तिमी एक्लो हुनुलाई कोही नभएको
सहाराहीन भन्छ्यौ तर म भन्छु
एक्लो हुनु जीवनको लयसँग
जीवनको सुरसँग
जीवनको सङ्गीतसँग मिल्नु हो।
सुन न
जीवन त एक्लोमा कति मीठो छ
एकै सुर एकै स्वर एकै ताल आहा!
यसको मेलोडी आहा!
यसको कम्पन
आहा यसको मूर्च्छना!
त्यसैले त म भन्छु
एक्लो हुनु नदी जस्तै सफा हुनु हो
एक्लो हुनु हिमालझैँ स्निग्ध हुनु हो
एक्लो हुनु सुनकोसी हुनु हो
एक्लो हुनु आकाश हुनु हो
एक्लो हुनु फूल हुनु हो
एक्लो हुनु एक उज्यालो हिमाल हुनु हो
एक्लो हुनु इन्द्रेणी हुनु हो
एक्लो हुनु आकाश मार्गको पन्छी हुनु हो
एक्लै हुनु आफू हुनु हो
एक्लो हुनु त मनको आनन्दमा मिसिनु हो
एक्लो हुनु निर्मल हुनु हो
एक्लो हुनु विवेकी बन्नु हो।
हेर त!
हरेक शब्द अक्षर एक्ला छन्
हरेक आवाज एक्लै ध्वनि त हुन्छन्
जङ्गली रुख पनि त एक्लै छ
जून एक्लै त थियो नि
घाम पनि त एक्लै थियो नि
सूर्य पनि त एक्लै छ
आइन्स्टाइन एक्लै त थिए नि
भारतकी रत्न लता मङ्गेस्कर एक्ली त थिइन् नि
तिब्बत स्वतन्त्रताका गीतकार दलाइ लामा एक्लो त छन्
बुद्ध एक्लैले त ल्याए शान्तिको धारा
संसारलाई हँसाउने चार्ली च्याप्लिनसँग
अर्का को गाँसिएको थियो र?
एक्लैले हँसाए यो दुनियाँलाई।
उ...
वैशाखमा कतै पर गाइरहेकी कोइली पनि एक्लै त छे नि
तर पर परसम्म ऊ आफ्नो मृदु झङ्कार फैलाइरहेछ।
तसर्थ म त भन्छु
जीवन त एक्लोमा कति मीठो छ
र
यही नै जीवनको यथार्थ र नियति हो।