नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनअन्तर्गत उपसभापति पदतर्फ मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन समितिका अनुसार अन्तिम ड्रममा रहेका करिब ६०० मत गन्ने क्रम जारी छ। त्यसको नतिजा आउनेबित्तिकै अन्तिम परिणाम सार्वजनिक गरिने समितिले जनाएको छ।
यसबीच मतगणना क्रममा विवाद उत्पन्न भएर केही बेर रोकिएको थियो। यसले अन्तिम ड्रमको मत गन्न धेरै समय लागेको समितिका एक सदस्यले जानकारी दिए।
अहिलेसम्म समितिले ३५५८ मतगणनाको नतिजा सार्वजनिक गरेको छ। जसअनुसार पूर्णबहादुर खड्काको अग्रता कायमै छ। खड्काले १६३४ मत ल्याएका छन्। दोस्रो स्थानमा भने धनराज गुरूङलाई पछि पार्दै विजय गच्छदारले १४४३ मत ल्याएका छन्।
गुरूङ १४३७ मतसहित तेस्रो स्थानमा छन्। चौथो स्थानमा रहेका चन्द्र भण्डारीले १२५७ मत ल्याएका छन्।
गुरूङ र भण्डारी सभापतिमा पराजित शेखर कोइराला समूहका हुन्। खड्का र गच्छदार सभापति निर्वाचित शेरबहादुर देउवा समूहका उम्मेदवार हुन्।
कांग्रेस विधानअनुसार सबैभन्दा बढी मत ल्याउने दुई जना उपसभापति निर्वाचित हुन्छन्।
उपसभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका महेश आचार्य, प्रकाशमान सिंह पक्षबाट उम्मेदवारी दिएकी सुजाता कोइराला र विमलेन्द्र निधि पक्षबाट उम्मेदार बनेकी दिव्यश्वरी शाह प्रतिस्पर्धामा धेरै पछाडि छन्।