ए! भ्रमित मान्छे
तिमी के चाहन्छौ?
अब तिमीले सोचेको जस्तो
झुटा प्रपञ्च बुझ्न नसकेर
म मौन छु ठान्छ्यौ अझै?
कतै मेरो आवाजहरू
तिम्रो शब्दका मूर्खता र दम्भ
हेर्नका खातिर पनि मौन भएका हुन सक्छन्!
तिम्रा सङ्गत र खुसीका निमित्त
धेरै वटा झरी बादल र ऋतुहरूलाई
मैले आँखा चिम्म गरेर
आफ्नो अमूल्य समय अनि
सच्चा हृदय खर्च गरेँ
मलाई थाहा थिएन
त्यो हाँसिलो अनि राम्रो देखिने अनुहारभित्र
यति कठोर चेतना भरिएको हुन्छ
त्यो ईश्वरको भजन जप्ने ओठ
रुद्री कीर्तन लगाई समाजमा धार्मिक देखिने
आवरण पछाडि यति क्रूरता लुकेको हुन्छ
जहाँ अर्काको आँसु, विक्षिप्त भएको मन
आर्थिक, सामाजिक, एवं पारिवारिक
जटिलताले थिचेर मर्माहत भएको अवस्थामा पनि
केही दुःख नदेखाई तिम्रो इशाराअनुसार
तिम्रो खुसीको लागि कर्मशील रहँदा पनि
मान्छे तिम्रो मन तृप्त भएको छाँट देखिएन
हुन त म पनि मान्छे हुँ
तर मलाई अर्काको आँसु पिएर
खुसी हुन मन पर्दैन
र म सकेजति काम आफैँले समेट्छु
ज्वरोले नढलेसम्म मेरो दर्द
एउटै घरमा बस्नेले सम्म देख्न सक्दैन भने
तिमीले कहाँबाट बुझ्नु मेरो दर्द
तर मेरो श्रम खाएर अघाएको तिमी
आँखा झिमिक्क पार्दा
आलोचना गर्न तम्सिँदो रहेछौ
तिमीलाई लाग्दो हो
श्रमभित्र मेरो पसिना मात्र छ
त्यहाँ भित्रको रक्तास्रुको वर्षात
तिमी जस्तो संकुचित तत्वले कहाँबाट बुझ्नु!
खै हेर त म तिमीबाट अलग भएपछि
मेरो संसार सकिन्छ
अनि दुर्दशा देख्ल्यौ जस्तो गर्थ्यौ
आऊ आज मेरो कर्मशील गोरेटोमा
पाइला राख्ने आँट गर
तिम्रा हर अपमानले खडा गरेको
मेरो रित्तो अस्तित्व
आज सुरक्षा कवच बनेको छ
आत्मविश्वासको विशाल महल बनेको छ
त्यो तिमीले रुवाएको कोमल हृदयभित्र
र मान्छे मलाई अचम्म अझै लागिरहेछ कि
मलाई तिमी चाहिँदा
राक्षस बनाउने तिमी
आज तिमीलाई चाहिँदा
एकाएक देवता बनायौ त
अझै म तिम्रो नजरले
कसरी जीवनको परिभाषा गरूँ
एकैनाशको समय रहन्न भनेर
फुलेको फूल र ओइलाएको पात
हेरेर नै भए पनि
एउटा नम्रताको शब्द दिएर
शान्ति दिन नसक्ने
तिमी जस्तो क्रूरलाई
धेरै समयको पाबन्दीपछि
तिमी कमजोर भयौ
अनि मेरो सहारा लिन आयौ भन्दैमा
छिनभरमा देवत्वकरण र
राक्षसीकरण गर्ने तिम्रो नजर
मृत्यु लोक छोड्नुअघि नै खुल्न सकून्
किनकि म समय पूर्व नै
फ्याँकिएको त्यो डुङ्गा हुँ
जसको मूल्य बुझ्न तिमीलाई
गहिरो जीवन रूपी समुद्रमा
अवरोध आउनै पर्ने रहेछ।