कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत महामन्त्रीको मत गणना अहिले पार्टी कार्यालयमा जारी छ।
महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्मा जितको नजिक भएपछि पार्टी कार्यालय सानेपामा पुगेका छन्। उनलाई कार्यकर्ताहरूले अविर लगाएर स्वागत गरेका छन्। यद्यपि गगन थापा भने अहिलेसम्म पार्टी कार्यालयमा आइपुगेका छैनन्।
महामन्त्री पदका लागि ६ जनाले उम्मेदवारी दिएका थिए। अहिले मतगणना जारी छ। कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजय हुने लगभग पक्का भएको छ। ४३९० मतगणनामा गगन कुमार थापा २८२३ मत, विश्वप्रकाश शर्माले १८२४ मत, प्रकाशशरण महतले १४५५ मत, प्रदीप पौडेलले १३०३ मत, मिनेन्द्र रिजालले ७५३ मत, राजाराम कार्कीले १०० मत ल्याएका छन्।
कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।
सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।
यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।
यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।
तस्बिरहरू: