यो वर्ष पनि देशले ठुलो मेला देख्यो—
न त गाईजात्रा, न त प्रदर्शनी
यो त वादको ग्राण्ड फेस्टिभल
भ्याइ नभ्याई भीड
नारायणहिटीभन्दा ठुलो हल
प्रवेश शुल्क?–
‘सचेतना’ मात्र बुझाउनुहोस्, नगद चाहिँ पर्दैन।
पहिलो बुथ– नातावाद
यहाँ माइक समातेर एमसी कराउँदै छन्—
‘योग्यता? त्यो त अरूको लागि
यहाँ चाहिँ नाता चाहिन्छ!’
पछाडिबाट एक मन्त्री चिच्याए,
‘मेरो ज्वाइँको नियुक्ति त फाइनल है
एप्लिकेसन हालेको छैन भने पनि!’
तालिका टकटक गर्दै सेक्रेटरीले टाइप गरे—
स्ट्याटस: सेलेक्टेड बिफोर अप्लाइड।
दोस्रो बुथ– चाप्लुसीवाद
पोस्टरमा लेखिएको छ—
‘सर, तपाईंको मुस्कानले देशको लोडसेडिङ पनि घटाउँछ।’
भित्र पस्दा देखियो—
नेता फोटोसुटमा, कार्यकर्ताहरू सेल्फी मोडमा
र माइक्रोफोनमा एक जनाले भनिरहेका छन्—
‘सर, तपाईंको आइडियाले त विश्व बैंकलाई पनि ऋण लिन प्रेरित गर्छ।’
तेस्रो बुथ– भ्रष्टाचारवाद
बाहिर चेतावनी टाँसिएको छ—
‘भित्र पस्न १०% कमिसन अनिवार्य।’
एक व्यापारी भित्र छिरे
‘घुसको रसिद दिनुहुन्छ?’ सोधे।
भित्रको अफिसर हाँस्दै बोले—
‘यो त हाम्रो परम्परा हो, रसिद दिने बानी छैन।’
चौथो बुथ– पार्टीवाद
यहाँको नारा:
‘देशभन्दा पार्टी ठुलो, पार्टीभन्दा पद ठुलो।’
बिहान एमालेको ब्यानर
बेलुकी कांग्रेसको झन्डा
र राति नयाँ दलको जन्म।
एक कार्यकर्ता भन्छन्—
‘सर, आज कुन पार्टीमा साइन गर्न?’
नेताले जवाफ दिए—
‘आज फेसबुकमा ट्रेन्ड हेरेर निर्णय गरौँ।’
पाँचौँ बुथ– जातिवाद
दुई जना बहस गर्दै थिए—
‘मेरो जात ठुलो।’
‘हैन, मेरो ठुलो।’
त्यो बिचमा तेस्रो जना आएर भने—
‘ठिक छ, ठुलो–सानो छुट्टाउने बेलामा
देश सानो हुँदै गएको थाहा छ?’
छैटौँ बुथ– अहंकारवाद
कुर्सीमा बसेपछि नेताजीको स्वर फेरियो—
‘यो देश मेरो बिना चल्दैन।’
सल्लाह दिने बटुवालाई काट्दै—
‘तपाईंलाई कुन मन्त्रालयको अनुभव छ?’
बटुवा: ‘म त कर तिर्ने नागरिक मात्र।’
नेता: ‘त्यो त यहाँ योग्यताको मापदण्डै होइन।’
सातौँ– स्वार्थवाद
देश डुबिरहेको छ
तर बुथमा मानिस गमला सजाउँदै छन्—
‘देशको के हुन्छ,
मेरो बाल्कनी त राम्रै देखिनुपर्छ नि।’
आठौँ– अनुशासनहीन वाद
सभाको समय ११ बजे
अध्यक्ष १ बजे आए।
पहिलो वाक्य:
‘तपाईंहरू ढिला गर्नुहुन्छ!’
त्यसपछि दुई घण्टा उद्घाटन भाषण—
विषयवस्तु? अझै सुरु भएको छैन।
नवौँ– क्षेत्रवाद
बुथको ब्यानर:
‘मेरो प्रदेश पहिलो, बाँकी सब डुप्लिकेट।’
त्यहाँ नक्सा टाँसिएको छ
जसमा बाँकी प्रदेशलाई खाली रङ्गिन धब्बा बनाइएको।
दसौँ– अन्धविश्वासवाद
बुथमा पस्दा देखियो—
स्टेथेस्कोपको ठाउँमा टीका र माला
र नारा: ‘रोगको उपचार? पहिले पुजारी, पछि डाक्टर।’
विज्ञान त छेउको स्टलमा
धुलोको बाक्लो तहमा पल्टिरहेको छ।
यो महोत्सवमा पुरस्कार वितरण पनि भयो—
‘सबैभन्दा टिकाउ वाद’– भ्रष्टाचारवाद।
‘जनताको मन जित्ने वाद’– चाप्लुसीवाद।
‘देशलाई सधैँ भविष्यमा राख्ने वाद’– नातावाद।
बाँकी वादहरूलाई त सान्त्वना पुरस्कार—
किनकि जसरी चुनावमा नतिजा बदलिँदैन
त्यसरी नै यी वादको अस्तित्व पनि बदलिँदैन।