तपाईंले ध्यान नदिनुभएको हुन सक्छ। तर एक पटक सोच्नुहोस् कि यो विषयमा पुन: जाँचबुझ गर्नुपर्छ।
पत्र पढेपछि अध्यक्ष बालगोपाल सोचमा डुबे। उनी पुन: छानबिन गर्ने पक्षमा थिएनन् तर यो चिठीले उसलाई बारम्बार सोच्न बाध्य बनाइरहेको थियो। धादिङ शाखामा सोधपुछ गरेर आएका लेखा परीक्षकलाई बोलाएर सोधपुछ गरे। तर उनको मनमा प्रश्न उठ्यो कि संजय शर्मा चतुर हुनसक्छ र उसले लेखा परीक्षकलाई आफ्नो बदमासी समात्न नसक्ने गरी अन्योलमा पारेको हुनसक्छ।
कुनै शाखामा अनियमितता भयो भने त्यो पनि चेतावनी दिएपछि त्यसको जिम्मेवारी अध्यक्ष बालगोपालको काँधमा आएको थियो। आफ्नो छवि जोगाउन र सम्भावित अनियमितताबाट बच्न दोस्रो छानबिन गर्नुमा कुनै हानि थिएन। जे होस्, यो आन्तरिक छानबिन थियो। त्यसैले यसपटक राम्ररी सोचेर यो विषयलाई पूर्ण रूपमा अन्त्य गर्न तीन जिम्मेवार लेखा परीक्षकको टोलीबाट अनुसन्धान गराउने निर्णय गरे।
अध्यक्ष बालगोपालले सुजातालाई बोलाएर आदेशपत्र तयार पार्न लगाएर हस्ताक्षर गरे। त्यसको भोलिपल्टै छानिएका तीन जना लेखा परीक्षकको टोली धादिङ प्रस्थान गरेको थियो। लेखा परीक्षकले धादिङ शाखामा पुगेर संजय शर्मालाई आउनुको उद्देश्य बताएपछि उनले आक्रोशित स्वरमा भने, 'मैले बुझ्नै नसकेको कुरा? किन मेरो इमानदारीमाथि पटक पटक प्रश्न उठाइएको छ?'
'संजय जी नरिसाउनु होस्, खास केही कुरा छैन।' एक लेखा परीक्षकले उनलाई सम्झाउन खोजे, 'यसले तपाईंलाई केही फरक पार्दैन। हामी आफ्नो काम गर्छौं र चुपचाप फर्किन्छौं।'
संजय शर्मालाई रिस उठिरहेको थियो तर माथिल्लो आदेश आएकाले चुपचाप बस्नुपर्यो। एउटा लेखा परीक्षक संजय शर्मासँगै बसे र दुई जना आफ्नो काममा व्यस्त भए। यस पटक प्रत्येक चिजको विस्तृत रूपमा निरीक्षण गरियो। यो काममा पूरा सात घण्टा लाग्यो। संजय शर्माले चुपचाप हेरिरहनु बाहेक केही गर्न सकेनन्। लेखा परीक्षकको टोली आफ्नो काम सकेर प्रधान कार्यालय फर्किएको थियो। यस टोलीले पनि लेखा परीक्षणमा कुनै अनियमितता फेला पारेन।
एक सातापछि... बैंकका अध्यक्ष बालगोपाल आफ्नो क्याबिनमा बसिरहेका थिए। त्यतिकैमा सुजाता भित्र आइन् र भनिन्, 'सर, धादिङ शाखाबाट संजय शर्मा आउनु भएको छ, सरसँग भेट्न चाहनु भएको छ।'
बालगोपालले तुरून्तै भित्र पठाउन भने।
संजय शर्मा भित्र आएपछि अध्यक्ष बालगोपालले उठेर स्वागत गरे र हात मिलाए।
यसका बाबजुद संजय शर्माले कुनै खुसी व्यक्त गरेनन्। उनको अनुहारमा असन्तुष्टिको भाव प्रष्ट देखिन्थ्यो।
औपचारिकतापछि संजय शर्माले अध्यक्ष बालगोपाललाई एउटा पत्र दिँदै भने, 'सर, म आफ्नो पदबाट राजीनामा दिन चाहन्छु। यसमा मेरो राजीनामा पत्र छ।'
बालगोपाल छक्क परे। त्यसपछि बस्न इशारा गर्दै उनले सोधे, 'किन, राजीनामा दिनु भएको? यस्तो कठोर निर्णय किन?'
'सर, पछिल्लो डेढ महिनादेखि मलाई शंकाको घेरामा राखिएको छ। मेरो इमानदारितामा औंला उठिरहेको छ। मैले कति सहने? यसले मलाई धेरै मानसिक पीडा दिएको छ। मेरो विश्वसनीयता हरायो। मेरो श्रीमती छोराछोरीले समेत शंकाको नजरले हेर्न थालेका छन्।'
'म बुझ्छु संजय जी।' अध्यक्ष बालगोपालको शब्दमा गल्ती महसुसको भावना प्रस्ट देखिन्थ्यो। त्यसपछि संजय शर्माको अनुहारमा हेर्दै भने, 'हेड अफिसबाट भएको गल्ती हामी सच्याउन चाहन्छौँ। धादिङ शाखामा अझै प्रबन्धकको पद रिक्त छ। तपाईंलाई यसको स्थायी रूपमा जिम्मेवारी दिन चाहन्छौं। तपाईंको प्रतिष्ठा स्वतः बढ्नेछ। पद पनि बढ्छ र तलब पनि बढ्नेछ। तपाईं जस्तो इमानदार कर्मचारीलाई हामी गुमाउन चाहँदैनौं। संजय जी तपाईंको राजीनामा हामी स्वीकार गर्न सक्दैनौं। यसलाई च्यात्नुहोस् र यसलाई फाल्नुहोस्।'
अध्यक्षको हातबाट आफ्नो राजीनामा लिएर संजय शर्माले अचम्म मान्दै सोधे, 'के तपाईं साँच्चै यो कुरामा गम्भीर भएर भन्नु भएको हो सर?'
'अवश्य, म तुरून्तै सबै प्रक्रिया पूरा गरी दिन्छु।' यति भन्दै अध्यक्षले इन्टरकमको बटन थिचेर सेक्रेटरी सुजातालाई बोलाए। संजय शर्मा प्रबन्धक बनेको खुसीको खबर लिएर धादिङ फर्किए। घर फर्किएपछि उनले श्रीमतीलाई यो खुसीको खबर सुनाए। त्यसपछि, सोफामा बस्दै उनले भने, 'विगत बीस वर्षदेखि मैले आफ्नो इमानदारितालाई काँधमा बोकेर हिँडिरहेको थिएँ। म इमानदार छु भनेर कसैले मूल्याङ्कन गरेन। यस्तो इमानदारिताको के फाइदा? तर अहिले म कति इमानदार छु भन्ने सबैलाई थाहा भएको छ। बैंकको अध्यक्ष समेतलाई पनि थाहा भयो।'
श्रीमती शर्माको अनुहार पनि खुसीले उज्यालो भएको थियो। संजय शर्माले आफ्नी श्रीमतीको हात समातेर भने, 'तिम्रो दिमाग पनि अचम्मको छ। अन्तमा तिम्रो पत्र लेख्ने सोचाइले काम गर्यो।'
'अचम्मको मात्र होइन, त्यसले तपाईंलाई शाखा प्रबन्धक पनि बनायो। इमानदार प्रबन्धक।' यसो भन्दै श्रीमती शर्मा चर्को स्वरमा हाँसिन्।