जीवन मरणको ख्यालै नगरी 
जीवनका चुनौतीहरू पन्छाउँदै 
अनगिन्ती घुम्तीहरू पार गरी
आफ्नो सिप र कुशलताको प्रयोग गरेर 
देशलाई आफ्नै घर ठानी 
देशलाई चलायमान बनाई 
देश र जनताको सुख दुःखमा 
हातेमालो गरी 
समयले चुटे पनि 
समयसँगै जिस्कँदै 
बिस वर्षको यात्रा बिसाएर 
ऊर्जाशील समय 
देशका नाउँमा खर्चने 
तपाईँ, निवृत्त मान्छे। 
आमा, बा, जहान, छोराछोरी रोए पनि 
दुःख बिमारले च्याप्दा समेत 
आफूलाई धैर्य राखी 
राष्ट्र सेवामा खट्ने तपाईँ 
समाज रूपान्तरणको मार्ग देखाउँदै 
विकासका खुट्किलाहरू चढेर 
असमानताका पर्खालहरू ढालेपछि 
समानताका चौतारी बनाई 
चौतारीमा थकाई मारेर 
बामे सरिरहेको देशसँग 
तालमा ताल मिलाउनु भयो।
जीवन एउटा यात्रा हो 
यात्रामा 
कहिले हार्नु भयो 
कहिले जित्नु भयो 
काँडा पनि त थिए होलान् बाटोमा 
काँडाहरू पन्छाउँदै 
यात्रा अगाडि बढ्नु भयो 
तपाईँ साहसी मान्छे 
दृढताको भर्याङ चढ्दै 
गन्तव्य पुगेरै छोड्नु भयो। 
सपनाहरू अनेक हुन सक्छन् 
आमा-बाको घरखेतको सपना 
श्रीमतीको गहना गुरियाको सपना 
छोराछोरीको नाना, पापाको सपना 
सपना पूरा गर्न नसकी 
नाजवाफ भएर 
अनेकन् सपना तुहाउँदै 
जिन्दगीको अर्थ खोज्न 
जिन्दगी पढ्दै पढ्दै 
विचलित नभई 
खम्बा जस्तै अड्नु भयो। 
आफ्नो सबै गुम्दा पनि 
ओठबाट हाँसो फ्याँकी 
पीडाहरू चपाएरै 
व्यथाहरू लुकाएरै
सृजनाको गीत गाउँदै 
धैर्यताको पुस्तक पढी 
जिन्दगीको लेक बेसी गर्नु भयो। 
तपाई रुँदा 
जून रोयो 
तारा रोयो 
तपाईँ हाँस्दा 
फूल हाँस्यो 
घाम हाँस्यो 
मेची काली शयर गरी 
हिमाल, पहाड, तराई तिर 
लुकामारी खेलेपछि 
खोले, फाँडो समेत खाई 
देशको कायापलट गराउनलाई 
ज्यानको बाजी मार्नु भयो। 
तपाईँ विवेकशील, धैर्यवान् र सहनशील मान्छे
तपाईँको महानता अतुलनीय छ 
तपाईँ कति महान्? 
तपाईँका विवेकशील तर्कहरूले 
भ्रष्टहरूको जालो फ्याँकेपछि 
देश परिवर्तनको संघारमा छ 
तपाईँलाई पाखा लाउने कोसिस गरिए पनि 
तपाईँले दिएको मार्ग चित्रमा 
सैतान समेत नतमस्तक छ। 
तपाईँ हाँसेर बाँच्न सक्नु पर्छ 
उमेर ढल्कँदै गएपछि 
सहाराको खाँचो पर्छ 
जब जीर्ण हुन्छ शरीर 
तपाईँलाई भरोसाको लौरो आवश्यक पर्छ 
रोग व्याधले पनि सताउँछ नै 
औषधी पानीको व्यवस्था गरिनु पर्छ 
तपाईँका मनोकाङ्क्षा असीमित होलान् 
उमेरमा जहान परिवार भन्नु भयो 
अब जहान परिवारले 
तपाईँको मनोकाङ्क्षा पूरा गर्नु पर्छ। 
ओ राष्ट्रवादी मान्छे!
तपाईँको ज्ञान र सिप 
हाम्रो जीवनलाई खाँचो छ 
हामी अनाथ बन्न चाहन्नौँ 
हाम्रो शिरमा हात राखी 
हामीलाई आशीर्वाद दिनु पर्छ। 
दीर्घ जीवनको कामना गर्दै 
सुखी जीवनको अपेक्षा राख्छु 
दुई हात जोडी नमन गर्छु 
आरोग्य रहनु होस 
म श्रद्धाले शिर निहुराई 
हजुरलाई पुष्प गुच्छा चढाउँदै 
सफल जीवनको प्रार्थना गर्छु। 
तपाईँको दुःखलाई 
एक गज पर धकेलेपछि 
तपाईँको खुसीमा 
खुसी मिसाउँदै 
तपाईँको यात्रा पछ्याउँदै 
म बामे सरिरहेको हुन्छु 
तपाई हाँस्नोस् उन्मुक्त भएर 
अनि भन्दिनोस् दिल खोल्दै 
म खुसी छु 
कुनै गुनासो छैन 
अब मात्रै 
मैले बाँचेको सार्थकता प्राप्त हुन्छ।