शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले बधाई र शुभकामना दिएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बुधबार बिहान सामाजिक सञ्जालमार्फत दोस्रो पटक सभापतिमा निर्वाचित भएका देउवालाई बधाई र शुभकामना दिएका हुन्।
‘चौधौं महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति पदमा ( पुन:) निर्वाचित हुन सफल श्री शेरबहादुर देउवाज्यूलाई हार्दिक वधाइ!’, उनले लेखेका छन्।
यस्तै सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देउवालाई बधाई र शुभकामना दिएका छन्।
‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु’, उनले भनेका छन्।
यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दोस्रो पटक सभापतिमा निर्वाचित भएका देउवालाई शुभकामना र बधाई दिएका छन्।
‘प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यू नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित हुनुभएकोमा हार्दिक बधाईसहित कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्छु’, उनले भने।
यस्तै एमालेका सचिव योगेश भट्टराले पनि सभापतिमा निर्वाचित देउवालाई बधाई र सफल कार्यकालको शुभकामना दिएका छन्।
‘नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा माननीय शेरबहादुर देउवालाई हार्दिक बधाई तथा शुभकामना छ’, भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्।
यस्तै जनता समाजवादी पार्टीका बाबुराम भट्टराईले बुधबार बिहान शुभकामना दिँदै प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन् भन्दै अग्रगमनकारी शक्तिबीच एकताका लागि शुभेच्छा दिएका छन्।
‘नेपाली कांग्रेसको १४औं महाधिवेसनबाट पार्टी सभापतिमा पुन: निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना’, उनले भनेका छन्, ‘उहाँको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत होस्, प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन्, अग्रगमनकारी शक्तिबीच एकता होस्। थप शुभेच्छा!’