नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उपसभापति पदतर्फ अहिलेसम्म ३२६७ मत गन्न सकिएको निर्वाचन समितिले जनाएको छ।
अहिलेसम्मको मत परिणामअनुसार पूर्णबहादुर खड्काको अग्रता कायमै छ। खड्काले १४८४ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका धनराज गुरुङले १४६१ मत ल्याएका छन्।
उपसभापति पदका लागि सबभन्दा बढी मत ल्याएका यी दुई जनाले तेस्रो स्थानका उम्मेदवारको तुलनामा २०० भन्दा बढी मतको अग्रता लिएका छन्।
तेस्रो स्थानमा रहेका चन्द्र भण्डारीले १२३३ र चौथो स्थानमा रहेका विजयकुमार गच्छदारले १२१३ मत ल्याएका छन्।
गुरूङ र भण्डारी सभापतिमा पराजित शेखर कोइराला समूहका हुन्। खड्का र गच्छदार सभापति निर्वाचित शेरबहादुर देउवा समूहका उम्मेदवार हुन्।
कांग्रेस विधानअनुसार सबैभन्दा बढी मत ल्याउने दुई जना उपसभापति निर्वाचित हुन्छन्।
उपसभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका महेश आचार्य, प्रकाशमान सिंह पक्षबाट उम्मेदवारी दिएकी सुजाता कोइराला र विमलेन्द्र निधि पक्षबाट उम्मेदार बनेकी दिव्यश्वरी शाह प्रतिस्पर्धामा धेरै पछाडि छन्।