यो देशको कालिगड एउटा मूर्ति बनाइरहन्छ
कहिले पूर्णकदको मूर्ति बनाउँछ
कहिले अर्धकदको मूर्ति बनाउँछ।
नाक बनाउँछ
फेरि भत्काउँछ
मुख बनाउँछ
फेरि भत्काउँछ
ओठ बनाउँछ
फेरि भत्काउँछ।
यसै गरी क्रमशः
निदार बनाउँछ
आँखा बनाउँछ
आँखीभौँ बनाउँछ
हात बनाउँछ
खुट्टा बनाउँछ
पेट बनाउँछ
पेटमा नाभि बनाउँछ
गुप्ताङ्ग बनाउँछ
अङ्ग–भङ्ग सबैथोक बनाउँछ।
बनाउँदै जान्छ—
जे–जे देखेको छ
जे–जे भोगेको छ
सबैथोक बनाउँदै जान्छ
जे–जे कल्पेको छ
सबै बनाउँछ।
तर बनाइसकेपछि एउटै काम गर्छ—
भत्काउँछ
यो देशको कालिगडले जस्तै
मात्रै भत्काउँछ।