नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उपसभापति पदका लागि अहिलेसम्म २८ सय मतगणना भएको छ।
दुई जना उपसभापतिका लागि सात जना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेकामा सबभन्दा तल्लो तीन स्थानमा सुजाता कोइराला, महेश आचार्य र दिव्येश्वरी शाह रहेका छन्।
उपसभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका आचार्यले २८ सय मत गन्दा २६६ मत ल्याएका छन् भने प्रकाशमान सिंह पक्षबाट उम्मेदवारी दिएकी कोइरालाले ३७८ मत ल्याएकी छन्।
विमलेन्द्र निधि पक्षबाट उम्मेदार बनेकी दिव्यश्वरी शाह प्रतिस्पर्धामा सबभन्दा पछाडि छन्। उनले जम्मा ११२ मत पाएकी छन्।
अहिलेसम्मको मत परिणामअनुसार पूर्णबहादुर खड्काको अग्रता कायमै छ। खड्काले १३२१ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका धनराज गुरुङले १२६७ मत ल्याएका छन्।
यता, चन्द्र भण्डारीले १११५ र विजयकुमार गच्छदारले १२१३ मत ल्याएका छन्।
गुरूङ र भण्डारी सभापतिमा पराजित शेखर कोइराला समूहका हुन्। खड्का र गच्छदार सभापति निर्वाचित शेरबहादुर देउवा समूहका उम्मेदवार हुन्।