जीवन काँडा कि फूल? जीवन सुख र दुःख, हाँसो र आँसु, जित र हार, आशा र निराशा, मिलन र बिछोड, उज्यालो र अँध्यारो, संघर्ष र सहजता, प्रेम र घृणा, स्वीकार र अस्वीकार, सत्य र असत्य, वसन्त र शिशिर, युद्ध र शान्ति, प्रश्न र उत्तर, तथा प्राप्ति र गुमाइको एक अनुपम मिश्रण रहेछ।
आफ्नो जीवन आफ्नै हातमा छ जस्तो लाग्दछ तर जीवनको पथ कहिल्यै आफूले सोचेका मोडमा पुग्दैन। जसरी हिमालको कुहिरोले बाटो छोप्छ, हाँसो र रोदनको आवाज मिसिन्छ, निराशाले आशालाई ढाक्छ, त्यसरी नै जीवन पनि हाम्रा कल्पनाका सीमाभित्र समेटिँदैन। सफलतामा बाँच्ने इच्छा हुँदाहुँदै पनि जीवनमा वर्तमानले फेरि नयाँ कथा लेखिदिन्छ- जीवन कहिल्यै सम्झेजस्तो हुँदैन, सोचेजस्तो हुँदैन।
विमलको जीवनमा पनि यस्तै भयो। उसको जीवन एक लामो, घुमाउरो नदी जस्तो जसको प्रवाह कहिले चट्टानसँग ठोक्किँदा उर्लियो, कहिले शान्त पानीझैँ बग्दै हरायो। उनका ६० वसन्तहरूले शरीरमा थकानका रेखा अंकित गरेका थिए तर मनमा अझै एक सपनाको बीउ अंकुरिरहेको थियो- पिएचडी गर्ने सपना।
यो सपना केवल डिग्रीको लालसा थिएन, यो त जीवनभर संकलन गरिएको ज्ञान, अनुभव र समाजको लागि योगदानको औपचारिक पहिचान प्राप्त गर्ने तीव्र आकांक्षा थियो।
विमलको सम्झनामा कर्णालीका गाउँहरू थिए- जुम्ला, हुम्ला, मुगु, डोल्पा। हिमालका चोटीहरू सेतो शालीनतासँग आकाशलाई छोएझैँ देखिन्थे तर ती गाउँमा जीवन सधैँ उस्तै शान्त थिएन। बिहानसँगै घाँस काट्ने महिलाहरूको आवाज, बाख्रा र गाईहरूको बोलचाल र ढुङ्गासँग पौँठाजोरी गर्दै बग्ने नदीको करकट, यी सबै विमलका मनमा अझै जीवित थिए। ती दुर्गम गाउँहरूमा बितेका दिनहरूले उनलाई किताबमा नपाइने शिक्षा दिएका थिए।
विमललाई थाहा थियो, जीवनको बाटो जहिले पनि सिधा हुँदैन। जागिरका जिम्मेवारी, घर गृहस्थीका बोझ, स्वास्थ्यको उतारचढाव, यी सबैले उनको सपना पिएचडी सपना एकदम गह्रुङ्गो भयो।
३५ वर्षअघि उसले मास्टर्स डिग्री हासिल गरेको थियो। अब त्यो डिग्री केवल दराजमा थन्किएको कागज जस्तो थियो। अब त अनुभवहरू मनमा ताजा बनेका थिए। अनुभवहरूले अझै त्यो पिएचडी सपना मनको अन्तरकुन्तरमा चम्काइरहेका थियो। एक दिन उसले आफ्नो सपना साकार पार्न कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिको कार्यालयको ढोका ढकढक्याउन पुग्यो।
उनको अनुहारमा आशा र थकान दुवै मिश्रित थियो। उसले उप-कुलपतिलाई भन्यो - ‘सर! मलाई एक मौका दिनुहोस्। मेरो ३५ वर्षको अनुभवले एउटा पुरानो डिग्रीको अभावलाई पूर्ति गर्छ। म दुर्गम गाउँहरूमा बसेर किसानहरूलाई सहयोग गरेको छु। मेरो अनुसन्धान, मेरो शिक्षा, मेरो अनुभव यी सबैले पिएचडी अनुसन्धानमा योगदान दिन सक्छन्।’
उपकुलपतिले सहानुभूति देखाए तर शब्दहरू निर्मम थिए- ‘विमलजी, नियम भनेको नियम हो। पिएचडीमा भर्ना हुनको लागि मास्टर्स डिग्रीमा कम्तीमा सेकेन्ड डिभिजन अनिवार्य छ। त्यसैले हामी तपाईँलाई भर्ना लिन सक्दैनौँ।’
यी शब्दहरूले विमलको हृदयमा गहिरो चोट पुर्यायो। उसको मनभित्रको आगो सल्कियो। ३५ वर्षअघिको कागजको मूल्यले मेरो जीवनको मेहनत, अनुभव र योगदानको मूल्य तय गर्न सक्छ? कर्णालीका गाउँहरूमा बिताएका रातदिन, डोल्पाका बालबालिकाहरूलाई दिएको शिक्षा के यी सबै व्यर्थ थिए?
उसले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयबाट प्रदान हुने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, मूल प्रमाणपत्र, पुनर्योग र त्रुटि सच्याउने सेवा के-के उपाय गर्न सकिन्छ भन्नेबारे बुझ्दा धेरै वर्ष अगाडिको भएकोले केही गर्न नसकिने उत्तर पायो।
तर विमल हार मान्न तयार थिएन। नेपालमा ढोका बन्द भएपछि उसले अन्तर्राष्ट्रिय अवसर खोज्यो। अन्ततः मलेसियाको एउटा विश्वविद्यालयमा उसले भर्ना लियो। नयाँ देश, नयाँ सहर, नयाँ विश्वविद्यालय! उसको मनमा आशाको किरण फैलियो। तर त्यो किरण लामो समय टिकेन। सुपरभाइजरको व्यस्तता र सहयोग नपाउने अनुभवले विमललाई निराश बनायो।
एक दिन सुपरभाइजरले भने- ‘पिएचडी भनेको हात समातेर कखरा सिकाउने जस्तो होइन। तिमी आफैँ गम्भीर हुनुपर्छ।’
त्यो क्षण विमलले आफूलाई पूर्ण रूपमा एक्लो महसुस गर्यो। छोराछोरी आफ्नो काममा व्यस्त, साथीभाइ समय दिन असमर्थ, विदेशको एकान्त सबैले उसलाई थप उदास बनायो। अनि स्वास्थ्यले पनि धोका दियो, ऊ थलियो। विमल बिरामी भएर अस्पतालमा थलिएको बेला उसको सपनाको जहाज पूर्ण रूपमा डुब्यो।
एक अँध्यारो रात, जब सहर शान्त थियो र कोठामा केवल घडीको टिकटिक आवाज मात्र सुनिन्थ्यो, विमलको शरीर ओछ्यानमा सुतिरहेको थियो तर उसको आत्माले स्वतन्त्र भएर उड्यो। त्यो आत्मा भड्कियो।
सबैभन्दा पहिले, त्यो आत्माले मास्टर्स डिग्रीमा सेकेन्ड डिभिजन नदिने शिक्षकको ढोका ढकढकायो। ‘किन मलाई अन्याय गर्यौ? मेरो सपना किन तोड्यौ?’
त्यसपछि आत्मा उपकुलपतिको घरमा गयो- ‘तिमीले मेरो ३५ वर्षको जीवन र कामको अनुभवको अवमूल्यन गर्यौ। मेरो सपनाको हत्या गर्यौ।’
त्यो आत्मा भड्किँदै सुपरभाइजरको कोठामा गयो- ‘मैले तिमीबाट सहयोग मागेको थिएँ तर तिमीले मलाई मेहनत नै नगरेको भन्ने आरोप लगायौ, मेरो अपमान गर्यौ।’
अन्तमा विमलको भड्किएको आत्मा मलेसियामा सुपरभाइजरको कोठामा पुग्यो- ‘मैले सहयोग मागेको थिएँ तर तिमीले मलाई मेहनत नगरेको आरोप लगायौ। मेरो अपमान गर्यौ।’
उसको भड्किएको आत्मा देशको शिक्षामन्त्रीकहाँ पुग्यो। उसले शिक्षामन्त्रीसँग अनुरोध गर्यो- ‘पुराना नियम बदलौँ। अनुभव, समर्पण, सम्भावनाहरूलाई मूल्याङ्कन गरिने वातावरण सिर्जना गरौँ। हाम्रो प्रतिभा देशमै रहोस्। शिक्षा प्रणाली समावेशी र लचिलो बनाऔँ।’
शिक्षा मन्त्रीले पनि विमलको कुरामा ध्यान दिएनन्।
विमलको भड्किएको आत्माले चारै जनालाई तर्साए पनि उसको मनको हलचल कम भएन। आत्मा फर्केर आफ्नै भित्रतिर आयो। आफैँसँग प्रश्न गर्यो- ‘आखिर दोष कसको थियो? अरूलाई दोष दिँदा केही समाधान हुन्छ? जब म आफैँले सपना पूरा गर्न सकिनँ भने अरूलाई दोष लगाउने के अर्थ?’
विमलले निर्णय गर्यो, पिएचडीको पछाडि दौडिनुको सट्टा आफ्नो अनुभव र ज्ञान समाजका लागि उपयोग गर्ने।
विमलको भड्किएको आत्मा आफ्नै शरीरमा फर्कियो। विमल उठ्यो। उसका आँखामा नयाँ चमक थियो। उसले कलम समाएर लेख्न थाल्यो।
लेखमा उसले- ‘मेरो पिएचडी सपना अधुरो रह्यो होला तर मेरो अनुभव, ज्ञान र योगदान व्यर्थ छैन। मेरो कामले दिएको ज्ञान कुनै डिग्रीभन्दा कम छैन। अब म त्यो ज्ञान अरूलाई बाँड्छु।’
विमलले विश्राम लिएन। उसले एउटा परोपकार संस्था गठन गर्यो। दुर्गम किसानका लागि संस्था स्थापना गरे। गाउँ, सहर, दुर्गम, सुगम, हिमाल, पहाड, तराई सबै ठाउँ घुम्यो। बिहानको सूर्य, पर्खालको काँडा र बग्दो नदी यी सबै उसका कक्षा कोठा बने। सबैले विमललाई 'सपना भित्र्याउने शिक्षक' को रूपमा चिन्न थाले।
रातमा ताराहरू झिलिमिली हुँदा विमलले आफ्नो पुरानो सपनालाई सम्झन्थ्यो- ‘सपना अधुरो रह्यो भने के भयो? वास्तविक ज्ञान त जीवनले दिएको छ र मैले यसलाई समाजसँग बाँडेँ। यही त हो मेरो अनुभव, समर्पण र योगदानको पिएचडी।
विमलको आँखामा चमक, मनमा शान्ति र जीवनमा अर्थ थियो। विमल जहाँ जान्थे यो उसको अनुभवको शक्ति, समाजको सहयोग र आत्माको दृढताले अधुरो सपना पनि पूर्णताको मार्ग देखाउँदै थियो।