‘सहर सुत्दैन’
कतै पढेको थिएँ धेरै पहिले
त्यही नसुत्ने सहरको भीडमा
हराएका आफ्ना सपनाहरूको खोजीमा
सहभागी भएका छन्
अनगिन्ती मानिसहरू।
अनि तिनै अनगिन्तीहरू मध्येको एक बनेर
म, आफ्नै सपनाहरूको गन्तव्य खोज्न
निस्केको पनि वर्षौँ बितिसकेछ।
अपवादबाहेक प्राय:जसो हरेक बिहान
म भीडको एक हिस्सा बन्छु
भीडकै हुलमुलमा हराउँछ मेरो अस्तित्व
अनि दिशाविहीन बन्छन् मेरा सपनाहरू।
जसै हुलमुलमा मिसिन्छु
एकदम सँगले सोचमग्न हुन्छु
हरेक दिन आफैलाई उही प्रश्न दोहोर्याएर सोधिरहन्छु
यो भीड यति शान्त किन छ?
किन यो भीडले चर्का-चर्का स्वरहरू निकाल्दैन?
किन कोही यहाँ एक अर्कासँग बोल्दैनन्?
कोही मुस्काए केवल मुस्कानकै जवाफ मात्र फर्काउँछन्?
किन छेवैमा उभिएको एउटा नौजवान युवकले
सँगै उभिएकी एउटी सुन्दर युवतीतिर एक झल्को पनि हेर्दैन?
अनि किन उनलाई जिस्काउँदैन?
खचाखच भरिएको रेलको डिब्बाभित्र
मानिसहरू कसरी एकले अर्कोलाई
नछोईकनै पनि उभिन सकेका होलान्?
यस्तो लाग्छ यिनीहरूको आँखामा
घोडाको टापझैँ कुनै चिज लगाइएको छ
त्यसैले त आफ्नो छेउमा बसेको मान्छेको
समेत पत्तो पाउँदैनन् मानिसहरू।
यी अनि यस्तै प्रश्नहरू सोच्दा सोच्दै
मेरो ओर्लिने बिसौनी आइसकेको हुन्छ
कहिलेकाहीँ त म धेरै सोचमग्न भएर
आफ्नो ओर्लिने स्टेसनभन्दा अर्को स्टेसनसम्म पुग्ने गर्छु
जसै म रेलबाट ओर्लिन्छु
ती यावत् प्रश्नहरू मेरो मानसपटलबाट यसरी विलीन भएर जान्छन्
मानौँ प्रश्नहरूको बारेमा मैले कहिले सोचेको पनि थिइनँ।
रित्तो मानसपटल लिएर हिँडिरहेको म
सडकमा हिँडिरहेको अर्को शान्त भीडको हिस्सा बन्छु
रेलको भीडभन्दा यो भीड बिलकुलै फरक छ
रेलको भीड स्थिर थियो
केवल रेल दौडिरहेको थियो
तर यो भीड दौडिरहेको छ एउटा निर्जीव अनि स्थिर बाटोमा।
तीस सेकेन्डको लागि बल्ने सडकको रातो ट्राफिक बत्ती कुर्न समेत
चार पटकभन्दा बढी घडी हेर्दै
यो शान्त भीड आफ्नो बाटो मात्र हेरिरहेको हुन्छ
न त अगाडि को गयो त्यसको मतलब छ
न त पछाडि को आउँदै छ हेर्ने फुर्सद नै छ
मलाई एकछिन टक्क अडिएर सोच्न मन लाग्छ
यो भीडका एक हुल मानिसहरू
कहाँ सम्मको यात्रामा दौडिरहेका होलान्?
यिनीहरूको गन्तव्य कहाँ होला?
कहिल्यै नथाक्ने कसरी भएका होलान्?
कि यिनीहरू पनि थाक्छन्
तर थाकेको जस्तो देखिन चाहँदैनन्
अथवा भनौँ देखाउँदैनन्?
चर्को घाम लाग्यो अथवा
पानी पर्यो भने काममा नजानको लागि
पर्याप्त कारण भएको मान्ने वातावरणमा
जीवनका तीसभन्दा बढी वसन्त/शिशिर बिताएर आएको म
पचास सेन्टिमिटर हिउँ परोस् कि ठुलै बाढी आओस्
बिना कुनै गुनासो आफ्नो बाटो हिँड्ने
यो भीडले मलाई हरेक दिन चकित बनाउँछ।
वर्षौँ बितिसक्यो…
तर पनि म यो भीड जस्तो स्वतःस्फूर्त हुन सकेको छैन
बाहिर गुनासो नगरे पनि मेरो मनभित्र
हजारौँ असन्तुष्टिहरूको जुहारी चलिरहन्छ।
अनि त्यही प्रश्न दोहोर्याई रहन्छु ;
गुनासोहरूलाई मनभित्रै दबाएर कसरी हिँड्छ होला
कहिल्यै नसुत्ने सहरको यो शान्त भीड?