नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगन थापाले दोस्रो चरणको निर्वाचनमा आफूहरूले सोचे अनुसारको साथ नपाएको बताएका छन्।
पहिलो चरणका सभापति प्रत्यासीहरु प्रकाशमान सिंह र विमलेन्द्र निधिप्रति लक्षित गर्दै नेता थापाले नेतृत्व परिवर्तनको अजेण्डा छाडेका विषयमा इतिहासलेसमेत प्रश्न गर्ने बताए।
‘मध्यरातसम्म अहिलेकै नेतृत्व सभापतिमा दोहोरिँदा कांग्रेस प्रजा परिषद् जस्तो हुन्छ। कांग्रेस पार्टी डुब्छ। देश डुब्छ भन्नेहरुले एकाबिहानै नेतृत्व यहीँ नेतृत्व दोहोरिएन भने वर्वाद हुन्छ, यही नेतृत्वलाई जिताउनुपर्छ भन्दै भोट माग्ने अवस्था किन आयो? छ घण्टामा केले बदल्यो? यो प्रश्नले जसलाई पनि लखेट्छ,’ यो प्रश्नबाट कोही भाग्न नसक्ने भन्दै उनले इतिहासले यसको उत्तर मागिरहने बताए।
उनीहरुले आफूहरुको बीचमा छलफल भएर एउटा साझा धारणासमेत बनेको बताए। ‘यदि शेखर कोइरालाको मत कम आएको थियो र अरू कोही दोस्रो भएको थियो भने कोइराला उभिनुपर्थ्यो। हामी उभ्याएरै छाड्थ्यौं,’ उनले अगाडि भने।
नेता थापाले अब शेरबहादुर देउवा आफूहरू सबैको सभापति भएको भन्दै गुटको दलदलबाट बाहिर निस्कनुपर्ने बताए।
नेता थापाले पार्टीलाई बलियो बनाउने कुरामा प्रधानमन्त्री एवं पार्टी सभापति देउवासँग सहकार्य हुने तर देउवाले पार्टी हित विपरित काम गरेमा आफूहरुलेले संघर्ष गर्ने बताए।
उनले १४ औं महाधिवेशन अघि अलग विचार समूहबाट प्रतिस्पर्धा गरेको भए पनि चुनावपछि भने अब देउवा सिंगो पार्टीको सभापति भइसकेको उल्लेख गरे। थापाले देउवा आफूहरु सबैको सभापति भएको दाबी गरे।
उनले एमाले अधिवेशनमा अध्यक्षले गोजीबाट नाम निकालेर पढेको तर कांग्रेसको अधिवेशनमा स्वयं प्रधानमन्त्री नै रातभर बसेर मतदातालाई हात जोडेको दृश्यले अधिवेशनको बारे स्पष्ट पार्ने बताए।
‘निर्वाचनको बेलामा हिजो करिब करिब सम्माननीय प्रधानमन्त्रीज्यू निर्वाचनको प्रारम्भबाट अन्तिम मत हाल्ने बेलासम्म त्यस्तो चिसो सिरेटो चलेको बेलामा पहिला कोट, कोटमाथि ओभरकोट थपेर भए पनि ५ घण्टा लाइन लागेर बस्नुभयो। एउटा एउटा मतदातालाई हात जोड्नुभयो। सेल्फी खिच्नुभयो । बसिराखेको ठाउँबाट एउटा मतदाता आयो कि जुरुक्क उठ्नुभयो’, उनले भने, ‘यस्तै अधिवेशन केही समयअघि नारायणीको किनारमा पनि भएको थियो। पूर्वप्रधानमन्त्री त्यो बेलामा शानले एउटा रिसोर्टमा बस्नुभएको थियो। अरू सबै नारायणी किनारमा घाममा सेकिएर बसेका थिए। कतिखेर निस्कनुभयो, बगलीबाट एउटा लिस्ट निकाल्नुभयो पढ्नुभयो, सुनाइदिनुभयो अधिवेशन सकियो। तर हाम्रो अधिवेशनको फरक बहालवाला प्रधानमन्त्री पनि सडकमा आउनुपर्यो। हात जोड्नुपर्यो, मत माग्नुपर्यो। त्यो मैले भन्ने गरेको ओलीवेशन र अधिवेशनको फरक यहीँ नै हो।’
सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुँदासमेत प्रधानमन्त्री देउवा पाँच घण्टासम्म बसेर मतदातासँग भोट मागेको स्मरण गराए।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार भएको दोस्रो चरणको मतदानमा कांग्रेस सभापतिमा डा. शेखर कोइरालालाई हराउँदै देउवा विजयी भएका छन्।