कुनै पनि देशको फुटबल विकासको मेरुदण्ड लिगलाई मानिन्छ। लिगले नै खेलाडी उत्पादनमा सघाउ पुर्याउँछ। यतिखेर नेपालकै ठूलो राष्ट्रिय लिग ‘सहिद स्मारक ए डिभिजन’ लिग जारी छ।
तर बुधबार दशरथ रंगशालामा मनाङ मस्याङ्दी र एपिएफबीच भएको खेलमा दर्शक संख्या ३ सय पनि पुगेन। करिब १७ हजार दर्शक क्षमताको रंगशालामा ३ सय दर्शक पनि नहुनुले लिगप्रतिको क्रेज निराशजनक देखाउँछ।
उद्घाटन खेलदेखि नै लिगमा दर्शकको उपस्थिति देखिएको छैन। भूकम्पपछिको पुनः निर्माणले रंगशालाले नयाँ रुप पाएको छ। पछिल्लो पटक १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबल खेलमा दर्शक भरिभराउ थिए।
कतिपय फुटबल विश्लेषकहरु प्रतिस्पर्धात्मक खेल नहुँदा लिगमा दर्शक आकर्षित हुन नसकेको बताउँछन्। रेलिगेसनको व्यवस्था नहुँदा खेल प्रतिस्पर्धात्मक नभएको उनीहरुको ठम्याई छ।
लिगको अघिल्लो संस्करण पनि रेलिगेसनबिनै भएको थियो। यसपटक पनि एउटा मात्र टिम रेलिगेसनमा पर्नेछ। ‘अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबहरुले प्रचारमा ध्यान दिनुपर्छ, फुटबल विश्लेषक नविन पाण्डेले सेतोपाटीसँग भने, ‘अहिले सामाजिक सञ्जालको जमाना छ। हरेक खेल र खेलाडीको बारेमा अपडेट गर्नुपर्छ।’
खेल हेर्न आएका पोखराका मानबहादुर गुरुङ टिकट सस्तो गरे दर्शक बढ्न सक्ने बताउँछन। अहिले रंगशालामा खेल हेर्न जेनेरल प्यारापिटतर्फ २ सय र भिआइपी प्यापिटतर्फ ५ सय रुपैयाँको टिकट छ।
मंसिर २८ गतेबाट सुरु भएको लिग दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फाको मैदानमा खेलाइँदैछ। दिउँसो कार्यालय समयमा खेल हुने गरेका कारण पनि लिग फुटबलमा दर्शक अभाव हुने गरेको छ।