मेरा लागि पढ्नु आनन्द लिनु हो, अक्षरको आनन्द गज्जबको लाग्छ। साहित्यको स्वाद अलग्गै छ। साहित्य पढ्दा मनभरि आनन्दको जरुवा फुट्छ। काव्यानन्द अलौकिक हुन्छ। अभिव्यञ्जना आफैँमा आनन्द हो, यसैका लागि साहित्य लेखिन्छ, आनन्द लिन साहित्य पढिन्छ। स्रष्टाले पनि सिर्जनामा आनन्द अनुभूति गर्छ, पाठकले पनि आनन्दको अनुभूति गर्छ। लेखकको अन्त्यपछि पाठक सुरु हुन्छ। आनन्दको स्थानान्तरणको प्रक्रिया मात्र हो यो।
अभिव्यञ्जनामार्फत आनन्दको प्रभाव उत्पादन हुन्छ। आनन्द अनुभूति दुःखान्तमा पनि हुन्छ, सुखान्तमा पनि। दुखीसुखको अनुभूति वा मनको विरेचनले दिने आनन्द गहिरो प्रभावमा रहन्छ। मुनामदन, रोमियो जुलियटहरू दुःखान्त छन्। शेक्सपियर, होमर, गुस्ताभ ल्फुवर्ट पढ्नु दुखीसुखको अनुभव सम्हाल्नु हो। हामीहरू आफू दुखी कथाको पात्र भएर आफूलाई विचरण गर्दैनौँ तर दुखी पात्रका कथामा वशीभूत हुन्छौँ।
मेरा लागि साहित्य आनन्दको स्रोत हो, दुखानुभूतिमा होस् वा सुखान्तमा वा ज्ञानयात्रामा होस्। अभिव्यञ्जनाबाहेक साहित्यको अर्को आशय छैन। दुःखमा हुने सुखको अनुभूति सर्जकप्रति प्रेक्षकको समानुभूति हो। कवितामा डुबौँ, कथा पढौँ वा आख्यान वा नाटक हेरौँ, मेरो अभीष्ट आनन्द हो। तर त्यो काव्यानन्द स्वायत्त र सापेक्षिक हुन्छ। आनन्दका साथ पाइने शिक्षा वा सन्देश चीरस्थायी हुन्छ। त्यसैले म मनैदेखि रमाउन साहित्य पढ्छु।
म मन ताजा बनाउन साहित्य पढ्छु। साहित्य रिफ्रेसर हो, मन ताजा बनाउने शक्ति साहित्यमा हुन्छ। साहित्यका शब्दहरूले मेरो मनलाई माझ्दै सफा र ताजा बनाउँछ। पढ्दापढ्दै स्वच्छन्दतामा वाहलिन, आफैँबाट हराउन म साहित्य पढ्छु। स्वतन्त्रताको यात्रामा प्रेक्षक तरङ्गित–विस्तारित हुन्छु। त्यतिखेर मन उदात्तिन्छ र बिन्दास आनन्दमा डुब्छु। पहाडमा उडेर, क्षितिजमा तैरिएर, आकाशमा विलएर, सागरमा गहिरिएर र छहरामा छचल्किएर सपनाको संसार बुन्न पुग्छु। फूलसँग खेल्छु, बादलसँग लुक्छु, चरासँग जिस्कन्छु, ऐनाभीरमा पैया ठोक्छु, वनजङ्गल र पहरामा साहसिक यात्रा गर्छु। आफैँभित्र संसार रचेर आनन्दिएपछि मन ताजा हुँदोरहेछ।
मनको ताजगी साहित्यको वास्तविक आनन्द हो। विपनामा यसरी रमाउन कहाँ पाइन्छ र? विपनाका व्यवधानहरू सपनाका संसारमा हुँदैनन्, व्यवधान नभएको स्वतन्त्रता मेरो आत्मको स्व हो। स्वच्छन्दता, स्वेरकल्पनाहरू वस्तुगत संसारका तथ्यभन्दा पर रमाइला छन्। जब साहित्य पढ्छु कल्पना, स्वेरकल्पना, सपनाका तरङ्गित आनन्दले मनमनै रमिन्छु। देवकोटा, डिकिन्सन, शेक्सपियर र शेलीहरूका काव्यानन्द मलाई प्रकृतिसम्म, सपनासम्म पुर्याउने शक्ति हुन्। त्यो अदम्य शक्तिको स्रोत साहित्यलाई कसैले नहेपोस्।
पढ्ने मानिस कहिले एक्लो हुँदैन। एकान्तबाट छुट्टिन म साहित्य पढ्ने गर्छु। मेरो एकान्तको साथी साहित्य हो। मेरो एक्लोपनलाई हटाएर मनमजेरीभरि पुस्तकका पात्रहरूसँग यसले मलाई खेलाएको छ, डुलाएको छ। जूनको शीतलतामा, उषाको आभामा आकाशगंगा पुर्याएको छ। पुस्तकका पात्रहरू स्वार्थका साथी होइनन्, मनका साथी हुन्। एक्लो मानिसलाई साथ दिने कुरा चानचुने होइन, त्यो पनि यत्रो यान्त्रिक समाजमा, जहाँ हरेक कुरा नाफा घाटामा हिसाब गरिन्छ। उमेर ढल्किएकाहरू, जोश निख्रिएका, पेसा निवृत्त भएकाहरू, शारीरिक व्यस्ततामा जान नसक्नेहरूका लागि साहित्य जति जीवन्त साथी अरू हुन सक्दैन।
म एक्लै बसिरहेको छु। मलाई मेरो बाल्यकालमा ओर्लिएर आफूसँग रमाउन मन लाग्यो। बाल्यावस्थाका साथी, जन्मस्थान, निस्वार्थ र पवित्र खेलमा पुग्न मन लाग्यो। मनसँग मन खेलाएका कुरा स्मृतिमा ल्याएर बालक बन्न मन लाग्यो। गोठालो जाँदा नाङ्गा पैतालामा टिमुरका काँडाले घोचेर रगत निकाल्यो, रोशीखोलामा पौडिँदा भुमरीमा घुमाएर झन्डै ज्यान लिएको थियो। सर्पसँग डराएको, पातालमा किरो (चितुवा) कराउँदा डराएर स्वाँस्वाँ र फ्ववाँफ्ववाँमा दौडिएको, सिँगारी बाख्रोलाई गोठैबाट चितुवाले तान्दा फुपूले खोसेको घटनाक्रम जागा भएर स्मृतिका भित्ताभरि उछिनापछिन गरी फैलिए।
ठुलो दाजुले साँवे साप भनेर नाम्लाको पातोलाई पिटेको, कान्छो भाइले बिरालो भनेर चितुवाको बच्चा समातेको स्मृतिहरू मधुर रूपमा मस्तिष्कका भित्तामा आए। पाठशालामा खेलको प्रतियोगिता, कविताको प्रतियोगिता मनभरि ताजा भएर आए। शुक्रबार गाउँबाट रोशी जाँदा आमाले बाटाभरि आँखा बिछ्याएर बसेका दिनहरूले एकसाथ आमाको माया, रोशीको दृश्य र भाइबहिनीसँग खेलेको दृश्यहरू टाँगे। अरूका साहित्य पढ्दा मन कता मोडिएको हो? सायद साहित्य यसै गर्छ, अरूका पात्र, परिवेश र मनोदशाहरूको सापेक्षमा पाठकलाई पुर्याएर पाठक मनलाई त्यस्तै आफ्ना घटना, स्मृतिहरू विचरण गर्ने स्थानमा पुर्याउँछ। सपना देख्न नसक्नेहरू, सपना विपनामा ल्याउने सामर्थ्य कम भएकाहरूलाई साहित्य आफ्नै सपनाको विचरण र आफ्नै मनको विरेचन हो।
हो, म संसारको यात्रा गर्न सक्दिनँ। विज्ञान प्रगतिको पहाड उक्लिन सक्दिनँ। कहिले समयले स्वीकृति दिँदैन, कहिले पैसाले त कहिले अरू कुराले। साहित्यले मलाई सगरमाथा उकालेको छ, जोखिमपूर्ण स्थानमा साहसको यात्रा गराएको छ। अन्तरिक्षको एडभेन्चरमा पुर्याएको छ, अन्टार्कटिकाको एडभेन्चरमा पुर्याएको छ। माचु पिचुको पदयात्रा गराएको छ, आइसल्यान्डमा बास बसाएको छ, स्काईडाइभिङको डरलाग्दो आनन्द दिएको छ, रुवाण्डाका गोरिल्लासँग कुस्ती खेलाएको छ। गालापागोस, नाम त्छो र नाज्का लाइनका कठिनतम भयानकतासँग खेलाएको छ। हिमालका ऐनाभीरमा बादलभन्दा माथि दौडिएको छ। घाँसे सर्पसँग डराउने मानिस कोमोडो ड्रागनसँग कुस्ती खेलेको छु। थोराङ पास र पेट्रासँग खेलेको छु। बियोन्ड द एपोलोले वैज्ञानिक नभई वैज्ञानिक बनाएको छ, प्रविधि नजानीकन न्यूरोम्यान्सरमा जेलिएको छु, रोडसाइड पिकनिकले मानिस भै कन एलियनको अनुभव दिलाएको छ।
कहिले समुद्रमुनिको यात्रा त कहिले अन्तरिक्षको उत्सव सबै साहित्यले नै पुर्याएको हो। मैले धेरै पटक आकाशगंगामा घर बनाएको छु, बरमुडा ट्र्याङ्गलमा यात्रा गरेको छु। साहित्यले पुर्याएको ठाउँमा सशरीर पुग्दा भने के-के न के नपुगेको लाग्यो। नाम त्छोको सिरेटोमा भोको पेटले पुगेँ, एडभेन्चरको न्यूजील्याण्डमा रमाएर पुगेँ, गिजाको पिरामिडमा दिनभरि रहलिएँ। अक्षरका दृश्यहरूमा मनले भाव भरेका थिए, मनले सुन्दरता वा भयानकताको खिचेका थिए, भौतिकीमा बेग्लै देखियो, मनको मुड र वास्तविकताको दृश्यको दूरी देखिएकाले होला। जे भए पनि कौतुहल र सामिप्यता साहित्यको सिर्जना थियो। त्यसैले साहित्य पढ्नेहरू महाकाव्यिक साहसी हुन्छन्, महाकाव्यिक दुस्साहसी पनि।
म साहित्य ज्ञानको तिर्खा मेटाउन पढ्छु। मानिस भ्रम र भोकमा बाँच्छ। भ्रममुक्त हुन र ज्ञानको भोक मेटाउने सजिलो बाटो नै साहित्य हो। साहित्य विधा नभइ अन्तरसम्बन्धित विषय हो। यो विचार, विधा र वर्गमा बाँडिदैन, सबैको साझा बन्छ। ज्ञानका लागि कानुन, भूगोल, इतिहास, विज्ञान, गणित, चिकित्सा, व्यवस्थापन, इञ्जिनियरिङ, अन्तरिक्ष, ज्योतिष, समाजशास्त्र लगायत अरू थुप्रै विषय छन्। यी सबै विधाका जन्मदाता साहित्य हो। अरू विषय निरस छन्, साहित्य रसिलो छ, सुन्दर छ।
साहित्य रफटफ छैन। साहित्यले सुन्दरता मात्र खोज्छ। मानवीय दुःख खोज्नु अरू विधाको ध्येय हो, सर्वप्रजातीय हित साहित्य हो। साहित्यले आत्मानुशासन दिलाउँछ, सुन्दरताको सिर्जना गर्छ, प्राकृतमय बनाउँछ अरू विषय सङ्कीर्ण छन्, साहित्य विशाल र सुन्दर छ। विशालतामा फैलिन, सुन्दरताको स्वाद लिन म साहित्य पढ्छु। सबैको मन जित्नु सुन्दरता हो। साहित्य अजेय शक्ति हो। अजेय शालीन शक्ति। कठोर शक्तिलाई पगाल्ने नरम शक्ति।
म दिक्दार हुँदा पनि साहित्य पढ्छु, दिक्दार होउँला कि भनी पनि साहित्यमा लीन हुन्छु। निराशा विरुद्धको अचुक औषधि, सेल्फ थेरापी। मनलाई उपचार गर्ने औषधि हो यो। थाहै नभइ आशा जगाउँछ, शक्ति दिन्छ। मनोरम भूमिमा उतार्छ र मेरो दैनिकीमा रङ्ग भर्छ। विश्वास र विलक्षण दिन्छ। शिष्टताले प्रतिकार, सिर्जनात्मक प्रतिकारको अदम्य शक्ति दिन्छ।
साहित्य तनाव पनि भएको छ। त्यहाँका घटना र पात्रले दुःख पाउँदा दुखी भएको छु, मनमनै रोएको छु। मुना मदनले दुखी बनायो, प्रेमचन्दकी निर्मला पढ्दा दुखी भएँ। जेन अस्टिनकी एलिजाबेथले दुखी बनायो। जुलियटले दुखी बनायो। रसिदी टिकेटमा प्रितमको प्रेम संस्मरणले मन विथोल्यो, दुखी बनेँ। द्रौपदीको चीरहरण गर्दा, सीता अपहरणमा पर्दा, टाइटानिक पल्टिँदा कति दुखी भएँ। ती सबै दुःखमा दुखीसुखको अनुभूतिले मन माझेँ। ती दुःखमा जीवन देखेँ, तपस्या र समर्पण देखेँ। सबैले जीवनलाई ग्लोरिफाई गरेका छन्, जीवनकै अर्थ खोजेका छन्। ती तनाव सिर्जनात्मक तनाव थिए।
ती पात्र मभित्रका ढुकढुकी बनेर म विरेचित भएँ। दुःखलाई अभिव्यञ्जना गर्ने शक्तिले आत्म झंकृत भएर साहस दिएको छ। सिद्धार्थ र जोर्बा पात्र पढेर रजनीस ओशो भए रे। दुवै पात्रको एकाकारमा जोर्बा बुद्धमा उनले नयाँ मनुष्य भेटेर संसारलाई प्रदीप्त बनाउन खोजे। दुःख र खुसीका अनुभूतिहरू एक प्रकारले अभिव्यक्त हुन्छन्, पाठक मनलाई त्यसले अनौठो संसारमा पुर्याउँछ। त्यतिखेर सच्चा पाठक आफूलाई नयाँ मनुष्य बनाउँछ।
कारागारभित्रका कथा पढ्दा, कारागारबाहिरका समाज नै उम्किन नसक्ने कारागार बन्दा, अझ मनभित्रको कारागारबाट मुक्ति खोजेको कथा सबैले मलाई अनन्त ऊर्जा दिएका छन्। मनको कारागार र शासनको कारागार अनि समाजको कारागारले आफूभित्रका जञ्जालबाट मुक्ति खोज्ने मार्ग देखाएको छ। राम्रा साहित्य पढिसक्दा पनि नसकिँए पनि हुने भन्ठान्छु। मन खिचेका साहित्य जति नै लामो भए पनि छोटा हुँदा रहेछन्।
साहित्यले क्रान्ति र विद्रोहको पात्र बनेर इतिहासको अनुभूति लिएको छु। हो, सबै क्रान्तिले हिंसा ल्याउँछ र त्यो विनाशकर हुन्छ। तर मानवता र न्यायका लागि हुने क्रान्ति क्रूर हिंस्रक भए पनि क्षम्य हुन्छ, पुस्ताहरू यसबाट प्रगतिमा पुग्छन्। फ्रेन्च क्रान्ति पढ्दा सम्भ्रान्त शासक ढालेर स्वतन्त्रता, भातृत्व र समानता स्थापना गर्ने नायकत्व आफैँले लिएको सम्झिएँ। क्रान्ति नायक नेपोलियन बोनापार्ट यति रोमाञ्चित कहाँ भए होलान् र? क्रान्तिभूमि कति खतरापूर्ण थियो होला? आफैँले स्वतन्त्रता, भातृत्व र समानताको घोषणा गरिरहेको छु सम्झिएँ। जार फाल्ने बोल्सेभिक क्रान्ति पढ्दा लेनिनभन्दा बढी म आल्हादित भएँ।
अझ विद्रोह सञ्चार गर्ने क्रान्तिगीत युजेन पोतियरले होइन, आफैँले गाएको सम्झिएँ। पढ्दापढ्दै मन उर्लियो, रौँहरू ठाडा भए, दिमागलाई मनले कब्जा गर्यो। ज्यास्मिन स्प्रिङ पढेर आफैँ आत्मदाह गरिरहेको मोहम्मद बाउनी बनेँ, बेरोजगारी, बेथिति र महँगी विरुद्ध आफैँले बलिदानी गरेको सम्झिएँ। आफ्नै देशको अप्रिल क्रान्तिहरू र जेनजी आन्दोलनमा उम्लिएँ। र सम्झिएँ सबै क्रान्तिको अभीष्ट रूपान्तरणमा रहेछ, स्वतन्त्रता र पहिचान रहेछ। त्यसैले विद्रोही प्रतिकार गर्दै आन्दोलनमा विनिर्माण तर्फ लागेँ। र फेरि चिन्तित भएँ, क्रान्ति र आन्दोलनका एजेन्डाहरू कसैले अपहरण गर्दा, कार्यान्वयनमा विस्तारै पाखा लाग्दा उम्लिएका मन सेलाएर थेग्रान बन्न कसरी रोक्ने? बलिदानीहरू साहसहरू हराउन पुगे भने के गर्ने? सावधानी र शिक्षा साहित्यले दिएको छ।
अम्मल नभएको मानिस भएकाले साहित्य अम्मल भएको छ। खेलकुद गर्दिनँ, हेर्दिनँ। मेरा लागि खेलकुद साहित्य हो। मदमातमा लाग्दिनँ, त्यसको आनन्द साहित्यबाट लिन्छु। चिया, चुरोटको आनन्द पनि साहित्यले दिन्छ। चियाको मगमा उठ्ने भन्दा ठूलो भावनाको तुफान साहित्यले दिन्छ। जुवा–तासको आनन्द पनि यसैले दिन्छ। खालमा बस्थेँ त हार्थेँ होला, साहित्यमा म कहिल्यै हार्दिन, साहित्यले नशा हो तर कहिल्यै हराएन। सबैलाई सधैँ जिताउने शक्ति साहित्यले दिन्छ। साहित्यले सयर गराउँछ, भोक मेटाउँछ, दिमाग र मन एकैचोटि भरिदिन्छ। साहित्यले थाहै नभएको स्वाद दिलाउँछ। भोक, तिर्खा, स्वाद, सन्तुष्टिको स्रोत साहित्य हो। म अर्को विधालाई हेप्दिन, तर साहित्य जस्तो विशाल ज्ञान, सन्तुष्टि र शक्तिको स्रोत अरू केही हुन सक्दैन। यसले अराजकतालाई पनि प्रतिसंस्कृतिमा ढालेर सुधारको बाटो, विनिर्माणको बाटो देखाउँछ। बिन्दास रमाएका हिप्पी, पङ्क, हिपहप, फोर–बीका अनुयायीहरू कसैलाई केही नभनि, हिंसा नगरी अहिंसामा उर्लिएका थिए।
मानिस जानी–नजानी दासत्वमा छ। संवेगात्मक दिमागले, संवेगमाथिको समर्पणले पनि निजत्वबाट पर छौँ। दिमागी कब्जाका प्रक्रियाले हामीहरू औपनिवेशिक बनेका छौँ। नवऔपनिवेशिकताका प्रक्रियामा जानीनजु समाहित छौँ। साहित्य निजत्व र स्वायत्तताको विस्तार गर्छ र सबै प्रकारको दासत्वबाट व्यक्तिलाई बाहिर ल्याउँछ। अक्षरभित्रको स्वच्छन्दता निजत्व र यथार्थताको विस्तार हो। अक्षर भित्रको जीवन सधैँ मानवीय यथार्थताको अभिव्यक्त गर्छ, त्यो बिम्बमा होस् वा प्रतीकमा नै किन नहोस्। अक्षरलाई हेप्नु अज्ञानता हो, आफैँप्रतिको अन्याय, अहं ब्रह्मास्मि नस्वीकार्नु हो। अप्प दिपो भव नमान्नु हो।
साहित्य पढ्दा म महानताको नजिक पुगेको छु, महानताको स्पर्शमा पुगेको छु। भौतिक रूपमा भेट्न नसकेका, सङ्गत गर्न नसकेका, समयमा छुट्टिसकेका महान व्यक्तित्व स्पर्श गराउने शक्तिका कारण साहित्य क्षितिज उघार्ने ढोका बनेको छ, ज्ञानको क्षितिज, चेतनाको क्षितिज, अनुभवको क्षितिज। मानिसका उद्वेग, आवेग, भावना, अनुभव र अनुभूति बुझ्न साहित्य साधन हो। त्यही साधनले म अरूबाट कति भिन्न भएँ, अरू आफूबाट कति विशेष छन् र ती विशेषताका विशिष्टता के हुन् बुझ्न, महत्त्व दिन सिकाएको छ। प्राकृतिमय मानिसको चरित्रको चित्र साहित्यभरि सर्वत्र छ। त्यहाँ पुग्ने, त्यो बुझ्ने अन्त:प्रेरणा र अनन्य शक्ति साहित्यले दिएको छ। स्वयं प्रेरणाको स्वशक्ति साहित्यमा घुलिएको छ। साहित्य पढ्नु शब्दयात्रा होइन, साहस र शौर्यमा समाहित हुनु हो।
भौतिक संसार पढ्न त सजिलो छ तर अन्तर्चेतनाले त्यसलाई बिथोल्न, विनिर्माण र पुनर्सर्जनाको बीउ रोप्न सक्ने सामर्थ्य अक्षरभित्रका अजस्र शक्तिले दिन्छ। संरचनात्मक–कार्यमूलक आयाम र सामाजिक द्वन्द्वात्मक आयाममा रहेर संसारको विश्लेषण गर्न सजिलो छ, त्यो देखिएको छ, लेखिएको छ, संस्था र संरचना यसैका लागि खुलेका छन्। तर मनोअन्तरक्रियात्मक आयामबाट सङ्केत र भावमा समाजलाई बुझ्न निकै जटिल छ। साहित्यले यही आयाम उघारेर छिपेका, दबेदबाइएका, लुकेलुकाइएका अन्तर्छटालाई उजिल्याउने शक्ति सिवाय साहित्य बाहेक अरू के मा छ? यो अन्तर्छटा हेर्न बुझ्न नसक्दा संस्था संरचनाहरू खोक्रा बन्दछन्, नीति नतिजाबाट विच्छेदित छ, निर्माण भनिए पनि ध्वंस छ। त्यहाँ न्याय र वास्तविकता पुग्दैन। कमजोरी उजागर हुँदैन।
प्रदीप्त आत्माको प्रदीप्ति खोजिन्न। व्यवस्थापक, राजनीति जस्ता संरचनावादी नीतिशिल्पीहरू त्यो प्रदीप्तिलाई भुलेर मानव समृद्धिका कुरा गरिरहेका छन्। साहित्यले त्यो भुलेको स्पेस पूरा गरी वास्तविक नीतिशिल्पीको काम गर्छ। साहित्यमा म कथा, कविता, विरह व्यथाहरू मात्र पाउँदिनँ, समाजको स्वरूप पाउँछु। नाटकमा नाटक हुँदैन, जीवनका वास्तविकताको उजागर पाउँछु, निबन्धमा आत्मिक उडान होइन, जैविक स्वतन्त्रताको उच्छ्वास पाउँछु। त्यसैले साहित्य मेरा लागि जीवन जिउने र आफू विस्तार हुने बाटो हो, स्वआनन्द र मुक्ति खोज्ने बाटो हो।
साहित्यले जीवनको गति र गन्तव्य बदल्न सिकाएको छ। साना-ठुला दुर्घटनाबाट निराशिएर जीवनको बाटो बिराउन पछि नपर्ने हामीहरूलाई साहित्यले जिउने बाटो देखाउँछ, परे गन्तव्य बदल्न सिकाउँछ तर निराश बन्न भन्दैन। जीवन पाउनु स्वयम्मा प्राप्ति हो, हामी हुनु स्वयम्को उपलब्धि हो। जीवन त जतिखेर पनि, अचानक सकिन सक्छ। भएको समयमा गर्नुपर्छ, गर्न सकिन्छ भन्ने आशाको दियो बाल्ने काम साहित्यले गर्छ। साहित्यले हामीलाई सधैँ जवान बन्न शक्ति, साहसी बन्न ऊर्जा उमार्छ।
आर्थर बाउन्ड लेख्दै पढ्दै १०६ वर्ष बाँचे, बेवर्ली क्लेरी र जर्ज्स इमानुएल क्लेन्सियर एकसय चार वर्ष बाँचे। किम ह्युक सुक एकसय चौथो वर्षमा उत्साहले लेखिरहेका छन्। यी शताब्दी नाघेर लेख्नेहरू अक्षरका साधक मात्र होइनन्, सभ्यता र शताब्दीका पनि पुल हुन्। साहित्य पढेर नथाक्ने आचार्य रजनीस पढेरै ज्ञानका सागर वा ओशो बने, ज्ञानकै कारण देहभंग गरी परमात्मा मिलनमा समर्पित बने। साहित्यले इमेजिनेटिभ सिचुएसन होइन, शक्तिको संसार बनाउँछ, चेतनाले स्पर्श मात्र गर्न सक्नुपर्छ। साहित्यले जीवन र दैनिकीलाई रित्तो हुन दिँदैन। मेरा मनका थाकेका, सुषुप्त चेतनालाई जागरूक बनाउने काम यही साहित्यले गर्दै आएको छ।
समयसँग यात्रा गर्ने सामर्थ्य ममा छैन। वेदयुग, पुराण युग, त्यो भन्दा अघिको जङ्गली युग, ढुङ्गे युग, समाज व्यवस्था स्थापनाको युगसम्म पुग्न र विचरण गर्न साहित्य मेरो अनन्य साथी हो, गुरु हो। म त्यहाँ पुग्न, त्यहाँको जीवन बुझ्न साहित्य मात्र मेरो सहारा हो। किराबाट जेनियस होमो, जेनियस होमोबाट होमो स्यापिएन्समा आइपुग्दाको समयबोध गर्न साहित्य साथी हो।
मोर्गानले सामाजिक आयामबाट मानव विकास लेखे, डार्विनले जीव विकासको आधारमा मानव विकासको चित्र लेखे। मानवशास्त्रीहरू तथ्यमा अनुमान घोलिरहेका छन् र यौगिक उत्पादन दिइरहेका छन्। तर साहित्य मानव चेतना र सामाजिक प्रजननशीलताका आयाममा मानिस खोज्छ। त्यसैले म साहित्य पढ्न औधि रुचाउँछु। साहित्यको पढाइ समयबोध, चेतनाबोध, सिर्जनाबोध र कल्पनाबोधको समष्टि हो। त्यसैले त्यो साहित्य हो, म साहित्य पढिरहन्छु।