नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना जारी छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार साँझ ६ बजेदेखि मतगणना सुरू भएको हो।
अहिलेसम्म २८०० मत गणना भएको निर्वाचन समितिले जनाएको छ।
मत परिणाम अनुसार पूर्णबहादुर खड्काको अग्रता कायमै छ। खड्काले १३२१ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका धनराज गुरुङले १२६७ मत ल्याएका छन्।
यता, चन्द्र भण्डारीले १११५ र विजयकुमार गच्छदारले १२१३ मत ल्याएका छन्।
गुरूङ र भण्डारी सभापतिमा पराजित शेखर कोइराला समूहका हुन्। खड्का र गच्छदार सभापति निर्वाचित शेरबहादुर देउवा समूहका उम्मेदवार हुन्।
कांग्रेस विधान अनुसार सबैभन्दा बढी मत ल्याउने दुई जना उपसभापति निर्वाचित हुन्छन्।
उपसभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका महेश आचार्य, प्रकाशमान सिंह पक्षबाट उम्मेदवारी दिएकी सुजाता कोइराला र विमलेन्द्र निधि पक्षबाट उम्मेदार बनेकी दिव्यश्वरी शाह प्रतिस्पर्धामा धेरै पछाडि छन्।