मान्छे भन्छन्, ऊ ठुलो मान्छे हो। ऊ पनि आफूलाई त्यस्तै देखाउँछ। किनकि आजकल ठुलो देखिनु नै ठुलो हुनु हो। यो उसको कला हो, ठुलो नभएर पनि ठुलो देखिनु। उसको नजरमा नेपालमा भएका साथीहरू ऊभन्दा साना देखिन्छन्। उनीहरू अफिस जान्छन्, चिया खान्छन्, गफ गर्छन्, बालबालिकाको स्कुलतिर दौडिन्छन्।
ऊ यहाँ इभेन्ट, कन्फरेन्स, नेटवर्किङ र कम्युनिटी मिटिङको बिचमा घण्टामा काम गर्दै, फोटो खिच्दै र पोस्ट गर्दै जिन्दगी बाँच्दछ। उसको काम भनेको ‘वाह’ देखिने फोटो खिच्नु र त्यसको क्याप्सनमा ‘वाह’ देखिने कलात्मक वाक्य लेख्नु हो।
विदेश पुगेको केही महिनामै उसको हातमा एउटा जादुई शक्ति आएको छ, नेपालका नेताहरूसँग फोटो खिच्ने शक्ति। त्यो पनि यस्ता कोणबाट खिचेको हुन्छ कि जहाँ देखिन्छ मानौँ ऊ विशेष सल्लाहकार नै हो। ऊ त्यसलाई यस्तो महत्त्वपूर्ण भेटवार्ता बनाइदिन्छ कि देख्नेलाई वास्तविक लाग्छ। प्रमाणित गर्नुपर्ने के नै हुन्छ र? फोटो हुन्छ, मुस्कान हुन्छ अनि ऊ हुन्छ।
नेपालमा रहेका साथीहरू पनि सोच्छन्, ‘वाह यार, हाम्रो साथी त ठुलो मान्छे रहेछ। विदेश गएर त बिल्कुलै कनेक्सन बनाएछ।’
ऊ विदेशमा बस्ने नेपाली हो। त्यसैले ऊ हरेक कुरा सङ्घीय दृष्टिकोणबाट हेर्छ। बिहान घण्टा हानेर आएपछि चिया पिएर फेसबुकमा दुई वटा स्टाटस लेख्छ, ‘देश बचाउन युवा उठ्नै पर्छ।’ अनि दुई-चार जना नेताको पेज, पाँच-छ जना पत्रकार, दश-पन्ध्र जना एनआरएनका साथीहरूलाई ट्याग गर्छ।
त्यसपछि अफिसतिर लाग्छ जहाँ ऊ आज पनि ‘डबल सिफ्ट’ गर्दैछ। ऊ त्यही बेलामा सोच्दछ उसको आदर्शवान स्ट्याटस देखेर कति जनाले ‘वाह’ भनिसके होलान्।
साँझपख ‘जुम मिटिङ’ गर्छ। दश/बाह्र जनालाई जोड्छ। सबैका ब्यानरमा फाउण्डरको ट्याग झुण्डाइदिएको छ। देशको संविधानदेखि बजेटसम्मका गफ दिन्छ। गफ यसरी हानिदिन्छ कि ती दश-बाह्र जना ‘वाह दाइ’ भन्दै ताली पिट्न कुरिरहेका हुन्छन्। अनि ऊ दङ्ग पर्छ।
नेपालका साथीहरू सोच्छन्, 'ऊ विदेशमा बसेर पनि देशकै नीतिनिर्माणमा योगदान गर्दैछ।' उसलाई त्यो सुन्दा आत्मसन्तुष्टि आउँछ। साँच्चै, विदेशमा बस्दा आत्मसन्तुष्टि पनि इम्पोर्ट गर्नुपर्छ। किनकि जीवनमा कति दुःख छ त्यो उसलाई मात्र थाहा छ। त्यही दुःखलाई सिँगार्नका लागि पनि फेसबुकमा प्रभावशाली पोस्ट हान्छ।
कसैले उसलाई भन्छ, 'दाइ! नेपाल कहिले फर्किने?'
अनि ऊ जवाफ फर्काउँछ, ‘फर्किन्छु नि, अब त देशलाई म चाहिएको छ।'
त्यसपछि सोध्ने पनि नतमस्तक हुन्छ। तर सोध्ने मान्छे जान्दैन कि, ऊ त अझै पनि यताको स्थायी बासिन्दा हुने लाइनमै छ।
उसलाई सामाजिक सञ्जालतिर समाजसेवी पनि भन्छन्। किनकि ऊ बेला-बेला सामाजिक तस्बिरहरू पनि पोस्टाउँछ। अनि नेपालमा भएका साथीहरूले त्यो फोटो हेरेर ऊमाथि गर्व गर्छन्। उनीहरूलाई के थाहा, जहाँ उसले गरेको केही हुन्न, मात्र एक-दुई वटा फोटो खिच्छ र सामाजिक सञ्जालतिर छरिदिन्छ।
त्यसपछि ऊ बेलाबेलामा 'नेपाल फर्केर केही गर्नेछु' भन्ने पोस्ट लेख्छ। त्यस पोस्टमा २०० लाइक आउँछ। त्यसपछि ऊ फेरि अर्को दिनको घण्टा हान्न जान्छ। घाम टल्किँदै आउँछ, पसिना चुहिँदै जान्छ तर त्यो पोस्टमा देखेका प्रतिक्रिया देखेर दङ्ग पर्छ। जता पनि ‘वाह! वाह!’ देख्नुपर्ने त्यो उसको रोग नै हो।
जब नेपालतिरबाट कोही मन्त्री विदेश आउँछ, ऊ तुरुन्तै फोटो खिच्न पुग्छ। फोटो खिच्न पाइएन भने निराश हुन्छ। किनकि त्यो फोटो नै उसको अर्को तीन महिनाको ‘कन्टेन्ट’ हो। त्यसपछि त्यो फोटोको क्याप्शन लेख्छ, ‘देशका नीति निर्माणकर्तासँग भावी योजनाबारे छलफल भयो।’
अब त्यो छलफलको कुरा के हो ऊ आफैलाई थाहा हुँदैन। त्यही फोटो देखेर कसैले ‘धन्यवाद’ लेख्छ, कसैले ‘गर्व लाग्यो’ भन्छ। अनि ऊ फेरि दङ्ग पर्छ। प्रफुल्लित हुन्छ र अर्को दिनको घण्टा हान्ने तयारीमा लाग्छ।
नेपालतिर फर्किँदा ऊ त्यही फोटो, त्यही गफ र त्यही भ्रम बोकेर जान्छ। नेपालमा पुगेपछि सबैलाई भन्छ, 'हामीले विदेशबाट पनि धेरै काम गरेका छौँ।' त्यसपछि उता पनि साथीहरूले उसलाई नेताको रूपमा हेर्छन्। अनि ऊ पनि हिँड्दा पेट अगाडि, छाती फुलाएर र नाक सिधा राख्छ।
तर उसलाई राम्रोसँग थाहा छ, अर्को हप्ता फर्किएपछि फेरि काममा डबल सिफ्ट गर्नुपर्नेछ। त्यही डबल सिफ्टको पसिना लेपेर ऊ फेरि फेसबुकमा लेख्छ, 'देशका लागि म सधैँ समर्पित छु।'
बेलाबेलामा नेपालबाट कोही कलाकार आउँछन्। उनीहरूलाई ‘तिम्रो दाइ यहाँको खत्रा हो’ भन्ने गफ दिएर फोटो खिच्छ। त्यो फोटो पनि नेटवर्किङमा जोडिन्छ। उनीहरू पनि खत्रा नेपालीसँग भेटियो भन्दै दङ्ग पर्छन्। अनि त्यही बेला ऊ सोच्दछ, ‘यो फोटोले मलाई अर्को महिनाको पहुँचको कन्टेन्ट दियो।’
यहाँका साथीहरूलाई नेपालको पहुँचको गफ दिन्छ। नेपालका साथीहरूलाई विदेशको नेटवर्कको गफ दिन्छ। बीचमा ऊ ‘ग्लोबल कनेक्सन’ बन्छ। सबैले ‘वाह दाइ’ भन्छन्। यता पनि उता पनि ‘वाहवाही’ को बाढी आउँछ। अनि दङ्ग पर्दै फुर्फुरिएर फेरि घण्टा हान्न पुग्छ।
जब ऊ थाक्छ, तब सुत्ने बेलामा सानो मुस्कानका साथ सोच्दछ, ‘म ठुलो छु किनकि म विदेशमा बसेर नेतागिरी गर्छु।’ त्यो सोचको घाममा ऊ भोलिपल्ट फेरि उठ्छ र डबल सिफ्टका लागि तयार हुन्छ।
तर पनि उसलाई राम्रोसँग थाहा छ, ऊ त बस एउटा पात्र हो। जसले फोटो, फेसबुक र भ्रमका बीच आफ्नै ठुलो पहुँच निर्माण गरेको छ। र उसलाई यो पनि थाहा छ, आखिर आजको दुनियाँमा भ्रम नै सबभन्दा ठुलो पहुँच त रहेछ। त्यसकारण ऊ यो सबैका लागि विवश छ।