कवाडी कारखानाबाट काम नलाग्ने थोत्रा साइकल उठाउने। अनि वेल्डिङ गरेर नयाँ टेबल बनाउने।
अहिले ‘तिम्रो कवाडीवाला’ ले यही काम गर्छ।
चितवनका दुई युवाहरू सौगात तिवारी र आशिकविक्रम खड्काले १ वर्षअघि ‘तिम्रो कवाडीवाला’ सोच अघि बढाए।
सोच त अघि बढ्यो तर काम गर्न सहज भएन।
सिभिल इन्जिनियरिङको विद्यार्थी सौगातलाई घरपरिवारले अरू नै काम गर्न सुझाएका थिए।
‘नातागोताले इन्जिनियरिङ पढेर कहाँ यस्तो फोहोरको काम गर्ने भन्नुभयो,’ उनले भने।
तर सौगात फोहोरकै क्षेत्रमा काम गर्न चाहन्थे। उनी पछि हटेनन्, आफ्नो काममा लागिरहे।
उनलाई लाग्थ्यो- इन्जिनियरिङ भनेको अन्वेषण हो। नयाँ काम गरिरहेको छु। त्यसैले यो पनि मेरो इन्जिनियरिङ हो।
उनको दृढताको अगाडि परिवार, नातागोता कसैको जोर चलेन।
उनीहरूले त्यहीँका होटलबाट बियर र वाइनका खाली बोतलबाट कामको सुरू गरे।
‘आशिक र म आफैं पनि होटलहरू चहारेर बियर र वाइनका खाली बोतल भेला गर्थ्यौं,’ सौगातले सेतोपाटीसँग भने।
अनि बोतल धेरै जम्मा भएपछि उनीहरूले अर्का एजेन्टलाई बुझाउँथे।
त्यसपछि उनीहरूले वाइनका बोतलबाट ‘ह्याङगिङ लाइट’ बनाउन थाले।
वाइनका बोतललाई बाहिरबाट झिलिमिली बत्ती हालिदिन्थे। यति गरेपछि आकर्षक ‘ह्याङगिङ लाइट’ तयार हुन्थ्यो।
यसरी काम गर्दै छ महिना बित्यो।
त्यसपछि अर्की साथी स्वेता दुलाल उनीहरूसँग जोडिन पुगिन्।
थोत्रा चिजहरूलाई रिसाइकल गरेर के-के गर्न सकिन्छ? यस्तै कुरामा घोत्लिएर बस्थे, उनीहरू।
यसो गर्दागर्दै उनीहरूले टायर र डोरीबाट टेबल बनाउन सुरू गरे।
पछि चुराबाट पनि सजाउन मिल्ने चिज बनाउन थाले। अरू पनि स-साना सजाउने चिजहरू बनाउँदै आए।
एक महिना भयो अहिले उनीहरू थोत्रा साइकलबाट टेबल बनाउन थालेका छन्। यो आइडिया पनि तीनै जनाले फुराएका हुन्।
स्वेताले भनिन्, ‘हामी नयाँ कुरा थाहा भयो भने एकअर्कालाई सेयर गरिहाल्छौं।’
सुरूमा उनीहरूले सोचेअनुसार थोत्रा साइकलबाट एउटा टेबल बनाए। राम्रो देखियो।
‘पछि अरू बनाएर आफ्नै क्याफेमा राखेँ,’ सौगातले भने।
सौगातले क्याफे पनि चलाउँछन्।
‘हामीले लन्च गरेको ‘बाइसाइकल टेबल’ नेपालमै पहिलोपटक हो,’ सौगातले दाबी गरे।
‘बाइसाइकल टेबल’ को अर्डर आउनसाथ उनीहरू कवाडी कारखाना जान्छन्। चाहिएअनुसार साइकलको थोत्रा पाटपुर्जा उठाउँछन् र वेल्डिङ गर्ने ठाउँमा लैजान्छन्।
‘वेल्डिङ गर्ने दुई जना कामदार छन्,’ सौगातले भने।
टेबल कस्तो बनाउने भन्ने डिजाइन उनीहरू आफैं दिन्छन्। सोही अनुसारले वेल्डिङ गर्नेले टेबललाई डिजाइन दिन्छ।
टेबल ५ देखि १० हजारसम्म बिक्री गरेको सौगाते बताए। उनीहरूले बनाउने टेबल तीन प्रकारका छन्। एउटा ठूलो अनि सानो। र अर्को ‘मुभेबल’।
मुभेबल टेबल गुडाउन पनि मिल्छ।
उनीहरूले साइकलकै रिङबाट होचो टेबल पनि बनाउँछन्। जसलाई ‘कफी टेबल’ नाम दिएको सौगातले बताए।
भर्खरै सुरू गरेको बाइसाइकल टेबलबाट उनीहरू थप हौसिएका छन्।
‘अब हामी बाइसाइकल टेबलमै बढी केन्द्रीत हुने सोच्दैछौं,’ सौगातले भने।
सौगातले आफ्नो क्याफेमा पनि बाइसाइकल टेबल नै राखेका छन्। क्याफेमा आउने ग्राहकले उनीहरूको कामको तारिफ गर्छन्।
‘ग्राहकहरू आउनुहुन्छ। साइकलबाट पनि यस्तो टेबल बन्ने रैछ भनेर फोटो खिच्नुहुन्छ,’ उनले भने।
सौगातलाई क्याफे र कवाडीको कामले फुर्सद छैन। उनी सिभिल इन्जिनेरिङका विद्यार्थी पनि हुन्।
स्वेता पनि बिहान कलेज जान्छिन्। दिउँसो कवाडीमा काम गर्छिन्। स्वेता चितवनमै बीबीए गर्दैछिन्।
आशिकविक्रम भने ४ महिनाअघि नै अष्ट्रेलिया गएका हुन्। तर पनि उनी टोलीमा काम गर्छन्।
‘आशिकले हामीलाई रिसर्चमा सघाउँछ,’ सौगातले भने।
चितवनमै उनीहरूको सानो अफिस छ। तर उनीहरू प्राय: घरबाटै काम गर्छन्। तयार भएको सामाग्रीलाई अफिसमा राख्छन्।
स्वेताले भनिन्, ‘अर्डर आएपछि हामी अफिस गएर दिन्छौं। नत्र प्राय घरमै बसेर काम गर्छौं।’
उनीहरूले साइकलबाट बन्ने टेबलमात्र अरूलाई बनाउन दिन्छन्। बाँकी टायरको टेबल, बोतलको लाइट र चुराबाट सजाउने चिज, सबै आफैं बनाउँछन्।
‘मज्जाले काम गर्यौं भने सौगात र मैले दिनमा दुई वटा टायरको टेबल बनाउँछौं,’ स्वेताले भनिन्।