नेपाल यातायातको पुछारको सिट भाग्यले जुर्नु बाहेक अधिकांश हिँडाइको अंश उभिएरै हुने गर्थ्यो। साँझ परेको बेला त आफ्नो कोठा पुगुन्जेलसम्म एउटा युद्ध जितेर जीवनको चक्रव्यूहूमा होमिनु पर्थ्यो। नेपाल यातायात कथाहरूको संग्रहसँगको यात्रा झैँ लाग्ने गर्थ्यो।
काठमाडौँ बसाइका क्रममा गन्तव्यको सारथि मात्रै लाग्ने नेपाल यातायातमा, एक दिनको यात्रा भिन्न हुन गयो। साँझको समय, भीडमभीड गाडीको भित्र एक जना स्त्रीले पहिलो पटक मेरो ध्यान खिचिन्। कुनै कलेजको युनिफर्ममा आइडी कार्डसहित कपाल खुला छाडेर, मास्क लगाई ब्यागलाई अगाडिबाट भिरेर उभिरहेकी थिइन्।
जति गाडी अगाडि बढ्दै जान्थ्यो, त्यति नै चढ्ने मानिसको हुल ढोकामा चढ्न तँछाडमछाड गरिरहेका देखिन्थे। पछिल्लो सिटतिर बसिरहेको मेरा आँखाले ती स्त्रीलाई नजर लगाउन मरिमेटिरहेको थियो। मान्छेको भीडमा गाडी सहचालकले पछाडि सर्नु भनिरहेको सुनिन्थ्यो। पछाडि सर्ने क्रममा मेरा शनि ग्रह पनि सायद कोल्टे फेरैकै बेला हुनुपर्छ, ती स्त्री म बसेकै सिटको साइडमा उभिन पुगिन्। आइडी कार्ड मेरा आँखाले देखेपछि एट-के रिजोलुसनमा रेटिनाले कैद गर्यो। कैद गरी नसक्दै आइडी कार्डलाई सर्टको गोजी तिर हाल्न पुगिन्, सायद म घोरिएर हेरेकाले असहज महसुस गरेको हुनुपर्छ।
केही अघि गएपछि गाडी रोकियो, ट्राफिक जाम फेरि। विदेशी पाहुनाको सवारी अरे। सहचालकले कसैसँग कुरा गर्दै थियो। बाटो त पाहुनाको सवारीले रोकिँदा उनको सवारीले मेरो चेतना रोकिनु आश्चर्यजनक थिएन। म भित्रको दया पनि उनको अघि रोकिन सकेन। उनका लागि सिट छाडेँ, कालान्तरमा जो जीवनको एक अंश पनि उसका लागि छाड्दै थियो। ऊ सिटमा बसेपछि म उभिएँ। थ्याङ्क युलाई इट्स फाइनले प्रतिउत्तर दिएँ, मन फुर्किएको कम्ता होइन।
‘कति साह्रो हो यो जाम नि,’ यसै फुत्कियो।
‘त्यही त, इरिटेटिङ हुने,’ उसले जवाफ फर्काउँदा म सर्लक्कै भए।
त्यही मौकामा कहाँसम्म जानुहुने तपाईं भनी सोधिछाडेँ।
‘तीनकुने’ उसको जवाफले चारकुने यो मनलाई गन्तव्य नै पुगेजस्तो भयो। सायद सिट छाडेको सहानुभूतिका रूपमा उत्तर आएको हुनुपर्छ। जे कारण होस्, मसँग बोल्नु नै मेरा लागि थियो।
जाम बिस्तारै खुल्दै जाँदा गाडी अगाडि बढ्यो जुन मेरा लागि थिएन। नभन्दै तीनकुने आइपुग्यो र ऊ बिस्तारै ओर्लिन अगाडि बढी, मेरो बेचैनी बढ्दै गयो। भीड गाडीबाट ओर्लिँदै गरेको छेलिन पुग्यो। गाडी बिस्तारै अगाडि बढ्यो, मन अमिलो हुँदै कोठासम्म पुगेँ।
कोठा पुग्नासाथ फेसबुक खोलेँ र उनको आइडीमा देखिएको नामलाई सर्च बारमा राखेर उनको प्रोफाइल खोज्दै गएँ। झिनो आशा थियो भेटिन्छ कि भन्ने। लाग्यो यो एकछिनको भ्रम हो। त्यस्तो कति जनासँग हुन्छ, त्यो पनि गाडीमा भेटेको। तर मनले फेरि भन्यो- त्यस्तो भए आजसम्म कति केटी देखियो, कोहीसँग नभएको अनुभव उनैसँग किन हुनु?
आफैले आफैलाई रिट हाल्दै आफै फैसला गर्दै गर्दा एउटा प्रोफाइल उनको अनुहारसँग मिल्दोजुल्दो देखेपछि, कहीँ नभएको खुसी बोकेर रिक्वेस्ट पठाऊँ कि जस्तै भयो। फेरि सम्झेँ, मेसेज गर्छु जे पर्छ पर्छ। रिप्लाई गरे भइहाल्यो नगरे अब केही छिनको भ्रम थियो भन्नेमा विश्वस्त हुने आधार पनि थियो।
आस भने झिनो, अति झिनो। मेसेज गरेको घण्टौँ हुँदा पनि रिप्लाई नआएपछि यस्ता केटी कति भेटिन्छन् म किन जोसिएको होला भन्दै आफैलाई सान्त्वना दिँदै सुतेँ। भोलिपल्ट ‘हुज दिस्,’ भन्ने रिप्लाई आएको देखेँ। मर्ने बेला हरियो काँक्रो। लाचार हुँदै फेहरिस्त लेखेँ। आश्चर्य मान्दै रिप्लाई गर्दै गई। सायद मैले प्रेमको सपना र भविष्यको जहाजलाई टेक अफ गरेको विन्दु यही नै थियो।
औँलो पाउँदा डुँडुलो निल्दै जाँदा गफको समय र गफको गहिराइ बढ्दै गयो। मैले नेपाल यातायातमा प्रेमलाई गन्तव्य बनाएर चढेको त्यसै दिन रहेछ सायद। दिन, महिना हुँदै जाँदा ऊ आदत बन्दै गई। बिस्तारै भेटघाट पनि हुन थाल्यो। प्रेम चियापत्तिको रङ जस्तै गाढा हुँदै गयो। अन्ततः हामीले प्रेम स्विकार्यौँ। एकअर्कालाई स्विकार्यौँ।
वर्ष दिन बित्यो, अर्को वर्ष पनि बित्यो। प्रेममा देख्नुपर्ने न्यूनतम सपना हामीले पनि देख्यौँ। प्रेममा एक जोडीले निभाउनु पर्ने आधारभूत रीत हामीले पनि निभायौँ। हामीले राजधानीका एक जोडीले पुग्नुपर्ने हरेक ठाउँमा पुगेकै थियौँ भन्दा अत्युक्ति नहोला।
तीन वर्ष हुनै लाग्दा एक दिन विचित्रको दिन हुन गयो। एक्कासि ऊसँग कुनै माध्यममा सम्पर्क भएन। फेसबुक, इन्स्टा, ह्वाट्सएप जतै पनि अनएभाइलेबल। अचम्मित भएँ म, ह्याक पो भएको हो कि भन्ने लाग्यो। उसका अरू साथी कोहीसँग म परिचित थिइनँ।
आज, भोलि भन्दै गर्दा सम्पर्क नभएको हप्तौँ दिन बित्यो। उसको नम्बर कुनै पनि नम्बरबाट सम्पर्क भइरहेको थिएन। जिउँदै जलिरहेको थिएँ म। महिना दिन बित्यो। सम्पर्क छैन, मान्छे छैन। केही आधार छैन उसको खबर सोध्ने।
मेरो पीडा देखेर समय रोकिँदैन। मेरो दुखाइ, मेरो रोदन, मेरो आर्तनाद देखेर मलाई समयले सहानुभूति राख्दैन। कसरी कोही एक्कासि यसो गर्न सक्छ? केही बाध्यता पो पर्यो कि? ऊ त्यसो गर्ने मान्छे हुँदै होइन! मनमा अनेकन् कुराले सताइरहेका थिए।
भोगाइ जीवनको यथार्थ हो। मसँग भोग्नु र सहनुभन्दा विकल्प थिएन। म स्वभावतः अन्तर्मुखी, मैले मेरो सम्बन्ध बारे कसैलाई पनि भनेको थिइनँ। एक महिना गर्दागर्दै छ महिना वर्ष दिन पनि बित्यो। म मानसिक रूपमै प्रताडित अवस्थामा थिएँ। बिना मनमुटाब, बिना खबर वर्षौँ कोही कसरी हराउन सक्छ?
अंकगणित जानी नजानी पढियो, केही हदसम्म बुझियो पनि। एक अक्षरको मलाई दुई अक्षरको प्रेमले तीन अक्षरको जीवनमा चार अक्षरको परिक्रमा यो हदसम्म गराउँछ भन्ने भान भएन! अनि प्रेम गरिसकेपछि कुनै हद नै बाँकी नरहने बेहद महत्त्वपूर्ण ज्ञान बारे अज्ञान हुन पुगियो। बुझेर बुझी नसकिने, जानेर जानिन सकिने ब्रह्माण्ड मात्र हैन, प्रेम पनि रहेछ। त्यसैले पनि प्रेम गरेको मानिस ब्रह्माण्ड झैँ लाग्छ, संसार नै लाग्छ।
मस्तिष्क अघि मनलाई डोहोर्याएर गन्तव्य हिँड्न गाह्रो हुँदो रहिछ। कर्मको शिरमा भाग्यले आशीर्वाद नदिँदासम्म ढुङ्गो भगवान् बन्न सक्दैन। संसारको आठौँ आश्चर्य प्रेम हो, आठौँ महासार प्रेम हो र पृथ्वी बाहेक कहीँ कतै जीवन छ भने त्यो पनि प्रेम नै हो।
मैले मेरो जीवनमा प्रेमको दर्शन गर्न जीवनका दर्शनलाई धूलो बनाई संसारका अघि प्रदर्शन गर्न पुगेँ। बहादुरी इतिहास लेख्नेको हातमा भर पर्ने कुरो हो तर म मेरो ऐतिहासिक प्रेम लेख्न कायर हुँदै छु। अहङ्कारको तीर बोकेर जुन दिन मानिस जीवनको युद्धमा निस्किन्छ, कोही न कोही त्यसको सिकार हुनै पर्छ, जसरी हिजो म भएँ र हुनेहरू आजका दिनमा भई पनि रहेका छन्।
मैले बुझ्नु पर्ने थियो, प्रेम सबैका लागि हुँदै होइन। प्रेम आवश्यक छ तर त्यसो भन्दैमा सबैले गर्नै पर्छ, सबैका लागि हुन्छ नै भन्ने हुँदैन भन्ने कुरा मैले ख्याल गर्नुपर्थ्यो। आकाश सबैका साझा हो तर जमिन सबैको साझा हुँदैन।
मसँग के थियो र उसले प्रेम गर्न थाली, त्यो म जान्दिनँ। मलाई यो पनि थाह छैन कि प्रेम एकै पटक मात्र हुन्छ कि बारम्बार पनि हुन सक्छ। मलाई यत्ति थाह छ कि मसँग उसले गरेको प्रेम नै थियो। प्रमाण दिन सक्दिनँ म। हुन त प्राण नै दिएको मानिसलाई अरू प्रमाण के आवश्यक होला र!
खै गणित कहाँ मिलेन! दुई जना एक बन्न हिँडेका हामी शून्यतामा टुङ्गिन पुग्यौँ। प्रेमको पाठ सिकाउने मानिसले जिन्दगीको पाठ पढाएर जाँदै थियो।
वर्ष दिन बितेको केही दिनपछि, अनायासै फेसबुकमा एक अपरिचित आइडीबाट एक लामो फेहरिस्त आयो।
समय सबैका लागि समान हुँदैन। गुजारा गर्ने मानिसका लागि समयको अनुभव र यात्रामा निस्किएको मानिसका लागि अनुभव समान हुँदैन। एक वर्ष मेरा लागि कैयौँ वर्षहरू थिए। निकै लामो एउटा मेसेज थियो।
उसको विवाह भएर पनि डिभोर्सको प्रक्रिया अगाडि बढिसकेको कुरा लेखिएको थियो। आफू क्यानडामा रहेको र मेरो लोयल्टीका लागि लेखौँ लागेर लेखेको उसको मेसेजमा थियो। मेरा तारिफका लामै शब्दहरू थिए बिच-बिचमा।
अन्तिम एक लाइनमा थियो- ‘यु डिजर्भ बेटर!’
निःशब्द भएर शब्दहरू हेर्दै गएँ। शब्दहरू जलिसकेको लासबाट निस्किएको धुवा हुन्, के मतलब जब अस्तित्वको सास नै नरहेपछि शब्दले?
के लेख्नु र जसका लागि अक्षरहरू पर्याप्त हुन्थेनन्। मेरा लागि त ऊ अंश थिई जीवनमा, जसको जीवनमा म अंक मात्र थिएँ।