गाउँको माया त
साँच्चै अमर हुन्छ
मुटुमा गाडिएको बोटको जराजस्तै
पानी नपाए पनि
मनको भुइँभित्र
सधैँ हरियो पलाउँछ।
बाल्यकालको बिहान सम्झन्छु म
कोइलाको गीतले आँखामा घाम ल्याउँथ्यो
खोलाको चिसो हावाले
गालामा गुलाबी रङ भर्थ्यो
दूरीमा देखिने सेतो हिमाल
जसलाई हरेक दिन
आकाशको रङले नयाँ चित्र बनाइदिन्थ्यो।
उकालो चढ्दा
गोठालोका गीत पहाडमा गुन्जन्थे
ओरालो झर्दा
हावाले काँधमा खेल्दै
बाल्यको रहस्य कानमा सुनाउँथ्यो।
चौतारीको ठुलो पिपलमुनि
हामी बालकहरूको संसार हुन्थ्यो
कसैको हातमा बाँसुरी
कसैको काँधमा लाटो सुकुल
कसैको ओठमा भैलोको बोल
त्यहाँ हाँसो र मिठास मात्र हुन्थ्यो
मनमा कुनै छाया हुन्न थ्यो।
तर आज
गाउँ फर्कँदा चौतारी त उही छ
पीपल अझै हावासँग कुरा गर्छ
खोला अझै आफ्नो धुनमा गाइरहेछ
तर मान्छेको स्वरमा अब मिठास छैन।
आज हेराइमा शंका बस्छ
सम्बन्धमा तिरस्कार टाँसिन्छ
एकअर्काको पीडामा हात बढाउने साटो
मनमनै सन्तोष मानिन्छ
राम्रो गरे, ‘देखाउने’ भन्छन्
ठेस खाए, ‘कर्मको सजाय’ भनेर हाँस्छन्
आफू अगाडि बढ्नुभन्दा अघि
अरूलाई तल झार्न खोज्ने
अदृश्य हातहरू फैलिएका छन्।
पहिले,
गाउँ मनको बगैँचा थियो
जहाँ माया फुल्थ्यो
अब
त्यो बगैँचा काँडाले घेरेको छ
फूल अझै रङिन छन्
तर नजिक पुग्दा
हातमा रगत टप्किन्छ।
तैपनि,
रातको सपनामा कहिलेकाहीँ
उही उकाली–ओराली आउँछन्
खोलाको किनारमा पानीमा हिँडेका पाइलाहरू
गोठको बास
ढुंगाको भित्तामा टेकेको मेरो बाल्यको छाया।
यी स्मृतिहरूले
मनलाई फेरि गाउँको बाटो तर्फ तान्छन्
तर थाहा छ
आजको बाटो
पहिलाको जस्तो धुलो र फूल मात्र होइन
त्यसमा अब काँडा पनि मिसिएको छ।
गाउँको माया त कहिल्यै घट्दैन
तर मान्छेको बदलिएको मन
त्यो मायाको बाटोमा
सधैँ पीडाको चिहान खनिरहन्छ।