केही समयअघि सामाजिक सञ्जालमा एउटा भिडिओ देखेँ। भिडिओको 'थमनेल'मा मेरै फोटो थियो। शीर्षक थियो - 'नेपाली प्लेयर्स विथ दियर वाइफ एन्ड गर्लफ्रेन्ड'।
भिडिओमा मेरो नाम जोडिएको थियो। तर आजसम्म मेरो गर्लफ्रेन्ड नै छैन!
अहिले सबैको हातमा युट्युब पहुँच छ। कतिले यसलाई 'कन्टेन्ट' हिट बनाउने चक्करमा विवरण नै अर्को लेखेर दुरूपयोग गरिरहनुभएको छ। औपचारिक कार्यक्रममा बाहेक बाहिर कतै बोल्ना साथ भिडिओ लाइभ गरिदिनुहुन्छ। यो मैले भोगेको छु। जसकारण मान्छेले व्यक्तिगत जीवनमा रमाउन पाएका छैनन्।
कहिलेकाँही सामाजिक सञ्जालमा नचाहिँदो कुरा फैलिन्छ। मलाई कतिले 'सन्दीप घमन्डी भयो', 'धेरै पैसा पाएर मात्तियो' भुन्नुहुन्छ। केहीले 'सन्दीपले यो मान्छेलाई आदर गरेन', 'एटिट्युड बढी भयो' भन्नुहुन्छ।
यसरी टिप्पणी गर्नेहरूलाई म एकपटक आफ्नै मूल्यांकन गर्न आग्रह गर्छु। उत्तर पाउनुहुन्छ। हामी सबैको आ-आफ्नै एटिट्युड हुन्छ। र म यही एटिट्युडले यहाँसम्म आइपुगेको हुँ।

मिडियाले पनि 'एक्सक्लुसिभ' बनाउने चक्करमा जे पनि लेखिदिन्छ। अघिल्लो वर्ष पोखरा प्रिमियर लिगमा मैले अम्पायरसँग भनाभन गरेको भनेर आयो। यही कारण डिप्रेसनमा गएको थिएँ। मैले कसैसँग भनाभन गरेको थिइनँ। अम्पायरसँग सल्लाह गरिरहेको थिएँ। त्यही बेला फोटो खिच्दिनुभयो। मैले थर्ड अम्पायरतिर इसारा गर्न हात देखाएको थिएँ।
दुई दिनपछि त्यही मान्छेले फोन गर्नुभयो। म डिप्रेसनमै थिएँ।
'तपाईंले मैदानमा के गर्नु भएको' भनेर सोध्नुभयो। त्यो सुनेर मलाई एकदम चित्त दुख्यो। लेख्ने बेलामा कसैले सोधेन, यत्तिकै लेखिदिए। पछि कुरा गरेर केही फाइदा थिएन। त्यति एउटा घटना कारण धेरैले मलाई नराम्रो लिइदिनुभयो।
हामी प्रोफेसनल हुन सकिरहेका छैनौं। त्यसैले सिक्नुपर्ने कुरा धेरै छ। मैले सबैलाई इंकित गर्न खोजेको हैन तर केही त्यस्ता पनि छन्।
सामाजिक सञ्जाललाई म एकअर्कालाई जोड्ने र चिनजान गर्ने माध्यमका रुपमा हेर्छु। फेसबुक, इन्स्टाग्राम र ट्विटर चलाउँछु। यसलाई हेर्ने टिम पनि छ। तर ट्विटर र इन्स्टाग्राम बढी आफैं चलाउँछु। दिनको दुई घन्टा सामाजिक सञ्जालमा समय बित्छ। बिहान र दिउँसो एकैछिन र राति एक घन्टा भुल्छु। मनोरञ्जनका लागि युट्युब हेर्छु। गीत, संगीत, सिरियल, भाषण हेर्छु। आफ्नै गीत पनि युट्युबमा अपलोड गर्छु।
कहिलेकाँही फुर्सद हुँदा फ्यानसँग कुरा गर्छु। कतिजनाले नराम्रो टिप्पणी गर्नुहुन्छ। म उहाँहरूलाई सम्झाउन खोज्छु।
सेलेब्रेटीका लागि सामाजिक सञ्जाल प्रयोगको एकदम चुनौती छ। अरूले जस्तो सबै कुरा सेलेब्रेटीले पोस्ट गर्न मिल्दैन। त्यसो त सामाजिक सञ्जालका राम्रा कुरा पनि छन्। तर यसका प्रयोगकर्ता र मिडिया अलि प्रोफेसनल हुन जरुरी छ।
मिडियाले जे सत्य हो, त्यही देखाउनुपर्छ। प्रयोगकर्ताले पनि विश्लेषण गरेर सत्यको विश्वास गर्नुपर्छ। यद्यपी सामाजिक सञ्जाललाई कसरी प्रयोग गर्ने भन्ने कुरा व्यक्तिमै निर्भर हुन्छ।
सेतोपाटीका विवेक राईले सन्दीप लामिछानेसँग गरेको कुराकानीमा आधारित ।