घर, गाउँ, देश, परदेश अनि छिमेकी आफन्त कहिलेकाहीँ साह्रै नजिक लाग्ने, कहिलेकाहीँ साह्रै टाढा लाग्ने। यो छेउघरे साइँलो बिदेसिएको पनि लगभग दुई दशक हुन लागेछ। सहर नदेखेको गाउँले केटो सहर पस्यो।
सहरमा पनि ऊ कहाँ बस्यो र सहरपछि ऊ विदेश भासियो। दुःख–सुख गरेर स्थायी बसोबास गर्न मिल्ने, काम गर्न मिल्ने वातावरण बनायो। धेरै सपनाहरू च्यातिए, केही सपनाहरू सिलाउन सकियो, केही सपनाहरूको देहावसान भयो।
उमेर बढ्दै गयो, रहर र उमङ्गहरू थपिए। नयाँ सपनाहरू जन्मिन थाले। एक्लै बसिरहेको विदेशी जीवनभन्दा जीवनसाथीसँग हिँड्न पाए हुने भन्ने लाग्थ्यो। बाटोमा अँगालिएका जोडी देख्दा लाग्थ्यो, जीवनसाथी त साँच्चै चाहिने रहेछ। सपनालाई बिपनामा बदल्दै उसले एउटी मनकी राजकुमारीसँग विवाह गर्यो।
जीवन अगाडि बढ्दै गयो। केही वर्ष अलिक व्यवस्थित भएर बच्चा बनाउनु पर्छ भनेर श्रीमतीसँग सल्लाह गरेको थियो। पत्तै भएन, कुन दिन आमा बन्ने भएँ कि के हो भनेर प्यारीले भनिन्, झसङ्ग भयो। केही खुसी जस्तो, केही डराए जस्तो भयो। कहिले डर कहिले रहर गर्दै अहिले तीन सन्तान छन्।
कुनै समय बाबुआमालाई नसुन्ने अनि नटेर्ने उसले अहिले तीन जना बच्चा सम्हाल्दा आमा–बुबा सम्झन्छ। गाउँ सम्झन्छ। आज बच्चाहरू नजिकैको पार्कमा खेल्दै छन्। केटाकेटीहरूले चिप्लेटी खेल्दा उसले पत्करबाट सलल चिप्लिएको सम्झन्छ। मलाई पिङमा ठेल्दिनु भन्दै छोरोले भन्यो। उसले पनि गाउँमा खेलेका रोटे र लिङ्गे पिङ सम्झियो। पहाडमा धेरै वर्ष बिताएको उसले ढुंगामाथि ढुंगा राखेर खेलिने खेल धेरै खेलेको छ। कहिलेकाहीँ आमाबुबाको अनुमति लिएर, कहिले आँखा छलेर घण्टौँ बिताएको थियो।
ओहो, कस्तो गुच्चा खेलिन्थ्यो! दुवै गोजीमा गुच्चा बजाउँदै हिँड्दा कस्तो मज्जा आउँथ्यो। काफल पाक्यो भन्दै कराउने कोइली चरी अनि काफलको रूखमा चढेर काफल खाने हामीहरू ती दिनहरू सम्झिँदा पनि मुखमा पानी आउँछ, मनै आनन्द हुन्छ।
त्यतिकैमा छेउमा बसेकी बुढीलाई सोध्छ, ‘तिमी सानो छँदा तराईमा के–के खेल्थ्यौ?’
उनले उत्सुक हुँदै भनिन्, ‘हामी त चुंगी र ढक धेरै खेल्थ्यौँ। बस्तुभाउ गर्दा समय नै हुँदैन थियो। दाजुभाइले चाहिँ गुच्चा र क्यारम बोर्ड धेरै खेल्थे। कहिलेकाहीँ त गफ गरेर चोकमा घण्टौँ बस्ने गर्थे। खोला, पैनी, अथवा पाटा–खाडीमा पौडी खेल्थे। कहिलेकाहीँ त तास खेलेर घण्टौँ बिताउँदा रहेछन्। धेरै पटक बुबाले गएर लखेटेर घर ल्याउनुपर्थ्यो नि।’
त्यही बेला छिमेकी भाउजू छोरीहरू लिएर आउनु भयो र भन्नु भयो, ‘यिनीहरू घरमा भए भने कि फोन कि टिभीमा मात्र झुन्डिन्छन्। त्यही भएर लिएर आएकी।’
छोरीहरू खेल्न लागे। भाउजूले भन्नु भयो, ‘तपाईँहरूले हिजो टिकटकमा आएको भाइरल भिडियो हेर्नु भयो? त्यो साह्रै राम्रो छ, मैले त तीन पटक हेरिसकेँ।’
‘ल हामी पनि टिकटक बनाऊँ’ भनेर श्रीमतीलाई लिएर नजिकैको फूलको बोटमा जानु भयो। यतिकैमा छोरीले भनिन्— ‘रात परिसक्यो, अब घर जाऔँ। भोलि स्कुल जानु छ।’
घर आएर बेलुकीको खानापछि सबै सुतियो।
बिहान झिसमिसेमा उठेँ। आज केटाकेटीले स्कुल जानु पर्छ। फेरि हाम्रो पनि काम छ। बुढीको काममा छिट्टै जानु पर्ने भएकाले आज म केटाकेटीलाई स्कुल छोडेर काममा जानुपर्छ। बेलुकी उनले केटाकेटीलाई स्कुलबाट घर ल्याऊछिन्। हामी अलिक थाकेका छौँ। साइँलोको काम अलिक धेरै थियो। बुढीको पनि काममा म्यानेजर आज खुसी थिएन रे। काम र परिवारको बाटो कहाँ पिचमा गाडी गुडाए जस्तो हुन्छ र! अलिक–अलिक मिलाउन खोजे पनि खाल्टामा गाडी परेको जस्तो भइहाल्छ नि।
केटाकेटीहरू स्कुलबाट आएर फ्रेस भएर खाजा खाएर आफ्ना–आफ्ना डिजिटल यन्त्रतिर लागिसकेका छन्। छोराहरूको अझै फोन छैन, त्यसैले उनीहरू टिभीमा मन पर्ने भिडियोका लागि झगडा गर्दै छन्। छोरीको आफ्नै फोन छ, ऊ त्यसैमा व्यस्त छे।
उनीहरूलाई आज स्कुल कस्तो भयो भनेर पटक–पटक सोध्दा राम्रै भनेर जवाफ दिए। गृहकार्यको बारेमा सोध्दा कोही बोलेनन्। साइँलो फेसबुकमा व्यस्त भयो, उता बुढी टिकटकको भिडियो हेरेर मुस्कुराइन्। केटाकेटीलाई धेरै पटक भनिरहँदा पनि होमवर्क झिक्ने सुरसार गरेनन्। छोराछोरीले होमवर्क गरुन् भनेर फोन बन्द गर्यो। अब सबैले इलेकट्रोनिक्स बन्द गर्ने अनि होमवर्क गर्ने भन्यो।
छोरीले आमा तिर देखाउँदै भनिन्— ‘तिमीहरूले चाहिँ हेर्ने, हामीले हेर्न नहुने?’
यसो सोच्दा— समस्या त हामीमै छ नि भन्ने लाग्यो। उनीहरूलाई पढ्–पढ् भन्ने तर आफैँ घण्टौँ फेसबुक र टिकटकमा हराउने, त्यो पनि भएन नि। उनीहरूलाई होमवर्कमा सहयोग गरे त उनीहरू पनि खुसी हुन्थे, परिवार पनि खुसी हुन्थ्यो नि।
म जहाँ हुर्किएँ, जहाँ पढेँ, जुन समयमा जन्मेँ, त्योभन्दा अहिले आकाश–पातालको फरक छ। उनीहरूलाई आफ्नो बाल्यकाल सुनाउन र बुझाउन गाह्रो छ। बिहान स्कुलमा अथवा स्कुल बसको स्टपमा छोड्दा हामीले उनीहरूलाई कसरी भन्न सक्छौ र हामी त घण्टौँ हिँडेर स्कुल जानुपर्थ्यो भनेर। हामी त गाउँ भरिका सबै जम्मा भएर स्कुल जान्थ्यौँ। कहिलेकाहीँ खोला बढेर स्कुल जान पाउँदैनथ्यौँ। कहिलेकाहीँ घर फर्कन पाउँदैनथ्यौँ। गाउँकी साइँलीलाई स्कुलबाट फर्कँदा खोलामा बाढीले हेर्दा–हेर्दै बगायो। केही गर्न सकिएन। भोलिपल्ट मात्र बगरमा शव भेटियो।
पढ्ने बेला धेरैले रातमा सल्लाको दियालो बालेर पढ्थे रे। हामीले पनि मटितेल नभएर धेरै पटक नपढीकन सुत्नु परेको छ। लालटिन र टुकी बत्तीलाई कहिलेकाहीँ जालोले बेर्थ्यो अनि मात्र मट्टीतेल आइपुग्थ्यो। लोडसेडिङसँगै हुर्किएका हामी अहिले बिजुली बत्ती कहिल्यै नजाने ठाउँमा हुर्केकालाई सुनाउँदा कथा जस्तो लाग्छ। खाली झोला बोकेर स्कुल जाने केटाकेटीलाई कसरी भनौँ र झोलाभरि किताब बोकेर स्कुल जाँदा गलेर चौतारीमा बसेर बर झारेर खाएको।
केटाकेटीहरूलाई खाना खान बोलाउँदा दश पटक बोलाएपछि आए। अघि–पछिको बेला पढ्–पढ् भन्दा नमान्नेहरू खाने ठाउँमा किताब बोकेर आउँछन्, ट्वाइलेट जाँदा किताब बोकेर जान्छन्। खाने ठाउँमा फोन नल्याऊ, ट्वाइलेटमा फोन नलैजाऊभन्दा तपाईँहरू फोन खाने ठाउँमा लाने, ट्वाइलेटमा लाने हामीले किताब लानु नहुने भनेर जवाफ दिन्छन्। केटाकेटीसँग वादविवाद गर्दै बेलुकीको खानापछि हामी सबै सुत्यौँ।
आज ओछ्यानमा पल्टिँदा सम्झेँ— समस्या हाम्रो छोराछोरी हुर्काउने तरिकामा हो कि छोराछोरीमै हो? फेरि सम्झेँ— धेरै कुरा वर्षैपिच्छे फेरिएका छन्। रेडियो सुन्दै हुर्केका हामीले टेलिभिजन, इन्टरनेट, स्मार्टफोन हुँदै अहिले एआईको रिभोलुसन देख्दै छौँ। स्कुल वा घरमा मात्र हुने बच्चाहरू हाम्रो समयमा भन्दा धेरै फरक छन्। उनीहरूलाई तल्लो घर, पल्लो घर, डाँडाघर, छेउघर भन्ने कुरा कहाँ थाहा छ र!
हामीले अझै छेउको घरका छिमेकीसँग दश वर्षपछि पनि राम्रोसँग गफै गरेका छैनौँ। समस्या छोराछोरीभन्दा पनि हामी आमाबाबुमा धेरै छ जस्तो लाग्यो। भनिन्छ घर पहिलो पाठशाला हो अनि बुवा-आमा पहिलो शिक्षक र शिक्षिका हुन्। खोइ हामीले त्यो भूमिका निर्वाह गर्यौँ त? सोफामा टिकटक हेर्दै हाँस्दै बस्ने हामी अनि केटा केटीहरूको मुखमा पनि नहेरी होमवर्क गर भन्ने हामीहरू को कुरालाई केटाकेटीले कसरी पत्याउन् त! आफैँले खाने ठाउँमा फोन नलगे, छोराछोरीलाई पनि भन्न मिल्छ नि। आफैँ उनीहरूसँग बसेर पढ्ने बानी बसाल्यौँ भने उनीहरूले पनि बुझ्थे कि सधैँ फोनसँग खेल्नु राम्रो होइन भनेर।
आफू चाहिँ हाम्रो बेलामा यस्तो हुन्थ्यो भनेर मात्र कहानी भन्ने होइन, छोराछोरीलाई राम्रो प्रभाव पार्ने काम गर्न नसकेको हो कि भन्ने महसुस भयो। यो गर, उ गर भन्दा पनि यसरी गर भनेर देखाउँदा उनीहरूले पनि बाटो लिन्थे कि। उनीहरूले पछि आफ्ना बच्चालाई हाम्रो बाबुआमाले हामीभन्दा फोनलाई धेरै माया गर्थे भने भने ठिक हुँदैन भन्ने लाग्यो। केटाकेटी धेरै डिजिटल होइन, हामीहरू पो धेरै डिजिटल भइयो कि झैँ लाग्यो। त्यसपछि फोन टेबलमा राखेर सुतेँ।