बिपी कोइराला प्रधानमन्त्री भएका बेला राजा महेन्द्रले सोधेछन्, 'तिमीलाई काठमाडौंमा घर चाहिन्छ?'
बिपीले जवाफ दिएछन्, 'सरकार, प्रधानमन्त्री हुँदासम्म मलाई राज्यले दिन्छ। त्यसपछि मेरो घर विराटनगरमा छँदैछ। मलाई काठमाडौंमा चाहिन्नँ।'
भारतमा हुर्केबढेका बिपी काठमाडौंमा चाबहिलस्थित भाइको घरमा बस्थे। उनले आफ्नो आत्मवृत्तान्तमा पनि आर्थिक अभावबारे लामो व्याख्या गरेका छन्।
काठमाडौंमा जग्गा-जमिन कहिल्यै नजोडेका नेपाली कांग्रेसका यी संस्थापक नेताले यहाँ सबभन्दा धेरै रात र सबभन्दा धेरै दिन काटेको ठाउँ सुन्दरीजलको जेल हो।
२०१७ पुस १ गते राजा महेन्द्रले शासन हातमा लिएपछि बिपीलाई सुन्दरीजल जेल पुर्याइएको थियो। सुन्दरीजलस्थित सैनिक जर्नेलको क्वार्टरमा थुनिएका बिपीले त्यहाँ पहिलोपटक ८ वर्ष समय काटेका थिए।
त्यसपछि २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि उनलाई पुन: एक वर्ष त्यहीँ थुनिएको थियो। बिपीसँगै गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पनि सुन्दरीजलमै जेल जीवन बिताएका हुन्।
बिपी, गणेशमान र कृष्णप्रसादले जेल जीवन बिताएको सुन्दरीजलस्थित सैनिक जर्नेलको क्वार्टरलाई अहिले बिपी संग्रहालयमा परिणत गरिएको छ। संग्रहालयका संस्थापक अध्यक्ष परशुराम पोखरेलका अनुसार जीवनभर जमिन नजोडे पनि बिपीकै नाममा अहिले संग्रहालयसँग २४ रोपनी जग्गा छ जसमध्ये ५ रोपनी क्षेत्रफलमा जेल छ।
२०७२ को भुइँचालोले ध्वस्त बनाएको उक्त संग्रहालयको पुनर्निर्माण सम्पन्न गरी सर्वसाधारणका लागि खुला गरिएको छ।
राजाले बिपीलाई बन्दी बनाएको यो ठाउँको 'कोड-नेम' गैंडा गस्ती राखेको पोखरेल बताउँछन्।
२०५४ सालमा तत्कालीन प्रधानसेनापति प्रज्ज्वलशमसेर जबराले सुन्दरीजल जेल भत्काउन दरबारलाई पत्र लेखेका थिए। पत्रमा उनले बिपी बसेको ठाउँलाई गैंडा गस्ती लेखेका थिए। तर दरबारले अनुमति दिएन। बिपीको राजनीतिक उचाइकै कारण बिपीलाई बन्दी बनाइएको जेल भत्किनबाट जोगिएको उनको तर्क छ।
'हामी राजबन्दी गृह र आर्मी घर भन्थ्यौं, २०२१ सालको नापीमा पनि राजबन्दी गृह लेखिएको छ,' पोखरेलले भने, 'सायद राजा बिपीलाई गैंडा भन्थे कि!'
हुन पनि तानाशाही शासन चलाएका महेन्द्रका लागि बिपी गैंडा बराबर नै भएको उनको विश्लेषण छ। 'राजा महेन्द्रले के छ त्यहाँका गैंडाको खबर भनेर सेनालाई सोध्थे होलान्,' उनले भने।
बिपीलाई थुन्नुअघि सुन्दरीजलस्थित आर्मी जर्नेलको क्वार्टरमा सैनिक पहरा दिने सेन्ट्री पोस्ट मात्र थियो। बिपीलाई ल्याएपछि मात्र पर्खाल लगाइएको पोखरेल बताउँछन्।
'एकपटक बिपी ब्याडमिन्टन खेल्दै गर्दा कर्क पर्खालमा लाग्यो। टिप्न जाँदा सेन्ट्रीले पर्खालको तीन फिट नजिक नआउनू भनेछन्,' पोखरेलले बिपीको जेल जर्नलको प्रसंग सुनाए, 'बिपीले पर्खालभित्रको जमिन जहाँ पनि मैले भोगचलन गर्न पाउने अधिकार छ भन्नुभएको छ। अन्य ठाउँमा भइदिएको भए गोली हान्थे कि!'
बिपीले जेल जीवन बिताएको सुन्दरीजलको प्रांगणमा कपुरको रूख छ। एक सय ५० वर्षभन्दा जेठो रूखमुनि बसेर बिपीले धेरै किताब लेखेको पोखरेल बताउँछन्।
'उहाँका दोषी चश्माबाहेक सबै कृति जेलमा लेखिएका हुन्,' पोखरेलले भने, 'यो ठूलो रूखमुनि बसेर बिपीले धेरै रचना गर्नुभयो।'
बिपीको जस्तै गणेशमानको पनि जेलको दिनचर्या रोचक रहेको पोखरेल बताउँछन्।
'गणेशमानले ८ वर्षको जेल बसाइमा एक दिन मात्र चिया पकाउनुभएन,' पोखरेलले बिपीको आत्मवृत्तान्तको प्रसंग सुनाए, 'चिया पकाएर पहिलो कप उहाँ सधैं बिपीलाई पुर्याइदिनुहुन्थ्यो।'
गणेशमानले जेलमा बस्दा कहिल्यै सिरक नओढेको पनि उनले बताए।
'धेरै कपडा लगाएर सुत्ने तर ओछ्यान राम्रोसँग नमिलाउने उहाँको स्वभाव थियो,' पोखरेलले भने, 'गणेशमानलाई चामलमा ढुंगा परेको मन पर्दैन थियो। अरूले राम्रोसँग चामल नकेलाएपछि गणशेमानले सधैं आफैं चामल केलाउनुभयो।'
बिपी र गणेशमानलाई दोस्रोपटक जेलमा राख्दा भने छुट्टाछुट्टै राखिएको पोखरेल बताउँछन्। त्यति बेला दुईबीच भेट नहोस् भनेर बीचमा फलामको बारसमेत लगाइएको थियो। ट्वाइलेट खनेर बाहिर निस्किएलान् भनेर उनीहरूको ट्वाइलेटको प्यानभन्दा माथि एक फिट ढलान गरिएको थियो।
बिपीलाई सुन्दरीजलमा दुईवटा कोठा दिइएको थियो। उनी एउटा कोठा सुत्न र अर्को कोठा लेखपढ गर्न प्रयोग गर्थे।
बस्ती नभएको सुन्दरीजल जेलको झ्यालबाहिर बारूलाले गोलो लगाएपछि बिपीले सेनालाई हटाइदिन आग्रह गरेका थिए।
'बारूला हटाउँदा बिपीलाई सन्तानले घर छाडेजस्तो महशुस भएछ,' पोखरेलले बिपीको आत्मवृत्तान्तको प्रसंग सुनाउँदै भने, 'बारूलो हटाउँदा पनि उहाँलाई पीडा भएको छ।'
सुन्दरीजलस्थित बिपी संग्रहालयमा उनले प्रयोग गरेको कलम, अस्तुसँगै उनका कपडा पनि राखिएका छन्। पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला संग्रहालय पुगेर बिपीको कोट लगाउन खोजेको पोखरेलले सम्झे।
'प्रचण्डले झिकेर हात छिराउनुभयो तर छोटो भयो,' उनले भने, 'बिपीको कोट सुशील कोइरालाले लगाउँदा छोटो पारिएको रहेछ।'
संग्रहालयमा बिपीले उपहारमा प्राप्त गरेको टेलिफोनसमेत राखिएको छ। बिपी प्रधानमन्त्री भएपछि भारतको एउटा कम्पनीले टेलिफोन सेट उपहार दिएको थियो। राजाले कू गरेपछि बिपीकी पत्नी सुशीलाले त्यो उपहार दरबारलाई फिर्ता गरेकी थिइन्।
पछि त्यो टेलिफोन सेट दरबारले पनि सम्बन्धित कम्पनीलाई नै फिर्ता दिएको रहेछ। अहिले त्यही सेट यहाँ राखिएको छ।
बिपी संग्रहालयमा २०३० सालमा गिरिजाप्रसाद कोइरालाको योजनामा अपहरण गरिएको जहाजसमेत छ। बिपीकै अनुमतिमा कोइरालाले विराटनगरबाट काठमाडौं उडेको जहाजबाट भारतीय रूपैयाँ ३० लाख लुटेका थिए। पोखरेल भने उक्त घटनालाई लुट भन्न तयार छैनन्।
'त्यो पैसा जनमुक्ति सेनाको खानपिन र हातमुख जोर्न लगिएको थियो,' पोखरेल भन्छन्, 'त्यो घटना कांग्रेसको क्रान्तिकारिताको पहिचान हो।'
नेपाल वायुसेवा निगमको उक्त जहाज दुर्घटनामा परेपछि त्यसका सबै पार्टपूर्जा काठमाडौं ल्याएर जोडिएको पोखरेलले बताए।
'हामीले जहाजको 'रिकेज' क्यानेडियन कम्पनीसँग जम्मा १ डलरमा किनेका हौं,' पोखरेलले भने, 'दुर्घटना भएको जहाज पहिलाको जस्तै बनाएको देखेर शिक्षा मन्त्रालयले प्रमाणपत्रसमेत दिएको छ।'
बिपी संग्रहालयमा राष्ट्रपतिदेखि प्रधानमन्त्री र सबैजसो पूर्वप्रधानमन्त्रीले भ्रमण गरेको पोखरेलले बताए। सर्वसाधारणका लागि भने बिपी संग्रहालयले चासो पैदा गर्न सकेको छैन।
चासो जगाउनकै लागि पोखरेल स्कुल पढ्ने विद्यार्थीहरू घुम्न आउँदा बिपीको जेल जीवनबारे बताउन तम्सिन्छन्।