बुधबार दिउँसो राजधानीको प्रज्ञा प्रतिष्ठानमा एउटा कार्यक्रम थियो। नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा सभापतिमा पराजित उम्मेदवार शेखर कोइरालाले मतदातालाई धन्यवाद दिन उक्त कार्यक्रम राखेका थिए। उक्त कार्यक्रममा उनको प्यानलबाट उम्मेदवार बनेकाहरूसँगै कांग्रेस नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी र रामशरण महत सहभागी थिए। गण्डकी प्रदेशका कांग्रेस सभापति शुक्रराज शर्मा पनि कार्यक्रममा थिए। प्रदेश १ को सभापतिमा पराजित गुरूराज घिमिरेले कार्यक्रमको अध्यक्षता गरेका थिए भने कर्णाली प्रदेशको सभापतिमा पराजित भूपेन्द्रजंग शाहीले कार्यक्रम उदघोषण गरेका थिए।
भोजपुर, कालिकोट, पाल्पा, बाजुरा, तेह्रथुम, दैलेख, सुनसरी, बाँकेलगायत जिल्लाका कांग्रेस सभापतिहरू पनि कार्यक्रममा पुगेका थिए।
महाधिवेशन हुनुभन्दा अघिसम्म उनीहरू शेखर कोइराला समूहका भनेर चिनिदैनथे। उनीहरूलाई रामचन्द्र पौडेल समूह भनिन्थ्यो।
बुधबारबाट भने उनीहरू शेखर कोइरालाको टिममा जोडिएका छन्। आजैदेखि कांग्रेसमा एकातिर सभापति शेरबहादुर देउवा समूह र अर्कोतिर शेखर कोइरालाको समूह बनेको छ।
कार्यक्रममा बोल्न अधिकांश वक्ताहरूले आफूहरू परिवर्तनकारी विचारधाराको समूह भएको र त्यसको नेतृत्व शेखर कोइरालाले गर्ने बताए।
सम्बोधनका क्रममा कोइरालाले पनि आजदेखि आफू र आफ्नो टिमले पार्टी रूपान्तरणका लागि काम गर्ने बताए।
‘भागबन्डा र गुटबन्दीको राजनीतिमा हामी लाग्दैनौं। राम्रो काम गरेर उहाँहरूलाई सोच्न बाध्य बनाउँछौं,’ कोइरालाले भने, ‘तपाईंहरूले मलाई यति धेरै माया दिनुभएको छ। त्यही मायाका आधारमा मैले आजदेखि नयाँ ढंगले पार्टी रूपान्तरणको काममा लाग्छु।’
आफू र आफ्नो टिमका साथीहरू अब मतदाताको घरदैलोमा जाने कोइरालाको भनाइ थियो।
आफ्नो हारलाई स्वभाविक रूप लिएको उल्लेख गर्दै कोइरालाले भोट कम ल्याए पनि चौधौं महाधिवेशनले पार्टीभित्रको सुधारका लागि आफूले उठाएका एजेन्डा स्थापित भएको बताए।
सभापति देउवालाई बधाई दिँदै कोइरालाले यसअघि पाँच वर्षसम्म जसरी पार्टी चलाए सशक्त विरोध गर्ने बताए।
‘उहाँको टिम कस्तो बन्छ। हाम्रा साथीहरू कति पर्नुहुन्छ? त्यो हेर्न बाँकी छ,’ कोइरालाले भने,‘तर जसरी साढे ५ वर्ष बेथितिका हिसाबले उहाँले चलाउनु भयो अझ पनि त्यसरी नै चलाउन खोज्नुभयो भने सशक्त रूपमा प्रस्तुत हुनुपर्छ।’
कार्यक्रममा सम्बोधन गर्दै कोइराला प्यानलका महामन्त्री उम्मेदवार गगन थापाले तीन विषयमा जोड दिए।
यो पनि पढ्नुस्:
पार्टी सभापति देउवासँग सहकार्य र संघर्षको सम्बन्ध हुने उनको भनाइ थियो।
‘उहाँले जितिसकेपछि अब उहाँ गुटको होइन नेपाली कांग्रेसको सभापति हो। पार्टीलाई हित हुने, देशलाई राम्रो हुने काममा उहाँसँग सहकार्य हुन्छ, हामी उहाँलाई सघाउँछौं,’ थापाले भने,‘पार्टीको हितमा चुक्नु भयो भने उहाँसँग संघर्ष हुन्छ।’
चौधौं महाधिवेशनको क्रममा अन्तिमसम्म नेतृत्व परिवर्तन गर्छु भन्ने तर दोस्रो चरणको मतदान हुनु केही घन्टा अघिमात्रै देउवालाई समर्थन गर्छौं भन्नेहरूलाई इतिहासले प्रश्न सोध्ने थापाको भनाइ थियो।
‘उहाँहरू अघिल्लो दिनको मध्यरातसम्म यो नेतृत्वले हुँदै हुँदैन भन्नुहुन्थ्यो अर्को दिन बिहान यो नेतृत्व नभई हुँदैन भन्न थाल्नुभयो,’ थापाले भने,‘त्यो ६ घन्टामा त्यस्तो के भयो? हामीले प्रश्न सोध्छौं, इतिहासले प्रश्न सोध्छ।’
देउवाइतर समूहबाट सभापतिमा उम्मदवारी दिएका प्रकाशमान सिंह र विमलेन्द्र निधिले दोस्रो चरणको मतदानअघि देउवालाई नै सघाउने निर्णय गरेका थिए। सिंह कांग्रेस नेता गणेशमान सिंहका छोरा हुन् भने निधि नेता महेन्द्रनारायण निधिका छोरा हुन्।
थापाले गणेशमान र महेन्द्रनारायण कसैका निजी सम्पत्ति नभएकाले सबै कांग्रेसीहरू उनीहरूका छोराछोरी भएको बताए।
कोइरालाले महाधिवेशनमा ४० प्रतिशत मत पाएको उल्लेख गर्दै थापाले यो ४० प्रतिशतलाई आफूहरूले भागबन्डाका लागि प्रयोग नगर्ने बताए।
‘कांग्रेसलाई आउने चुनावमा एक्लै जित्ने पार्टीको हैसियतमा पुर्याउने टिम यही ४० प्रतिशत हो,’ थापाले भने,‘कोइरालाको नेतृत्वमा देउवालाई पनि गुटभन्दा माथि उठ्न दबाब दिने हो।’
कार्यक्रममा मिनेन्द्र रिजाल, धनराज गुरूङ, चन्द्र भण्डारी, कमला पन्त, बलबहादुर केसी, अर्जुननरसिंह केसी, रामशरण महतलगायतले सम्बोधन गरेका थिए।
कार्यक्रममा बोल्ने सबै वक्ताहरूले आफूहरू अझै एकतावद्ध भएर जानुपर्ने बताएका थिए।
कोइराला हारे पनि एजेन्डाले जितेको, केही नेताहरूले आस्था र निष्ठा छोडेर अर्को समूहमा लागेको र आउने १५ औं महाधिवेशनमा आफूहरू सफल हुने उनीहरूको भनाइ थियो।